राँके बजारमा आगलागीमा करोड बढीको क्षति

विप्लव भट्टराई

इलाम — इलाम र पाँचथरको सीमानामा रहेको राँके बजारमा आइतवार राती भएको आगलागीका कारण करिव २ करोड बढीको क्षति भएको स्थानीय प्रशासनले बताएको छ ।  बजारको इलामतर्फको क्षेत्रमा आगलागी भएको थियो । 

राँके बजारमा आगलागीमा करोड बढीको क्षति

देउमाई नगरपालिका–१ का थालुराम श्रेष्ठको घरमा विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । यहि क्रममा छिमेकी नरबहादुर श्रेष्ठको घरमा रहेको सिलिन्डर पड्कँदा घरमा क्षति पुगेको छ ।


राति ९ बजे सुरु भएको आगलागी १२ बजे स्थानीयवासी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी र फिदिमवाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणकालागि इलामबाट गएको दमकल भने बाटोमा नै बिग्रिएको थियो । बाक्लो गरी घर भएको क्षेत्रमा आगलागी भए पनि सेना, प्रहरी र स्थानीयले आगो अन्यत्र फैलन दिएका थिएनन् ।


आगो लागेको १ घण्टासम्म नियन्त्रण बाहिरको अवस्था रहे पनि दमकल नपुगुन्जेल मानवीय प्रयासमा आगो फैलन नदिएको स्थानीयले बताए । बाक्लो हुस्सुका कारण फिदिमबाट गएको दमकल पनि केहि ढिला पुगेको थियो ।


बजार क्षेत्रलाई जोगाउन आगलागी सुरु हुनसाथ प्रयास थालिएको थियो । आगलागीबाट श्रेष्ठको ५ तले घरसहित सामाग्री जल्दा १ करोड रुपैयाँको क्षति भएको दाबी गरिएको छ । नरबहादुर श्रेष्ठको १० लाख, थालुरामको घरमा पसल गरी बस्ने तिलबहादुर बस्नेतको ५० लाख ५४ हजार र श्रीबहादुर विष्टको ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।


‘रेडक्रश, प्रहरी, विपद व्यवस्थापन समिति, पीडित र स्थानीयबासीबीच भएको छलफल पछि आगजनीबाट भएको क्षति यकिन गरिएको हो,’ निमित्त प्रमुख जिल्ला अधिकारी देवीचरण फुयालले भने ।


आगलागी पीडितलाई सोमबार नै राहत वितरण गरिएको छ । रेडक्रशको तर्फबाट कम्बल, त्रिपाल, भाँडाकुँडासहितका सामाग्री प्रदान गरिको छ । यस्तै विपद व्यवस्थापन समितिको तर्फबाट घरधनी थालुराम श्रेष्ठलाई ५० हजारका दरले राहत प्रदान गरिएको छ । थप राहतकालागि गृह मन्त्रालयमा सिफारिश गरिएको फुयालले जानकारी दिए ।


२०७१ साल कात्तिक १९ गते पनि राँकेमा आगलागी हुँदा ८ घर जलेका थिए । त्यो क्षेत्रमा नयाँ घर निर्माण भइसकेका छन् ।


प्रकाशित : भाद्र १८, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?