हराउँदै गोबरग्यास चुलो

आधुनिक सिलिन्डर ग्यासको प्रयोगले गाउँघरमा गोबर ग्यास चुलो बाल्न छाडियो

भोजपुर — सिलिन्डर ग्यास घरैपिच्छे हुन थालेपछि गाउँघरमा चल्दै आएका गोबर ग्यास चुलोहरू अचेल उति देख्न पाइँदैन ।

हराउँदै गोबरग्यास चुलो

घरघरमा एलपी ग्यास प्रयोग हुन थालेपछि भोजपुर नगरपालिका १२, टक्सारका अधिकांश घरमा गोबर ग्यासको चलन हराएको छ ।

आधाजसो गाउँले बसाइँ हिँडेपछि उनीहरूले छाडेको पारम्पारिक गोबर ग्यास चुलो पनि प्रयोगमा छैन । १९ वर्षदेखि गोबर ग्यास चुलो बाल्दै आएकी टक्सारकी स्थानीय विष्णुकुमारी कार्कीले ती छाडेर गएका ग्यासका सामान बिग्रिसकेको बताइन् ।

‘गाउँमा पहिले धेरैकोमा यस्तो चुलो हुन्थ्यो’, उनले भनिन्, ‘तर धेरैजसो गाउँले तराईतिर झरेपछि उनीहरूको घर पनि रित्तो, चुलो पनि बिग्रेर गयो ।’ परिवारका पाँच सदस्यलाई खाना बनाउने गोबर ग्यास चुलोलाई दुईदेखि तीन बाल्टी गोबर र दुई बाल्टी पानी भए पुग्छ ।

जाडो मौसममा चिसो बढी हुने भएकाले गोबर राम्ररी नघोलिएपछि त्यसबाट ग्यास निकाल्न गोबरलाई अलि बढी नै फिट्नुपर्ने कार्कीले बताइन् । ‘मंसिर–पुसमा चिसो धेरै हुने हुँदा गोबर कक्रिन्छ र खाना पकाउन अलि गाह्रै हुन्छ,’ उनले भनिन् ।

आधुनिक सिलिन्डर ग्यासको बढ्दो प्रयोगले गोबर ग्यास चुलोको प्रयोग हराउँदै गएको हो । सुरक्षाका दृष्टिकोणले सिलिन्डर ग्यासभन्दा गोबर ग्यास सुरक्षित हुने स्थानीय दानबहादुर कार्कीले बताए । ‘हामीलाई गोबर फिट्न समस्या भए पनि सिलिन्डर ग्यासभन्दा गोबर ग्यास चुलो चलाउन जोखिम भने हुँदैन,’ उनले यसो भने ।

२०५२ सालतिर टक्सार भित्रिएको गोबर ग्यास चुलो गाउँका अधिकांश बासिन्दाले प्रयोग गर्ने गर्थे । त्यो बेला जिल्ला कृषि विकास कार्यालयबाटै चुलो निर्माणका लागि भनेर उपभोक्तालाई ४० प्रतिशत अनुदान पनि दिइएको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?