१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चतुरेमा बिजुली

इलाम — माङसेवुङको चतुरे बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । माङसेबुङ गाउँपालिका ३ चतुरे बजारसहित मानपुर, ढुङ्गे, असारेबारी र सामाटारमा बिजुली बल्न थालेको हो ।

चतुरेमा बिजुली

एक वर्षदेखिको प्रयासमा स्थानीयले विद्युत् सेवा उपभोग गर्न पाएका हुन् । तत्काल ८५ घरमा विद्युत् बलेको छ । थप १ सय घरमा पनि चाँडै बिजुली बल्ने भएपछि सिंगो गाउँवासी उत्साही छन् ।

विद्युत् अभावमा कुनै पनि आधुनिक उपकरण प्रयोग गर्न नसक्ने यहाँका बासिन्दा सोलरको भरमा मोबाइल चार्ज गर्दै आएका थिए । गाउँपालिकाका धेरै भागमा विद्युत् पुग्न नसकेको अवस्थामा चुतुर क्षेत्रमा विद्युत् पुगेपछि अन्यत्रका बासिन्दामा पनि आशा पलाएको स्थानीय डेविड शंकर बताउँछन् ।

किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र लारुम्बावा मानपुरको सबस्टेशन हुँदै चतुरेसम्म ११ केभी विद्युत् लाइन विस्तार भएको हो । यो क्रममा घोगटेबारी र चतुरेमा २५ किलोवाटका २ वटा ट्रान्समिटर राखिएको माङसेबुङ गाउँपालिका ३ का अध्यक्ष मैतराज राईले जानकारी दिए ।

बिजुली बलेपछि त्यहाँका गृहिणी र विद्यार्थी लाभान्वित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र माङसेबुङ गाउँपालिकाको आर्थिक लगानीमा सो क्षेत्रमा विद्युत् विस्तार गरिएको हो । ४० लाख ६८ हजार ९ सय १३ रुपैयाँको लगानीमा फलामे पोलबाट विद्युत् विस्तार गरिएको उपभोक्ता समितिले जनाएको छ ।

त्यसका लागि माङसेबुङ गाउँपालिकाबाट गत आर्थिक वर्ष मा २८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो । ४ लाख १८ हजार बराबरको स्थानीय उपभोक्ताले श्रमदान गरेका थिए । ८ लाख अघिल्लो आवमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको थियो ।

‘अन्य भौतिक पूर्वाधारमा पछि परेसँगै विद्युत् पनि नहुँदा साँच्चै कठिन थियो,’ उपभोक्ता समितिका अध्यक्ष रोशन राईले भने, ‘अब भने घरायशी प्रयोगसँगै व्यवसाय प्रवर्धनमा पनि सहयोग मिलेको छ ।’ यसअघि त्यस क्षेत्रमा विद्युत् नहुँदा वडा कार्यालय, विद्यालय, विभिन्न संघसंस्थाहरूले समस्या झेल्दै आएका थिए । विद्युत् नभएकै कारण वित्तीय संस्था तथा बैंकहरू समेत स्थापना हुन सकेका थिएनन् ।

वडाका अन्य टोलमा समेत यस वर्षदेखि विद्युत् विस्तारको काम थालिने भएको छ । विकासको दृष्टिले जिल्लाको १० स्थानीय तहमध्ये माङसेबुङ गाउँपालिका विकट मानिन्छ । ६ वटा वडामध्ये हालसम्म वडा ५ का सबै तथा १ र २ को आधा क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विस्तार भएको छ । बाँकी वडा नम्बर ४ र ६ अझै अन्धकार छन् ।

‘सडकसँगै विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेका छौं,’ गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले भने,’ ‘पाँच वर्षभित्र गाउँपालिकाको सवै क्षेत्रमा विद्युत् विस्तार गर्ने योजना छ ।’ चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विद्युतीकरणका लागि गाउँपालिकाले छुट्याएको छ ।

बर्खायाममा सडक यातायातका सम्बन्धबाट टुट्ने यो गाउँपालिका विकासका हिसावले जिल्लाकै विकट मानिन्छ । सडक, विद्युत्, सञ्चार, सूचना प्रविधिलगायत क्षेत्रमा पछि परेको अवस्थामा आवश्यकता छनौट गरी क्रमश: सुधार गर्दै लाने योजना गाउँपालिकाले वनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?