१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सडक मर्मत भएन

वर्षाले क्षतिग्रस्त बाटोको मर्मत नहुँदा आउजाउमा सास्ती
किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्मको सडकमा यातायात ठप्प

भोजपुर — षडानन्द नगरपालिकाका होटल व्यवसायी राजन भुजेल आफ्नो होटलको स्थायी लेखा नम्बर (पान) बनाउन सदरमुकामस्थित घरेलु तथा साना उद्योग कार्यालय आउनु थियो । शुक्रबार बिहानै ५ घण्टा पैदल हिँडेर उनी तीन तलेसम्म आइपुगे ।

सडक मर्मत भएन

त्यहाँबाट फेरि करिब साढे ४ घण्टाको दूरी पार गरेपछि बल्लतल्ल भोजपुर सदरमुकाम टेके । सधैं ३ घण्टा लाग्ने बाटो उनलाई झन्डै १० घण्टा लाग्यो । ‘नगरपालिकाले बेलैमा बाटो नबनाएपछि घण्टौं पैदल हिँडेर सदरमुकाम धाउनु परेको छ,’ उनले भने, ‘नधाई पनि सुख छैन, आफ्नो नगरपालिकामा पान नम्बर बन्दैन ।’

अविरल वर्षाले सडक क्षतिग्रस्त भएकाले यस्तो समस्या भएको हो । चार महिनायता स्थानीय बासिन्दाले यो समस्या भोगिरहेका छन् । भोजपुर–दिङ्ला ४६ किलोमिटर सडक खण्डमा यातायात ठप्प हुँदा राजनजस्ता उत्तरी भेगका सर्वसाधारणले सास्ती खेपेर सदरमुकाम धाउनुपरेको छ ।

नगरपालिकाले वर्षायाम अगावै सडक मर्मत नगरिदिँदा सर्वसाधारणले सास्ती भोग्नु परेको हो । प्रायजसो उत्तरी भेगका बासिन्दा नागरिकताको सिफारिस, कर, तिरो, बैंकिङ कारोबार लागि सदरमुकाम धाउनु परेको छ । बेलैमा नगरपालिकाले सडक मर्मतमा ध्यान नपुर्‍याउँदा चार महिनादेखि यात्रुले सास्ती भोग्दै सदरमुकाम धाउनुपरेको दिङ्लाकी कल्पना श्रेष्ठले सुनाइन् । ‘असार मसान्तअघि र पछि समयावधिमा धेरैजसो कामका लागि सदरमुकाम आउनुपर्छ । वर्षाअघि नै सडक मर्मत भएको भए यस्तो सास्ती भोग्नुपर्ने थिएन,’ उनले भनिन् ।

षडानन्द नगरपालिकाले भने सडक मर्मत गर्ने जेसिबी स्क्राइभेटर चालक नभएपछि सडक बनाउन नसकिएको बताउँदै आएको छ । नगरपालिकाकी उपप्रमुख मेरिका राईले नजिकिएको दसैंलाई लक्षित गर्दै असोज पहिलो साताअघि नै चालक नियुक्त गरेर सडक मर्मत गर्ने बताइन् । साथै उनले नगरपालिकाको बैठक बसी निर्णयबमोजिमै तत्काल जेसिबीको ड्राइभर नियुक्त गरेर काम गरिने बताइन् ।

भोजपुर नगरपालिकाको हेलौंछा भन्ने स्थानको सिमानामा पर्ने तीन तलेसम्मको १३ किलोमिटरसम्मको सडक खण्डमा सवारी साधन आउजाउ गरे पनि षडानन्द नगरपालिका किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिंलाबजारसम्मको सडक वर्षाले बिगारेपछि यातायात ठप्प भएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?