कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरमा बम बिस्फोटका आरोपी सार्वजनिक

रिमोट कन्ट्रोलबाट बम बिस्फोट
बम बिस्फोट जनतान्त्रिकले गराएको
देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरमा बम बिस्फोटका आरोपी सार्वजनिक

जहदा गाउँपालिका–२ का ५३ वर्षीय मनोजकुमार सिंह, सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–३ नयाँ टोलका २० वर्षीय अभिमन्यु गिरी र सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादवलाई पक्राउ गरेको हो ।


सिंहलाई शुक्रबार मोरङबाट र गिरी र यादवलाई शनिबार सिरहाबाट पक्राउ गरेर जिल्ला प्रहरी मोरङले आइतबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रमुख उपरीक्षक मनोजकुमार केसीले यादव सिरहाको लहानस्थित विकास ट्रेडर्समा भएको बम बिस्फोटको घटनामा समेत संलग्न भएको बताए ।


प्रदेश १ र २ प्रहरी कार्यालय र जिल्ला प्रहरी मोरङको संयूक्त अनुसन्धान टोलीले २१ दिनपछि घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याएको छ ।


महानगरमा रिमोट कन्ट्रोलबाट बम बिस्फोट गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रमाण र तथ्यलाई जोडेर अनुसन्धान गर्दै जाँदा घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लागेको उनले बताए ।


केसीले अनुसन्धानबाट घटनामा ५ जनाको संलग्नता रहेको खुलेको बताए । सिरहाको धनगढीमाई नगरपालिकाका बिक्की भन्ने बिरेन्द्रकुमार यादव, मोरङको जहदा गाउँपालिकाका राहुल यादव र पक्राउ परेका तीनै जनाले भारतको दरभंगामा जेठ महिनामा नै योजना बनाएर बम बिस्फोट गराएको अनुसन्धानबाट खुलेको उनले बताए ।


जयकृष्ण गोइतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) मा आबद्ध बिक्कीले नै चारै जनालाई दरभंगामा बोलाएर स्थानीय तहमा बम बिस्फोटको योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीको भनाई छ ।


‘विराटनगर महानगरमा बिस्फोटको प्रभाव मुलुकभरि हुने निष्कर्षका साथ उनीहरुले यहाँ बम बिस्फोट गराएको देखिन्छ,’ उनले भने, ‘आवश्यत्ता अनुसार पैसा दिने सर्तमा महानगरमा बिस्फोट गराउने जिम्मेबारी बिक्कीले मनोजलाई दिएको थियो ।’


घटनाको अघिल्लो दिन मनोजले भारतको बथनाहाबाट बम झोलामा बोकेर चोर बाटोबाट जहदा–३ स्थित आफ्नो घरमा ल्याएर राती राखेको र साउन २७ गते स्थानीय राहुलसँगै छुट्टाछुट्टै मोटरसाइकलमा विराटनगरस्थित बसपार्कमा बम पुर्‍याएको केसीले बताए ।


बस पार्कमा सिरहाको बस चढेर आएका रामरिझनलाई राहुलले र गिरीलाई मनोजले मोटरसाइकलमा चढाएर महानगरपालिकासम्म पुर्‍याएको सीसी टिभि फुटेजबाट खुलेको उनले सुनाए ।


‘मनोजले मोटरसाइकल महानगर कार्यालय परिसरमा प्रवेश गराएको र केही समयपछि उनी एक्लै मोटरसाइकल लिएर निस्केको सीसी टिभि फुटेजमा देखिएको छ,’ उनले भने, ‘बम राखेर केही समय पछि गिरी हिड्दै महानगरबाट निस्केको फुटेजमा देखिन्छ ।’


बम राखेर निस्केपछि रामरिझनले रिमोटकन्ट्रोल थिचेर बिस्फोट गराएको अनुसन्धानबाट खुलेको उनले बताए । बम राख्नु अघि र पछि घटनाको रेकी गर्ने काम राहुलले गरेको उनी भन्छन् ।


बम बिस्फोट भएपछि मनोज र राहुलले रामरिझन र गिरीलाई बसपार्क पुर्‍याएरपछि उनीहरु बसमा चढेर सिरहा फर्केको अनुसन्धानबाट खुलेको केसीले बताए ।


महानगरमा बम कहाँ र कसरी लगेर राख्ने बारे मनोजले गिरीलाई निर्देशन गरेको अनुसन्धानबाट खुलेको उनले सुनाए ।


रामरिझन जनतान्त्रिकमा संलग्न भएको पाइएको तर मनोज, गिरी र राहुलको बारेमा छानबिन भइरहेको उनले बताए । राहुल र बिक्कीको पनि खोजी कार्य भइरहेको तर उनीहरु नेपालमा नभएकोले भारततर्फसमेत संयन्त्र परिचालन गरिएको केसीले सुनाए ।


सेवाग्राही उपस्थित रहेको समयमा साउन २७ गते दिउँसो २ बजे विराटनगर महानगर प्रमुख भीम पराजुलीको कार्यकक्ष बाहिरपट्टीको प्यासेजमा राखिएको सोफामुनि बम राखेर बिस्फोट गराउँदा भगाभाग भएको थियो । बिस्फोटबाट झ्यालका सिसा, पराजुली चढने गाडीको पछाडीको सिसा फुटेको थियो ।


जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतले घटना भएपछि तत्काल सञ्चारकर्मीहरुलाई फोन गरेर र इमेलमार्फत विज्ञप्ति पठाएर घटनाको जिम्मेवारी लिएको थियो ।


घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कारबाहीको माग गर्दै कांग्रेस प्रदेशसभा सदस्यहरुले प्रदेश सांसदमा पटकपटक आवाज उठाउँदै आएको थिए भने कांग्रेस मोरङले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनसमेत गर्दै आएको थियो ।

प्रकाशित : भाद्र १७, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?