धरानमा करको पुर्नमूल्याङ्कन गर्न कार्यदल गठन 

प्रदीप मेन्याङ्बो

सुनसरी — यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुर्नमूल्याङ्कन गर्न धरान उपमहानगरपालिकामा आइतबार बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ ।

कार्यदलले वृद्धि भएको करलाई केही प्रतिशत घटाएर सर्वसाधारणले तिर्न सक्ने वातावरण बनाउने गरी एकसातासम्ममा प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।

Yamaha

कर विरुद्ध आन्दोलनकारी र धरान उपमहानगरपालिकाबीच वार्ता गर्ने सहमति भएपछि धरान उपमहानगरपालिकाको तर्फबाट उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रसाशकीय अधिकृत सुमन घिमिरे र कर सम्बन्धि अन्य कर्मचारी रहेका थिए भने आन्दोलनकारीका तर्फबाट कांग्रेसका नगरसभापति तिलक राई, श्याम पोखरेल लगायतबीच वार्ता भएको थियो ।

कांग्रेस धरानका सभापति तिलक राईको नेतृत्वमा कर विरुद्ध एक सातादेखि धरान उपमहानगरपालिका प्रवेशद्वार अगाडि दैनिक दुई घण्टा धर्ना बसेका थिए । लगातारको विरोधपछि उपमहानगरपालिकाले वार्ता आह्वान गरेको थियो ।

वार्तापछि कांग्रेसका अनिल श्रेष्ठ, श्याम पोखरेल र संघीय लिम्बूवानका संजुहाङ पालुङ्वा र धरान उपमहानगरपालिकाका तर्फबाट वडा २० क अध्यक्ष तथा प्रवत्ता मणिराम राई, वडा १५ का अध्यक्ष नरेश इङ्वारम र वडा १७ का अध्यक्ष मनोज भट्टराईको कार्यदल बनाइएको छ ।
कार्यदलमा कर विज्ञका रुपमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा अशोककुमार झा रहेका छन् । कार्यदलका सदस्य श्याम पोखरेलले भने, ‘जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेकाले हामी आन्दोलित भएका हौँ । तर हामीले कर नतिर्ने भनेका छैनौँ । नगरपालिका पनि चल्ने र जनताले पनि तिर्न सक्ने कर निर्धारण गरौँ भन्ने हाम्रो मुद्दा हो ।’

धरान उपमहानगरपालिकाले घरबहाल कर, सम्पत्ति कर, व्यवसायिक कर लगायतमा अत्यधिक वृद्धि गरेकाले कार्यदलले दिएको प्रतिवेदन राजनीतिक दल र सर्वसाधारणले अनुमोदन गरेपछि नगरपालिकामा बुझाउने र सोही अनुसार करको दर निर्धारण गर्ने सहमति भएको बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र १९, २०७५ १८:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अस्पतालको लापरबाहीले नाबालकको हात काटिएको आरोप, चिकित्सक भन्छन्, 'ज्यान बचायौं'

प्रदीप मेन्याङ्बो

सुनसरी — एक महिनाभन्दा बढी समय उपचारमा राखेको एक नाबालकको अन्तत् बायाँ हात काटिएको छ । अभिभावकले चिकित्सकको लापरवाहीले हात काट्नु परेको आरोप लगाएका छन् भने चिकित्सकले मृत्युको मुखमा पुगेको बच्चालाई बचाइएको बताएका छन् । 


सुनसरीको रामधुनी नगरपालिका ८ डुम्राहाबस्ने गोकुल विश्वकर्माले जन्मेको तीन दिनमै नाबालक छोरालाई गत जेठ २७ गते विराटनरको आरके चिल्ड्रेन हस्पिटलमा भर्ना गराएका थिए। २६ सातामा जन्मेको बच्चालाई उपचारको लागि राखेको २८ दिनसम्म सघन उपचारकक्षमा राखेपछि उक्त अस्पतालले काठमाडौंस्थित कान्तिबाल अस्पतालमा रिफर गरेको थियो।

बच्चाका बाबु गोकुल र आमा अनिताले आफुहरुलाई अस्पतालले सुधार हुँदै छ भन्ने गरेको र झ्यालबाट मात्र हेर्न दिएको बताएका छन्। अस्पतालले २८ दिनपछि कान्तिबाल अस्पतालमा लैजान भनेको र त्यहाँ पुगेपछि मात्र छोराको हातको हड्डीसमेत कुहिएकाले सल्यक्रिया गरिदिन लेखि पठाएको थाहा पाएको उनीहरुले बताएका छन्।

‘मेरा सपाङ्ग जन्मेका छोरालाई अस्पतालले अपाङ्गा बनाइदिए। पैसा तिर्न सकिन्जेलसम्म आइसियुमा राखे। हाम्रो पैसा सकेपछि थप उपचारकालागि बाहिर लैजाउ भनेर कान्तिबाल अस्पतालमा रिफर गरे' गोकुल भन्छन्। उनले आरके हस्पिटलले नै कान्तिमा लैजान एम्बुलेन्सको व्यवस्था गरिदिएको र २० हजार रुपैया दिएर अरुलाई नभन्न समेत सुझाएको बताए।

आरके हस्पिटलका प्रसासकीय अधिकृत धिरज मैनालीले भने चिकित्सकको लापर्वाही नभएको दावी गरे। ‘अस्पतालमा बच्चा ल्याउँदा सात महिना पुरा नभएको अवस्था थियो। क्रिटिकल अवस्थामा ल्याएकाले भेण्टीलेटरमा राखेर उपचार गरेका थियौं। तर, २६ औं दिनमा बच्चाको देव्रे हात कालो भएको देखिएपछि संक्रमणको थप उपचार गर्न कान्तिबाल अस्पतालमा रिफर गरिएको हो’ उनले भने।

उपचारमा संलग्न बालरोग चिकित्सक डा. सुवोध शर्माले हात काटेर भएपनि बच्चाको ज्यान बचाएको बताए। उनका अनुसार सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको बच्चा त्यहाँ आइसियु वेड भरिएकाले आरकेमा ल्याएका हुन्। 'यहाँ ल्याउदा बच्चाको हात, खुट्टा पुरै लुलो अवस्थामा थियो। महिना नपुगि जन्मेकाले बच्चाको शरिरको आन्तरिक अंगहरु पुरा विकास नहुने हुँदा राम्ररी स्वास लिन सकेको थिएन' डा. शर्मा भन्छन्, 'हामीले तत्कालै भेण्टीलेटरमा राखेर उपचार सुरु गरेका थियौं। नौ दिन पछि सुधार आएको देखियो। तर, फेरि बच्चाको देव्रे हात निलो भयो।'

उनले अस्पतालमा पेडियाट्रिक सर्जरीको सुविधा नभएकाले कान्ति बाल अस्पताल रिफर गरिएको बताए। उनका अनुसार महिना नपुगि अर्थात २६ सातातिर जन्मेका बच्चालाई संसारमै ४० प्रतिशतमात्र बचाउन सकिने तथ्याङ्क छ। बाँचेपनि अधिकांशको कुनै न कुनै अंगमा केही न केही कमजोरी हुने पनि उनले बताए।

विक दम्पतिले भने कान्ति बाल अस्पतालमा पुर्‍याएपछि मात्र आफुहरुलाई आरके अस्पतालले बच्चाको देव्रे हातमा संक्रमण भएकाले काम नलाग्ने अवस्था भएको, हड्डी पनि कुहिसेको र हातको सल्यक्रिया गरिदिन भनेर रिफर गरेको जानकारी पाएको बताए। 'यसअघि त हामीलाई सुधार हुँदैछ मात्र भन्थे' गोकुलको भनाई छ, 'उपचार गराउने पैसा सकिएपछि हामीलाई अन्तै लैजान भनियो।' उनीहरुका अनुसार बच्चाको उपचारमा आरके अस्पतालमा मात्र करिव ४ लाख खर्च भएको छ।

प्रकाशित : भाद्र १२, २०७५ १४:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT