अस्ताए शिक्षकका अगुवा

अंग्रेजी विषयका गुरु नेपालीको ५७ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा परी शनिबार बेलुकी निधन
चन्द्र कार्की

तेह्रथुम — पञ्चायत ढलेर भर्खरै प्रजातन्त्र आएको थियो । त्यो समय देशभर जातीय छुवाछूत व्याप्त थियो । उनी अंग्रेजी विषयमा निकै दख्खल राख्थे । अंग्रेजी विषय राम्रो पढाउने भनेर उनको जिल्लाभर निकै चर्चा थियो ।

अस्ताए शिक्षकका अगुवा

तिनै अंग्रेजी विषयका गुरु उद्धवबहादुर नेपालीको ५७ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा परी शनिबार बेलुकी निधन भयो । उनको निधनले जिल्लाको सम्पूर्ण शैक्षिक क्षेत्र स्तव्ध भएको छ ।

देशमा प्रजातन्त्र आए लगत्तै ०४७ सालमा बसन्त मावि बसन्तपुरमा आएर अध्यापन गराउन सुरु गरेका नेपालीको शनिबार भएको निधनले यो क्षेत्र शोकमग्न बनेको छ । एउटै विद्यालयमा २८ वर्ष शिक्षण पेसामा बिताएका नेपाली अहिले सोही विद्यालयका प्रधानाध्यापक थिए ।

उनले सोही विद्यालयको १७ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका थिए । जिल्लामा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने पहिलो दलित शिक्षक पनि उनै थिए । नेपालीको निधन जिल्लावासीले पत्याउन सकेका छैनन् ।

नेपालीको निधनले जिल्लाको शिक्षाको ज्योति निभेको उनका सहपाठी सहायक प्रधानाध्यापक कृष्णप्रसाद दाहालले बताए । ‘सर साह्रै मिलनसार र आफ्नो विषयमा विज्ञ हुनुहुन्थ्यो,’ दाहालले भने, ‘सरको निधनको खवरले सारा शिक्षक र विद्यार्थी रोइरहेका छन् ।’

पञ्चायतको समयमा उनका बुवा दलित समुदायमा पुरेत्याइँ गर्थे । पुरेत्याइँ गर्न धेरै ठाउँ डुल्दा छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान बुवा डिकविर दर्जीमा त्यस बेलै पलायो । त्यस समय दलित समुदायमा पढालेखा गर्नेको संख्या एकदमै न्यून थियो । पढ्नमा उनी सानैदेखि तीक्ष्ण थिए । एसएलसीपछि अंग्रेजी विषय लिएर उनले क्याम्पसमा भर्ना भए ।

अंग्रेजी विषय लिएर बीएड गरेका नेपालीले ईपीएममा स्नाकोत्तर गरेका छन् । उनले पढाएका विद्यार्थी सरकारी सेवाको उपल्लो तहसम्म पुगेका छन् । खाद्य अनुसन्धान तथा गुण नियन्त्रण विभागमा खाद्य अधिकृत रहेका उनका पूर्वविद्यार्थी पुष्पराज राईले सरको निधनले आफूलाई स्तव्ध बनाएको बताए । नेपालीले त्यस समय अंग्रेजी सिकाएको अहिले पनि उनले सम्झिरहेका छन् ।

बहुसंख्यक गैरदलित विद्यार्थी अध्ययन गर्ने विद्यालयको बागडोर दलित समुदायका नेपालीले राम्ररी सम्हालेका थिए । विद्यालयको शैक्षिक नेतृत्व गर्ने क्षमता उनमा भएकै कारण उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष समेत रहेका प्रदेश सांसद लक्ष्मण तिवारीले बताए ।

उनले पढाएका अधिकांश विद्यार्थी शिक्षण क्षेत्रमा अव्बल रहेको तिवारीको भनाइ छ । शिक्षक, विद्यार्थी, अभिभावक लगायत सवैसँग साथीभाइको जस्तो व्यवहार गर्ने नेपाली तेह्रथुममा मात्र नभएर प्रदेश १ को शैक्षिक क्षेत्रमा परिचित थिए ।

अभिभावक र विद्यालय व्यवस्थापन समितिले दिएको जिम्मेवारी उनले सहजै पूरा गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र थापाले बताए । उनकै पहलमा विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान पढाइ हुँदै आएको छ ।

अंग्रेजी विषय अध्यापनका लागि निकै कहलिएका नेपालीको निधनले यस क्षेत्रको शैक्षिक अभियानमै क्षति पुगेको उनका सहपाठी यज्ञबहादुर खडकाले बताए । उनको अध्यापन शैली र फरक प्रस्तुतिका कारण विद्यार्थी जहिल्यै पनि झुम्मिरहन्थे । तेह्रथुमको हमरजुङमा २०१८ सालमा जन्मिएका नेपालीले अध्ययनपछि गाउँकै शारदा निमाविमा केही समय अध्यापन गराए ।

अंग्रेजी विषयमा राम्रो ज्ञान भएका नेपालीलाई तत्कालीन समयको विद्यालय व्यवस्थापन समितिले बोलाएर नियुक्त गरेको सांसद तिवारीले बताए । अन्य जिल्ला र विद्यालयबाट राम्रो सेवा सुविधा दिने सर्तमा उनलाई धेरैतिरबाट बोलावट हुने गथ्र्यो ।

तर नेपालीले बसन्त माविलाई माया मारेर जान सकेनन् । ‘सरले विद्यालय र यो ठाउँलाई धेरै माया गर्नुहुन्थ्यो,’ विद्यालयका सहपाठी भीमप्रसाद दाहालले भने, ‘सरले जीवनको सवैभन्दा महत्त्वपूर्ण समय यहीं विताउनुभयो ।’

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा लागू गर्ने, बसन्त माविलाई उच्च मावि र क्याम्पस बनाउने कार्यमा पनि नेपालीको उल्लेख्य योगदान रहेको स्थानीयले सम्झिए । नेपालीको सोमबार स्थानीय लम्वु घाटमा दाहसंस्कार गरिने विद्यालयले जनाइएको छ ।

आत्महत्या गरी मृत्यु भएका आफ्नै ससुराको मलामी गएर फर्किंदै गर्दा नेपालीको शनिबार मोरङको पथरीमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?