कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निक्षेपकर्तालाई ठगेको आरोमा सहकारीका ३ पदाधिकारी थुनामा

५ करोडभन्दा बढी ठगी गरेको आरोप
फरार ९ जनाको पक्राउ आदेश
देवनारायण साह

मोरङ — जिल्ला अदालत मोरङले ठगी मुद्दामा विराटनगर–९ बाटारोडस्थित प्राइम बचत तथा ऋण सहकारी लिमिटेडका तीनजनालाई बुधबार पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

निक्षेपकर्तालाई ठगेको आरोमा सहकारीका ३ पदाधिकारी थुनामा

जिल्ला न्यायाधीश दिपक खनालले विराटनगर ३ घर भई सहकारीका उपाध्यक्ष ४० बर्षीय विष्णुप्रसाद सुवेदी, उक्त ठाउँका कार्यकारी प्रमुख ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ र सचिव तथा प्रबन्धक ३४ बर्षीय ईश्वर श्रेष्ठलाई थुनामा राख्ने आदेश गरेको हो ।


उनीहरुलाई मुलुकी ऐनको अदालती बन्दोबस्तीको दफा ११८ को उपदफा २ बमोजिम थुनामा राख्न आदेश भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए । थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालय विराटनगरका साहयक जिल्ला न्यायधिवक्ता पदमप्रसाद वस्ती र वादीकोतर्फबाट अधिवक्ता रुपेश कोइरालाले बहस गरेका थिए ।


प्रतिवादी सुवेदीको तर्फबाट अधिवक्ता विश्वनाथ भट्टराई, चुडामणी कोइराला, रामचन्द्र थापा र बुद्धकुमार श्रेष्ठले बहस गरेका थिए । यस्तै, इन्द्रलालको तर्फबाट बरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई र सुरेशलाल श्रेष्ठ, अधिवक्ता नारायणप्रसाद दाहाल, महेशकुमार खडका र पेशलकुमार न्यौपानेले बहस गरेका थिए । ईश्वरको तर्फबाट बरिष्ठ अधिवक्ता विश्वनाथ भट्टराई, अधिवक्ता ज्ञानेन्द्र थापा, चुडामणी कोइराला र बुद्धकुमार श्रेष्ठले बहस गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय मोरङले ५ करोड बढी रुपैयाँ ठगी गरेको आरोपमा संस्थाका १२ जना सञ्चालकबिरुद्ध जिल्ला अदालतमा मुद्दा दायरेको थियो । फरार रहेका ९ जना सञ्चालकबिरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।


विराटनगर घर भएका संस्थाको अध्यक्ष विष्णुलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष लीला खनम, सदस्यहरु खोटाङ्ग घर भई कास्की पोखरा बस्दै आएका अनिल जोशी, सन्तोष भन्ने तेजप्रसाद ढकाल, गोमा श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, सुनिता दंगाल, गोपाल साह, विमला भन्ने शारदादेवी उदासलाई पक्राउ पूर्जी जारी गरेको अदालतले जनाएको छ ।


संस्थामा बचत गर्नेमध्ये देवीमाया अधिकारीले दिएको उजुरीका आधारमा मुद्दा दायर गरेको हो । उजुरीमा संस्थाका सञ्चालकहरुले लामो समयदेखि रकम जम्मा गर्न लगाएको तर रकम लिन जाँदा संस्थाको कार्यालय नै बन्द गरेर फरार रहेको उल्लेख छ । संस्थामा बचत गर्ने र सेयर सदस्यमध्ये २ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबीसहित जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए ।


उजुरीपछि प्रहरीले संस्थाका कार्यकारी प्रमुख इन्द्रलाललाई विराटनगरबाट, सचिव ईश्वर र उपाध्यक्ष सुवेदीलाई पोखराबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा संस्थाको कार्यालयमा रहेको अभिलेख नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ५ करोड ८० लाख ७९ हजार रुपैयाँभन्दा बढी सर्वसाधारणबाट ठगी गरेको पाइएको प्रहरीले खुलाएको छ ।


ती अभिलेखका आधारमा २ हजार ८ सय ४१ जनाबाट शेयरबापत ९२ लाख ९० हजार ३ सय रुपैयाँ र अन्य १ हजार २ सय ४० जनाबाट करिब ९ करोड ११ लाख २३ हजार रुपैयाँ जम्मा भएको जिल्ला प्रहरीले जनाएको छ ।


संस्थाले हालसम्म विभिन्न व्यक्ति र संस्थालाई गरी ३ करोड ३० लाख रुपैयाँ लगानी गरेको कागजातमा भेटिएको प्रहरीले जनाएको छ । बचतकत्र्ता तथा सेयर सदस्यको रकम संस्थाका सचिव ईश्वरले पाँच वटा उद्योगमा लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।


इश्वरले विनायक प्रिन्टरमा एक करोड रुपैयाँ लगानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । पोखरास्थित लोटस फुड प्रोडक्टसमा ८५ लाख, विराटनगस्थित न्यू विराट अटो वल्र्डमा ८ लाख ५० हजार, अल राइट फुड प्रोडक्ट प्रालिमा तीन लाख, जिरे खोर्सानी नामक होटलमा ५ लाख रूपैयाँ लगानी गरेको प्रहरी समक्ष उनले बयान दिएका छन् ।


श्रेष्ठले सहकारीको झण्डै १ करोड रकम विभिन्न मितिमा आफन्तलाई समेत बाँडेको प्रहरीले जनाएको छ । उनले भाइ अरुणलाई ३१ लाख, अनिललाई ८ लाख, वसन्तलाई ५ लाख, बुबा हरिभक्तलाई ५ लाख, बहिनी कोपिलालाई करिब ७ लाख रुपैयाँ दिएको बयानमा बताएको प्रहरीले जनाएको छ । उनले बचतकर्ताको पैसा तिर्न मिटर ब्याजमा समेत ऋण लिएका छन् । मिटर ब्याज दिनेहरूको पैसा तिर्न नसक्दा सहकारीमा तालाबन्दी गरेको छ ।


बचतकर्ताको ८ करोड १८ लाख २३ हजार ६ सय ६२ रुपैयाँ बचत गरेको र शेयर बापतको ९२ लाख ९२ हजार ८ रुपैयाँ गरी कुल ९ करोड ११ लाख १६ हजार ४ सय ६२ रूपैयाँमध्ये करिब एक करोड ७५ लाख रूपैयाँ ऋण लगानी गरेको उनले बयान दिएको छ ।


प्रकाशित : भाद्र २०, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?