कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बढ्दै बलात्कार

प्रदीप मेन्याङ्बो

सुनसरी — गत साता १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी बराहक्षेत्र ८ का ३६ वर्षीय लालबहादुर बस्नेत पक्राउ परे । बस्नेतसँग बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जीवन तामाङले बताए ।

बढ्दै बलात्कार

इनरुवा–६ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा शनिबार राति प्रहरीले २४ वर्षीया युवतीलाई अचेत अवस्थामा फेला पार्‍यो । झापा, दमककी ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।


बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले रामधुनी–२ का २१ वर्षीय राहुल मगर, १९ वर्षीय महम्मद चनक मियाँ र २१ वर्षीय भोला परियारलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।


धरान–५, साउनेटारस्थित बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले भान्जी पर्ने १७ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्दै आएको तीन महिनापछि भदौ १० गते सार्वजनिक भयो । तर प्रहरीले बस्नेतलाई अझै पक्राउ गरेको छैन । किशोरी गाउँमा बस्न नसकेर विस्थापित भएकी छन् ।


सुनसरी प्रहरीमा साउनदेखि भदौ दोस्रो सातासम्ममा बलात्कारका १२ वटा र बलात्कार प्रयासका ५ वटा उजुरी दर्ता भएका छन् । वार्षिक तथ्यांक झन् डरलाग्दो छ । प्रहरीका अनुसार ०७४ साउनदेखि यो वर्ष साउनसम्म ६३ जनामाथि बलात्कार भएको छ भने ३६ जनामाथि बलात्कार प्रयास भएको छ ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्रा.डा. दिनेश सापकोटाका अनुसार दण्डहीनताका कारण बलात्कार घटना बढ्ने गरेको छ । ‘दण्डहीनता बढ्यो भने बलात्कार र हत्याहिंसाको ग्राफ चढ्छ ।’


एन्टी पर्सनालिटी डिसअर्डरका कारण समाजमा बलात्कार घटना बढेको उनी बताउँछन् । एन्टी पर्सनालिटी डिसअर्डर भएका मानिसले समाज र घरपरिवारमा आफूले गरेको कामको परिणामप्रति ख्याल नराख्ने सापकोटाले बताए ।


समाजशास्त्री विज्ञान शर्माका अनुसार पुरुषको महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म बलात्कार घटनामा कमी आउँदैन । ‘बलात्कार बढ्नुमा समाज मुख्य जिम्मेवार छ । हामी बाँचेको समय र समाजले आजको पुस्तालाई के सिकाउँदै छ भन्ने देखाउँछ,’ उनले भने ।

प्रकाशित : भाद्र १६, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?