सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

दमक — १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका-१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका-५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ

सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउसमा काम गर्छन् । उनीहरुले साउन २९ गते ती किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । दबाबका कारण बलात्कारको घटना ढिला सार्वजनिक भएको हो । दमकमा डेरा गरेर बस्ने उनी कक्षा ९ मा अध्ययन गर्छिन् । एक्लै बसेको थाहा पाएपछि सुमनले ललाइफकाई बाइकमा राखेर घुमाउन लगेका थिए ।

बाइकमा राखेर घुमाउन लाने क्रममा सुमनले साथी समिरलाई पनि बोलाएका हुन् । उनीहरु त्यस दिन मोरङको उर्लाबारी, बेतिनी सिमसार, मधुमल्लालगायत स्थानमा दिनभरि घुम्ने र रमाइलो गरेका थिए । बेलुका दमक फर्किएपछि सुमनले किशोरीलाई गेष्ट हाउस लगे । उनीहरु रातभर त्यही बसे ।

बिहानको ३ बजेतिर उठेर सुमन नास्ता लिन गएको भन्दै गेष्ट हाउसको कोठाबाट बाहिरिएका थिए । सुमन बाहिरिएपछि कोठामा समिर पसेको बताइएको छ । एकैछिन पछि गेष्टहाउसमा काम गर्ने किरण पनि कोठाभित्र पसे ।

प्रतिकारबीच उनीहरुले सामूहिक बलात्कार गरेको इलाका प्रहरीका डीएसपी श्यामलकुमार सुब्बाले बताए । बलात्कारका क्रममा चिच्याएको गेष्ट हाउस आसपासका बासिन्दाले समेत सुनेका थिए । डरधम्की देखाएपछि उनले घटना सार्वजनिक गरेकी थिइनन् । त्यसलगत्तै उनी घर गएकी थिइन् । घरबाट फर्किएपछि गेष्ट हाउसनजिकैकाले सोधीखोजी गर्दा घटना बाहिर आएको डीएसपी सुब्बाले बताए ।

बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको छ । उनीहरु पक्राउ परेलगत्तैदेखि मिल्न पीडित पक्षलाई दबाब आउन थालेको छ । दबाबका कारण किशोरी डेरामा बसेर विद्यालय जान पाइरहेकी छैनन् । दैनिकजसो नयाँ अनुहारका व्यक्ति आएर मिल्न दबाब दिएपछि उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् ।

प्रकाशित : भाद्र १८, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?