हायु संस्कृति जोगाउनै गाह्रो

डिल्लीराम खतिवडा

गहुँबारी (उदयपुर) — लोपोन्मुख हायु जातिको धर्म, भाषा, संस्कार र संस्कृति मेटिने अवस्थामा पुगेको छ । कटारी नगरपालिका ११ सिरवानीमा निकै कम संख्यामा रहेका हायु जातिलाई आफ्नो मातृ भाषाको संरक्षणसँगै जन्म, मृत्यु र विवाह संस्कार चलाउन संकट पर्दै गएको हो ।

हायु संस्कृति जोगाउनै गाह्रो

उदयपुरमा हायुको कुल जनसंख्या ४० मात्रै छ । सिरवानीमा ५ घर परिवारमा सीमित छ ।

भएकाहरूमा पनि अन्य जातीय प्रभाव परेका कारण भाषाको संरक्षण गर्न र जन्म, मृत्यु र विवाह संस्कार चलाउन संकट पर्न थालेको हो । ६ घरमा सीमित भएका कारण हायु जातिले आफ्नै समुदायको फरक गोत्रमा मागी विवाह संस्कार चलाउन सकेको छैन ।

छोरा या छोरीको विवाह आफ्नै समुदायको फरक गोत्रमा गराउने हो भने छिमेकी सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा लगायतका जिल्लाबाट बर या बधु आउनु वा जानुपर्ने अवस्था छ । ती जिल्लामा पनि हायु समुदायको बसोबास अत्यन्तै सीमित संख्यामा रहेकाले यो समुदायमा अन्य जातिसँगको विवाह बढ्दै गएको छ ।

‘हायुको भाषा, संस्कार संस्कृतिसँगै रीतिरिवाज पनि लोप हुँदै गएको छ,’ हायु जातिका अगुवा ४६ वर्षीय जीतबहादुर हायुले भने, ‘थोरै जनसंख्या भएकाले पनि भाषा, संस्कार र संस्कृति जोगाउन समस्या भएको छ ।’ त्यसैले विवाह र मृत्यु संस्कार परिवर्तन भइसकेको उनले बताए ।

सरकारले हायु जातिलाई लोपोन्मुख जातिको सूचीमा राखेर मासिक प्रतिव्यक्ति २ हजार भत्तासमेत दिँदै आएको छ । मंगोल महाबंशको किराँत समुदायअन्तर्गत पर्ने हायु जातिका आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति रहे पनि तिनको संरक्षणमा भने खासै ध्यान पुग्न सकेको छैन । पछिल्लो समय छाएको शैक्षिक ज्ञान र जागरणले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने चेतना हायु समुदायमा आएको छ ।

चेतना आए पनि आफनो जातिको भाषा, संस्कार र संस्कृतिको विषयमा जानकारी नहुँदा आफू बसोबास गरेको सामाजमा चलिरहेको भाषा, संस्कार र संस्कृति नै प्रचलनमा रहेको अन्नत हायुले बताए ।

‘न्वारन, विवाह र मृत्यु संस्कार ब्राह्मण क्षेत्रीको जस्तै नै हुन्छ,’ अन्नतले भने, ‘आफनो भाषा, संस्कृति र संस्कार छ भन्ने चेतना भए पनि अग्रजबाट सिक्नु नसक्दा स्थानीय समाजमा बाहुल्य रहेको समुदायकै संस्कार र संस्कृतिअनुसार गर्ने गरेका छौं ।’ ५ पुस्तादेखि सिर्वानीमा बस्दै आए पनि भेषभूषा, भाषा, संस्कार र संकृतिको ज्ञान नहुँदा यहाँका हायु जाति संकटमा पर्दै गएको उनले बताए ।

हायु जातिमा चेतनाको बिस्तार गर्दै उनीहरूको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक सामाजिक विकासमा टेवा पुग्ने कार्यक्रम तयार गर्न लागेको कटारी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताए । ‘हायु जातिको चेतना बिस्तारसँगै भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक सामाजिक विकासमा नगपालिकाले कार्यक्रम तयार गरेको छ,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘लोपोन्मुख जातिको भएकाले हायु जातिको उत्थानमा स्थानीय स्तरमै विभिन्न कार्यक्रम सुरु गरिएको छ ।’

विविध जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहन्छ । भाषा, संस्कार र संस्कृति जस्ता साझा सम्पत्तिको संरक्षण गर्न सकेमात्रै स्थानीय तहको विकासले सार्थक रूप लिनेमा हायु जातिको संरक्षणसँगै चेतनाको स्तर समेत वृद्धि हुने स्थानीय ढुक्क छन । हायु जाति उदयपुर, सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा, सर्लाही र रामेछाप जिल्लामा छरिएर बसेको पाइन्छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?