कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खानेपानी समस्या उस्तै

मुहानमा पानी भए पनि व्यवस्थित गर्न नसक्दा बिहान र बेलुकीमात्र वितरण

खोटाङ/तेह्रथुम — खोटाङ सदरमुकाम दिक्तेल बजारको खानेपानी समस्या अझै टरेको छैन । रम्बाखोला र दिक्तेल बजार खानेपानी समिति एउटै बनाएर व्यवस्थित गर्न खोजे पनि समस्या उस्तै रहेको छ ।

खानेपानी समस्या उस्तै

समितिका कोषाध्यक्ष नवराज जोशीका अनुसार बजारका करिब छ सय घरधुरीलाई पानी वितरण गरिएको छ । मुहानमा पानी भए पनि व्यवस्थित गर्न नसक्दा बिहान र बेलुकीमात्र पानी दिने व्यवस्था गरिएको छ । त्यही पनि पानी परेको बेला धमिलो आउने भएकाले उपभोक्ता मारमा परेका छन् ।

होटल व्यवसाय गर्नेलाई पानीको समस्या अझै बढी छ । कतिपयको घरमा दुबै मुहानको पानी आउने र कतिपयको घरमा भने पानीको धारा नभएको उपभोक्ताको गुनासो छ ।
यसलाई मध्यनजर गर्दै आगामी ५० वर्षसम्मका लागि व्यवस्थित खानेपानीका लागि नयाँ आयोजना सुरु हुन लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।

एसियाली विकास बैंकको सहयोगमा खानेपानी व्यवस्थित गरिने भएको हो । नगर प्रमुख रिजाल र खानेपानी तथा ढल विकास विभाग काठमाडौंका डाइरेक्टर रामचन्द्र यादवबीच सम्झौता समेत भइसकेको छ । एशियाली विकास बैंकको आर्थिक सहयोगमा एक हजार एक सय घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने नगर प्रमुख रिजालले बताए ।

नगरपालिकाका सञ्चालन हुने खानेपानी आयोजनाका लागि टेन्डर प्रक्रिया बढेको प्रमुख रिजालले बताए । उनका अनुसार टेन्डर लागेका डेढ वर्षभित्र आयोजना सम्पन्न हुनेछ । यसका लागि रम्बाखोला मुहान र रामपुर मुहानबाट तीन वटा मुहानबाट खानेपानी ल्याइनेछ ।

यो आयोजनाका लागि उपभोक्ताको पाँच प्रतिशत सङलन गर्नुपर्ने जोशीले सुनाए । एसियाली विकास बैंकले सात करोड रुपैयाँ नगर विकास कोषबाट ऋण अनुदान उपलब्ध हुने नगरप्रमुख रिजालले बताए ।

म्याङलुङमा सहज
पानी अभावमा आगो निभाउन नसक्दा तीन पटकसम्म जलेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा हाल पानीको समस्या हटेको छ । बजार क्षेत्र समेत रहेको म्याङलुङ नगरपालिका १ मा मात्र ६ हजार ७ सय २७ जनसंख्या छ । योमध्ये केही जनसंख्या ग्रामीण क्षेत्रमा छ । गाउँमा पानी वितरण प्रणाली फरक छ ।

बजार क्षेत्रका जनसंख्यालाई ८ सय १८ वटा धारामार्फत पानी वितरण गरिएको खानोपानी व्यवस्थापनको जिम्मा लिएको म्याङलुङ बजार खानेपानी उपभोक्ता समिति अध्यक्ष शुभभगत प्रधानाङघले बताए । मिटर प्रणालीबिनै बिहान र बेलुकी आधा/आधा घण्टा उपभोक्तालाई पानी वितरण गरिएको उनले बताए । पर्याप्त पानी उपभोग गरेबापत उपभोक्ताले महिनामा १ सय ५० रुपैयाँ महसुल बुझाउने गरेका छन् ।

उभोक्ताको घरमा दैनिक ५ सय लिटरसम्म पानी आउने गरेको छ । मिटर प्रणाली लागू गर्ने तयारी सुरु गरिएको त्यसपछि थप पानी उपभोक्ताले प्रयोग गर्न पाउने समितिले जनाएको छ । रुपा र सुर्के खोलाबाट ल्याइएको पानी बन कार्यालय नजिक रहेको ६ लाख लिटर क्षमताको ट्यांकीमा प्रतिसेकेन्ड लिटर पानी झर्ने गरेको छ । यहाँ फिल्टर भएको पानी बजार क्षेत्रका विभिन्न स्थानमा रहेका ट्यांकीमार्फत उपभोक्तासम्म पुग्छ ।

म्याङलुङ बजारमा मात्र दैनिक ६ लाख लिटर पानी चाहिने गरेको समिति अध्यक्ष प्रधानाङघले बताए । बजार क्षेत्रका ट्यांकीमा दैनिक ७ लाख ७७ हजार ६ सय लिटर पाउने आइरहेको छ । यो हिसाबमा अहिले पनि बजार क्षेत्रमा १ लाख ७७ हजार ६ सय लिटर पानी बढी आइरहेको छ । बजार क्षेत्रमा ल्याइएको पानी वडा २, ३, ९ र १० को केही क्षेत्रमा समेत वितरण गरिएको छ ।

पानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन बजार क्षेत्रको हस्पिटल डाँडामा १ लाख ५० हजार, जिल्ला समन्वय समितिछेउ १ लाख २५ हजार र हस्पिटलको वल्लो छेउमा ५० हजार लिटर क्षमताका ट्यांकी बनाइएको छ । यी ट्यांकीमा २४ सै घण्टा पानी संकलन हुने गरेको समितिले जनाएको छ ।

पानी वितरण र भौतिक संरचना निर्माणका लागि सघाएको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए । आगलागी भइहालेमा निभाउनका लागि म्याङलुङ बजार क्षेत्रको बीचबीचका घरमा १० हजार लिटर क्षमताका भूमिगत पानी ट्यांकी बनाइएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?