भुइँकटहरबाट मनग्ये आम्दानी

धनकुटा — भुइँकटहर खेतीबाट मनग्ये कमाइ हुन सक्छ भन्ने उदाहरण धनकुटा नगरपालिका ८ को याक्ते र तित्रिदाङ गाउँका बासिन्दाले देखाएका छन् ।

भुइँकटहरबाट मनग्ये आम्दानी

तित्रिदाङका बीरते आठपहरियाले १५ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा भुइँकटहर खेती गरेका छन् । उनले १० हजार बिरुवा लगाएर उक्त खेतीलाई व्यावसायिक रूप दिएको बताए ।

उनले दुई दशक पहिले दुई रोपनी जग्गामा १५ सय बिरुवा लगाएर थालेको भुइँकटहर खेती पछिल्लो समय अन्य कृषकले पनि रुचाएका छन् । सिजनमा बीरतेले कम्तीमा एक लाख रुपैयाँ आम्दानी हात पर्ने गरेको जनाए । ‘बेंसी क्षेत्र भएकोले भुइँकटहर खेती फस्टाउँदै गएको छ’, उनले भने, ‘यसैबाट जीवकोपार्जन गर्न सहज भएको छ ।’

वर्षमा दुईपटक फल दिने भुइँकटहरको बजार समेत खाँचो नभएपछि स्थानीय कृषक यस खेतीतर्फ आकर्षित बनेको बताउँछन् । मातृका आठपहरियाले पनि व्यावसायिक खेती गर्दै आएका छन् । उनले ४ रोपनी क्षेत्रफल बारीमा भुइँकटहरको खेती गर्दै आएका छन् । उनले एक दशकदेखि यसलाई व्यावसायिक रूप दिएको बताए ।

स्थानीय जीतबहादुर आठपहरियाले साढे ३ रोपनी क्षेत्रफलमा भुइँकटहर खेती विस्तार गरेका छन् । धनकुटा–८ साङताङका सूर्य आठपहरियाले पनि ४ रोपनी क्षेत्रफलमा खेती गरेको जानकारी दिए । रोपेपछि सामान्य गोडमेल र जनावरबाट जोगाउन सके उत्पादन उल्लेख्य हुने उनले बताए ।

गाउँघरमनै मोटरबाटो पुगेपछि उत्पादित भुइँकटहर धनकुटा बजार र धरान, इटहरीलगायतका स्थानमा समेत पुग्ने गरेको छ । भुइँकटहरको औषत बजार मूल्य प्रति गोटा एक सय रुपैयाँ छ । जेठदेखि भदौ र मंसिरदेखि पुसमा भुइँकटहर फल्छ ।

भुइँकटहरलाई मल पानी पनि धेरै नचाहिने तथा पाखावारीमा सजिलै खेती गर्न सकिने कृषकले बताए । विचौलियाले कम मूल्यमा खरिद गर्ने गर्दा कृषकले भने जस्तो मोल नपाउने उनीहरूको गुनासो छ ।

नगरपालिका ८ को तित्रिदाङ, पोखरी, मित्रटोल, खाम्वेला, सम्झना टोल, डाँडाटोल लगायतको स्थानमा सयौं रोपनी क्षेत्रफलमा स्थानीय आठपहरिया समुदायले भुइँकटहरको खेती गर्दै आएको वडाध्यक्ष सुमन राईले बताए ।

प्रकाशित : भाद्र १७, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?