थलिएको झापा बजार

अर्जुन राजवंशी

कुमरखोद (झापा) — पूर्वपश्चिम राजमार्गदेखि २२ किलोमिटर दक्षिण । भारतीय सीमा क्षेत्रको बजार । जिल्लाका दुई ठूला नदी कन्काई र बिरिङले घेरिएको । पटक पटक राजनीतिक परिवर्तनका कारण थलिएको बजार हो, झापा बजार ।

थलिएको झापा बजार

यो बजार झापा जिल्लाकै पुरानो सदरमुकामसमेत हो तर हाल यसको चिनारी यही ‘पुरानो सदरमुकाम’ भन्ने शब्दमै मात्र सीमित भएको छ । साबिक कुमरखोद गाविसको केन्द्र पनि हो । हाल झापा गाउँपालिका वडा २ को एउटा बजारका रूपमा सीमित छ ।

बजारसम्म पुग्ने मुख्य सडकमै अझै पनि बजार लाग्दै आएको छ । व्यवस्थित टहरा छैनन् । ठूला व्यापारी छैनन् । उद्योग, कलकारखाना छैनन् । ५० वर्षअघि बनेका पुराना मक्किँदै गएका घरले बजारको मुहार मलीन बन्दै गएको छ । पुराना बासिन्दा र व्यापारीको पलायनले बजारको महत्त्व र ऐतिहासिकता मेटिँदै गएको छ ।

सात दशकभन्दा बढी इतिहास बोकेको झापा बजार अहिले ‘गुद्रीबजार’ मा सीमित भएको छ । ‘यो बजारलाई माथि उठाउने कुनै प्रयास भएन,’ स्थानीय सुशीला कार्कीले भनिन्, ‘न स्थानीय बासिन्दा जुटे न त सरकारले नै कुनै योजना ल्यायो ।’ उनले सम्भावना भएर पनि पिछडिएको अवस्थामा रहनुपरेको दुखेसो गरिन् ।

रेवत केसीले झापा बजारको अबको सम्भावना हुलाकी मार्गको निर्माण अन्तिम विकल्प भएको बताए । उनले हालसम्म राज्यले कुनै प्रयास नगरेकाले अब पनि गर्छ भन्ने कुनै आशा नरहेको बताए । ‘यो बजार उठ्छ भने हुलाकी राजमार्ग बन्दा आफंै उठ्छ । होइन भने हामी अर्को कुनै विकल्प देख्दैनौं,’ उनले भने ।

बजारमा छोटी भन्सार छ तर बन्द । बजारसम्म आउनलाई बाटोको सुविधा छैन । ५ सय मिटर आसपासका बासिन्दा बजारसम्म आइपुग्न खोला तैरिनुपर्ने अवस्था छ । पुराना धान व्यापारीहरू सबै पलायन भइसकेका छन् । शिक्षित वर्ग सहरतिर डेरा बसेर जागिर खान्छन् । विवाहका लागि सामान किन्नुपरे सीमापारि भारतीय बजार जानुपर्ने बाध्यता छ ।

बजारमा भएका होलसेल पसलहरू बन्द हुने क्रम जारी छ । ‘अहिलेको संरचनामा यो बजार हाम्रो प्रमुख बजारमा पर्छ । त्यसैले यसको संरक्षण र विकासमा हामी जोड दिन थालेका छौं,’ वडा नं. २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले भने ।

उनले प्रदेश र केन्द्रस्तरबाट कुनै पहल नभए पनि स्थानीय तहले नै ‘झापा बजार’ को विकासमा पर्याप्त नीति, कार्यक्रम र बजेट विनियोजन गर्दै जाने बताए । ‘झापा बजार’ मुलुकमा राणाशासन हुँदादेखि नै अस्तित्वमा आएको बजार हो । तर, २००७ सालको क्रान्तिले यो बजारलाई सधैंका लागि उठ्न नसक्ने गरी थला पारिदियो । तत्कालीन राणा शाषकविरुद्ध क्रियाशील मुक्ति सेनाले मोरङ मातहत रहेको झापा एकाइका सरकारी कार्यालयहरू कब्जा गरेका थिए ।

उनीहरूले उक्त कार्यालयहरू २००६ सालतिरै भद्रपुर सारेका थिए । लगत्तै २००७ सालमा प्रजातन्त्र आयो । मुक्ति सेनाले गरेका निर्णय राजनीतिक रूपमा सदर भयो । मोरङ मातहत रहँदै आएको झापा २०१८ सालमा अलग्गै जिल्ला घोषित भयो अनि पहिलदेखि जहाँ सरकारी कार्यालयहरू सञ्चालित थिए, उक्त ठाउँलाई सदरमुकाम तोकिँदा झापाको सदरमुकाम भद्रपुर ठहरियो । यसबेलादेखि नै झापा बजारमा रहेको सदरमुकाम सधैंका लागि भद्रपुर सरेको हो ।

झापा बजार पछि पर्नुमा पञ्चायतकाल र सशस्त्र द्वन्द्व पनि कारक बन्यो । पञ्चायतकालमा जिल्लाको राजनीति हाँक्ने व्यक्तिहरू झापा बजारका जमिनदारसमेत थिए । सरकारविरुद्ध गतिविधि हुने एउटा केन्द्र झापा बजार पनि थियो ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?