एकीकृत खेतीमा किसान

परिवारमा खेती गर्नेको संख्या घटेपछि एकीकृत खेती गरिँदै
जमिनको उत्पादकत्व बढ्यो
अर्जुन राजवंशी

गौरादह (झापा) — जिल्लाका किसान एकीकृत खेतीतर्फ आकर्षित भएका छन् । परिवारमा खेती गर्नेको संख्या घट्दै गएपछि किसान एकीकृत खेतीतर्फ लागेका हुन् ।

एकीकृत खेती गर्दै आएको झापाको गौरादहस्थित नमुना एकीकृत सहकारी खेतीको गोदाम र कार्यालय भवन । तस्बिर : अर्जुन

गौरादह नगरपालिकास्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले एकीकृत खेतीलाई प्रवद्र्धन गरेको छ । संस्थाले नमुना एकीकृत सहकारी खेती र जागृति एकीकृत सहकारी खेतीमार्फत सामूहिक खेती प्रणालीलाई विकास गरेको हो ।

सहकारीले हाल एक सय हेक्टर क्षेत्रफलमा एकीकृत खेती गर्दै आएको छ । स्थानीय ९० किसानबाट २५ वर्षका लागि खेत भाडामा लिएर सामूहिक खेतीलाई अघि बढाएको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन् । एकीकृत खेती ०७१ देखि गर्दै आएको उनले बताइन् । एकीकृत खेती प्रणालीका कारण किसानको जमिनको उत्पादकत्व बढेको छ । खेती भाडामा लिँदा ४ पीएच अम्लियनपन रहेकोमा हाल बढेर ५.५ पीएच पुर्‍याएको नमुना एकीकृत सहकारी खेतीका अध्यक्ष बेधनिधि चापागाईंले बताए ।

विगतभन्दा एकीकृत खेतीबाट किसानले आम्दानी राम्रो पाउने गरेका छन् । किसानले एकीकृत खेती प्रणालीमा रोजगारी समेत पाएका छन् । किसानले खेत भाडामा दिएबापत वार्षिक प्रतिबिघा ३२ मन धान पाउने गरेका छन् ।संस्थाले ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ ।

Yamaha

खेती संस्थालाई दिएपछि दैनिक काम गर्न इच्छुक किसानलाई संस्थाले प्रतिघण्टा ५० रुपैयाँका दरले हाजिरा समेत दिने गरेको छ । वार्षिक एक सय घण्टा काम गर्ने किसानलाई श्रमबोनस १० प्रतिशत र सेयर बोनसबाट ४० प्रतिशत नाफा बाँड्दै आएको छ । संस्थाले किसानका साना–साना टुक्रा खेतलाई जोडेर चक्लाबन्दी गरेको छ ।

संस्थाले चक्लाबन्दीअन्तर्गत १० बिघाको एउटा फाँट बनाएको छ । समान रूपमा सिँचाइ पुग्ने गरी खेत सम्याएको छ । खेतमा आधुनिक मेसिनरीका सामान पुग्नेगरी बाटो बनाइएको छ ।

संस्थाले खेत बाँझो राख्ने अवस्थालाई शून्यमा झारेको छ । दुई बाली धान खेती गर्ने गरेको छ । त्यसबाहेक मकै, गहुँ, तोरी र घाँस खेती गर्दै आएको छ । सहकारीले सामूहिक गाईपालन पनि गरेको छ । संस्थाले माछापालन पनि गरिरहेको छ ।

किसान महिला दिदीबहिनीलाई स्वरोजगार बनाउने उद्देश्यले संस्थाले नमुना अचार उद्योग पनि सञ्चालन गरेको छ । ‘अधिकांश किसानका छोराछोरी विदेश गएका छन् । स्वदेशमै भएकाहरू पनि पढेलेखेर राम्रो जागिरे भएका छन्’, किसान हेमनाथ घिमिरेले भने, ‘गाउँमा खेती गर्ने मान्छे नै छैनन् ।

कसैलाई अधिया दिँदा पछि मोहियानी लाग्ने डर । त्यसैले संस्थालाई खेत दिने किसान बढ्दै गएका छन् ।’ संस्थालाई खेती दिँदा राम्रो भएको किसान तुलसीराम ढकालले बताए । ‘हामीले धेरै माटो त दिएका छैनौं । तर, संस्थालाई खेती दिँदा राम्रो भएको छ । वार्षिक रूपमा मूल्यांकनअनुसारको आम्दानी दिएको छ ।

नाफा पनि बाँढेको छ । सबैभन्दा राम्रो खेतको अवस्था सुध्रिएको छ,’ उनले भने । एकीकृत खेती प्रणाली जिल्लाका अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ । जिल्लाको कचनकवल गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन क्षेत्रमा पनि एकीकृत खेती अघि बढाउन किसान छलफलमा जुटेका छन् । परियोजनाले एक हजार हेक्टर क्षेत्रफलमा किसानलाई आधुनिक प्रणालीअन्तर्गत खेती गर्न अनुदानसहितको सहयोग गर्दै आएको छ ।

‘आधुनिक मेसिनरी प्रयोगबिना अब खेती गर्ने विकल्प छैन । त्यसका लागि चक्लाबन्दी खेती निर्विकल्प छ,’ सुपर जोन एकाइका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले भने, ‘ठूलो संख्यामा चक्लाबन्दी गरेर खेती गर्नलाई एकीकृत खेतीमै जानुपर्छ । हामी यसका लागि निरन्तर छलफलमा छौं ।’

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

रित्तिँदै लेकाली खर्क

चन्द्र कार्की

तेह्रथुम — संखुवासभाको मादी नगरपालिका सोलाबनका भीमध्वज कार्की ८३ वर्ष पुगे । उनले लाचाम खर्कमा उमेरमा ६० वटासम्म भैंसी चराए । त्यसमा २५ वटासम्म त दुहुना मात्र हुन्थे ।

कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीमा अनुसन्धानका लागि पालिएका भैंसी र पाडापाडी । तस्बिर : चन्द्र

भैंसी गोठालो गर्दा गर्दै उनले जीवनको आधा समय लाचाम खर्कमै बिताए । तर अवस्था अहिले त्यस्तो छैन । बुढो शरीरले गोठालो गर्न नसकेपछि उनी यति बेला गाउँ झरेका छन् ।

घरमा परिवारले दुइटा गाई पालेका छन् । उमेर छँदाको गोठाले जीवन र खर्कभरि भैंसी चराएर दूध दुहेको सम्झना उनलाई ताजै छ । अचेल खर्क र गोठमा भैंसी भने छैनन् । तेह्रथुमको मेन्छ्यायाम गाउँपालिका श्रीजुङको सेखिम्बाका बलबहादुर घिसिङ पनि भैंसी गोठ पालेर लाचाम हुँदै मेन्छ्यायाम खर्कमा लामो समय बिताए ।

उनले यी लेकाली खर्कमा ४३ माउसम्म भैंसी पालेर चराए । वर्षको ८ महिना जस्तो गाउँ छोडेर उनी भैंसी गोठमा बिताउथे । घिसिङ पनि हाल भैंसी गोठ मासेर गाउँतिरै झरेका छन् । खर्क रित्तै छन् । कार्की र घिसिङ त उदाहरण मात्र हुन् । तेह्रथुम र संखुवासभाको माथिल्लो क्षेत्रको खर्कबाट भैंसी गोठ हटाउने गोठालाको संख्या सयौं छ ।

हजारौं रोपनीका नागी र खर्क यति बेला रित्तै छन् । यी जिल्लामा यति बेला भैंसीको संख्या त मासियो नै पुराना खर्कहरू समेत पशु वस्तु अभावमा रित्तै भएका छन् । जसले गर्दा लेकाली क्षेत्रको जैविक विविधता संरक्षणमै असर परेको जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

खर्कमा मात्र होइन, गाउँघरतिर समेत हाल भैंसी मासिँदै गएको छ । किसान गाई पालनतर्फ लागेका छन् । गाउँघरका साना किसानले पालेका भैंसी पनि मासु प्रयोजनका लागि बिक्री भइरहेका छन् । जसले गर्दा जिल्लाका पशु पालक किसानमाझ भंैसीको अभाव भएको पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत शिवजीप्रसाद दासले बताए ।

पहिले भैंसी चराउने खर्क र जंगललाई जिल्ला वन कार्यालयले सामुदायिक वन गठन गरेर समुदायलाई जिम्मा लगाए पछि चरन क्षेत्र मासिएको भैंसीपालक किसानको भनाइ छ । पुराना खर्क र चौरहरूमा सामुदायिक वन उपभोक्ता समूहले वृक्षरोपण गरी चरन निषेध गरेका छन् ।

किसानमाझ भैंसी र पाडापाडीको अभाव भएको र भएका भैंसी र पाडापाडीको मूल्य आकासिएकाले व्यावसायिक भैंसी पालक किसानले सरकारसँग भैंसी संरक्षण कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । भएका दुधालु भैंसीको संरक्षण र पाडी उत्पादनका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्न नसक्दा वर्षेनी भैंसीको संख्या घट्दै गएको हो ।

सडक असुविधाका कारण टाढाबाट भैंसी खरिद गरेर ल्याउन नसकिने र स्थानीय स्तरमा रहेका सीमित भैंसीको मूल्य बढा भैंसी किसानको पहुँचभन्दा बाहिर गइसकेको आठराई गाउँपालिका खाम्लालुङका अगुवा भैंसी पालक किसान गोपी ढुंगानाले बताए ।

जिल्लामा सुरुमा लिमे र पारकोटे जातका भैंसीमा मुर्रा जात क्रस गराएर पाडापाडीे उत्पादन गरिए पनि प्रभावकारी नभएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयले केही वर्षअघि भैंसीको संख्या बढाउन विभिन्न क्षेत्रमा भैंसी पालन पकेट क्षेत्र घोषणा गरेर मुर्रा जातका पाडी र बिउका राँगा वितरण गरेको थियो ।

तर व्यावसायिक भैंसी पालनमा किसानको ध्यान त्यति नगएको पशु विकास अधिकृत दासले बताए । सुरुमा गाउँगाउँमा किसान स्तरमा गठन गरीएका भैंसी पालन समूह समेत हाल निष्क्रिय छन् । थोरै तर स्वादिलो दूध दिने स्थानीय रैथाने भैंसी मासुका लागि काटिने क्रम बढ्दो छ । स्थानीय हावापानीमा राम्ररी फस्टाउने यस्ता भैंसीको समेत गाउँघरतिर अभाव छ ।

रैथाने भैंसीको अभाव भएर दूधका लागि उन्नत जातको मुर्रा भैंसी पशु सेवा कार्यालयको सहयोगमा किसानले भित्र्याएका थिए । भैंसी पालक किसान व्यावसायिक हुन नसक्नु, रोग तथा उपचारबारे प्राविधिक ज्ञान नहुनु, खानपान र उचित स्याहार नपुग्दा समयमा बाली नलाग्नु, चरन क्षेत्र साँघुरिनु, पछिल्ला पुस्ताले भैंसीपालनमा रुची नदेखाउनु जस्ता कारणले किसान एक दुई बेत भैंसी ब्याएपछि मासुका लागि काटीखानेलाई बिक्री गर्छन् । भैंसीमा गरेको लगानी उठाउन नपाउँदै बिक्री गर्नुपर्ने अवस्था रहेको धर्मदेवी नगरपालिका संखुवासभाका किसान टंक पौडेलले बताए ।

किसानले गाउँघरमा दूधका लागि पालेका उन्नत जातका भैंसी र पाडापाडीसमेत बढी मूल्य पाउने बित्तिकै बिक्री गर्ने गरेकाले पुराना र व्यावसायिक किसानसँगसमेत भैंसीको अभाव छ । बढी मूल्य आउने भएपछि दूध दिँदै गरेका भैंसीसमेत किसानले मासु व्यापारीलाई बिक्री गर्ने गरेको पशु प्राविधिकको भनाइ छ ।

भैंसी ब्याएर दूध दिन छाड्नेबित्तिकै किसानले पाडापाडी बिक्री गर्नाले केही वर्षपछि बयस्क हुने नयाँ पुस्ताका पाडापाडी समेत किसानसँग छैनन् । कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीले विभिन्न जातका भैंसीको अध्ययन अनुसन्धान गर्दै आएको छ । तर त्यहाँ उत्पादन भएका सीमित संख्याका भैंसी र पाडापाडी यहाँसम्म आइपुग्दैनन् ।

भैंसीको संख्या प्रत्येक वर्ष घट्दै गएपछि गाउँमा रहेका केही भैंसीको मुल्य भने अकासिएको छ । सामान्य दूध दिने भैंसीको मूल्यसमेत हाल ७० हजारदेखि १ लाख ९० हजार रुपैंयाँसम्म पर्ने गरेको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT