१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एकीकृत खेतीमा किसान

परिवारमा खेती गर्नेको संख्या घटेपछि एकीकृत खेती गरिँदै
जमिनको उत्पादकत्व बढ्यो
अर्जुन राजवंशी

गौरादह (झापा) — जिल्लाका किसान एकीकृत खेतीतर्फ आकर्षित भएका छन् । परिवारमा खेती गर्नेको संख्या घट्दै गएपछि किसान एकीकृत खेतीतर्फ लागेका हुन् ।

एकीकृत खेतीमा किसान

गौरादह नगरपालिकास्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले एकीकृत खेतीलाई प्रवद्र्धन गरेको छ । संस्थाले नमुना एकीकृत सहकारी खेती र जागृति एकीकृत सहकारी खेतीमार्फत सामूहिक खेती प्रणालीलाई विकास गरेको हो ।

सहकारीले हाल एक सय हेक्टर क्षेत्रफलमा एकीकृत खेती गर्दै आएको छ । स्थानीय ९० किसानबाट २५ वर्षका लागि खेत भाडामा लिएर सामूहिक खेतीलाई अघि बढाएको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन् । एकीकृत खेती ०७१ देखि गर्दै आएको उनले बताइन् । एकीकृत खेती प्रणालीका कारण किसानको जमिनको उत्पादकत्व बढेको छ । खेती भाडामा लिँदा ४ पीएच अम्लियनपन रहेकोमा हाल बढेर ५.५ पीएच पुर्‍याएको नमुना एकीकृत सहकारी खेतीका अध्यक्ष बेधनिधि चापागाईंले बताए ।

विगतभन्दा एकीकृत खेतीबाट किसानले आम्दानी राम्रो पाउने गरेका छन् । किसानले एकीकृत खेती प्रणालीमा रोजगारी समेत पाएका छन् । किसानले खेत भाडामा दिएबापत वार्षिक प्रतिबिघा ३२ मन धान पाउने गरेका छन् ।संस्थाले ‘एक घर एक रोजगार’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ ।

खेती संस्थालाई दिएपछि दैनिक काम गर्न इच्छुक किसानलाई संस्थाले प्रतिघण्टा ५० रुपैयाँका दरले हाजिरा समेत दिने गरेको छ । वार्षिक एक सय घण्टा काम गर्ने किसानलाई श्रमबोनस १० प्रतिशत र सेयर बोनसबाट ४० प्रतिशत नाफा बाँड्दै आएको छ । संस्थाले किसानका साना–साना टुक्रा खेतलाई जोडेर चक्लाबन्दी गरेको छ ।

संस्थाले चक्लाबन्दीअन्तर्गत १० बिघाको एउटा फाँट बनाएको छ । समान रूपमा सिँचाइ पुग्ने गरी खेत सम्याएको छ । खेतमा आधुनिक मेसिनरीका सामान पुग्नेगरी बाटो बनाइएको छ ।

संस्थाले खेत बाँझो राख्ने अवस्थालाई शून्यमा झारेको छ । दुई बाली धान खेती गर्ने गरेको छ । त्यसबाहेक मकै, गहुँ, तोरी र घाँस खेती गर्दै आएको छ । सहकारीले सामूहिक गाईपालन पनि गरेको छ । संस्थाले माछापालन पनि गरिरहेको छ ।

किसान महिला दिदीबहिनीलाई स्वरोजगार बनाउने उद्देश्यले संस्थाले नमुना अचार उद्योग पनि सञ्चालन गरेको छ । ‘अधिकांश किसानका छोराछोरी विदेश गएका छन् । स्वदेशमै भएकाहरू पनि पढेलेखेर राम्रो जागिरे भएका छन्’, किसान हेमनाथ घिमिरेले भने, ‘गाउँमा खेती गर्ने मान्छे नै छैनन् ।

कसैलाई अधिया दिँदा पछि मोहियानी लाग्ने डर । त्यसैले संस्थालाई खेत दिने किसान बढ्दै गएका छन् ।’ संस्थालाई खेती दिँदा राम्रो भएको किसान तुलसीराम ढकालले बताए । ‘हामीले धेरै माटो त दिएका छैनौं । तर, संस्थालाई खेती दिँदा राम्रो भएको छ । वार्षिक रूपमा मूल्यांकनअनुसारको आम्दानी दिएको छ ।

नाफा पनि बाँढेको छ । सबैभन्दा राम्रो खेतको अवस्था सुध्रिएको छ,’ उनले भने । एकीकृत खेती प्रणाली जिल्लाका अन्य स्थानमा पनि विस्तार हुने क्रममा छ । जिल्लाको कचनकवल गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन क्षेत्रमा पनि एकीकृत खेती अघि बढाउन किसान छलफलमा जुटेका छन् । परियोजनाले एक हजार हेक्टर क्षेत्रफलमा किसानलाई आधुनिक प्रणालीअन्तर्गत खेती गर्न अनुदानसहितको सहयोग गर्दै आएको छ ।

‘आधुनिक मेसिनरी प्रयोगबिना अब खेती गर्ने विकल्प छैन । त्यसका लागि चक्लाबन्दी खेती निर्विकल्प छ,’ सुपर जोन एकाइका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले भने, ‘ठूलो संख्यामा चक्लाबन्दी गरेर खेती गर्नलाई एकीकृत खेतीमै जानुपर्छ । हामी यसका लागि निरन्तर छलफलमा छौं ।’

प्रकाशित : भाद्र १७, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?