कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बिजुली विस्तार अलपत्र

भोजपुुर — ठेकेदार बीचैमा सम्पर्कविहीन भएपछि झन्डै ६ वर्षअघि सुरु गरिएको केन्द्रीय योजनाअन्तर्गत विद्युत् विस्तारको काम अलपत्र परेको छ ।

बिजुली विस्तार अलपत्र

षडानन्द नगरपालिका वडा १ र २ मा केन्द्रीय प्रसारणको लाइन विस्तार गर्ने काम पाएका ठेकेदार सम्पर्कविहीन बनेपछि अलपत्र परेको हो ।

काम अलपत्र भएपछि गाउँलेको बिजुली बत्ती बाल्ने सपना अधुरै रहेको स्थानीय सौगात गौतमले सुनाए । ‘ठेकेदारले काम छाडेपछि बिजुली बाल्न पाउने आशा हराएको छ, अझै कुपी बालेर रात कटाउनु परेको छ,’ उनले भने, ‘अब स्थानीय सरकारले पहल गरे बिजुली बाल्न पाइएला ।’

०६८ सालमा छिमेकी जिल्ला खाँदबारीको तुम्लिङटार हुँदै दिङ्ला ल्याइएको उक्त केन्द्रीय प्रसारणको लाइन नेपालेडाँडा र कुदाकाउले वडामा ल्याउने कामको जिम्मा पाएका ठेकेदार किशोर शेर्पा बीचैमा काम छाडेर सम्पर्कविहीन भएपछि योजना अलपत्र बनेको वडा १ का अध्यक्ष रामेश्वर भण्डारीले बताए ।

‘बिजुली टाँग्ने टेन्डर पारेका ठेकेदारले काम त गरेनन् नै उल्टै ढुवानी खर्च भन्दै २ लाख रुपैयाँ लिए,’ उनले भने, ‘पछि बीचैमा काम अलपत्र पारेर फरार भए ।’ ०६८ साल फागुनमा सर्वदलीय बैठक बसी विद्युत् विस्तार समिति गठन गरेर उक्त ठेक्कामार्फत विद्युत् विस्तारको काम थालिएको थियो ।

तर ठेकेदार काम अलपत्र पारेर भागेपछि ती दुई वडामा गाडिएका बिजुलीका खम्बाहरू कामै नलाग्ने अवस्थामा पुगेका छन् । कतिपय बिजुलीका खम्बाहरू पुरानो, खिया लागेको, भाँचिएको, लडेको अवस्थामा अलपत्र छन् ।

विद्युत् विस्तारको कामलाई अगाडि बढाउन जिल्ला प्राविधिक कार्यालयमा पटक–पटक उजुरी दिँदा कुनै प्रतिक्रिया नआएको स्थानीय गोपाल भण्डारीले बताए । उनले भने, ‘हामीले धेरैपटक जिल्ला प्राविधिकमा गएर काम अघि बढाउन पहल गरे पनि सुनुवाइ भएन ।’

दुई वडामा खम्बा मात्र गाडेर फरार भएका ठेकेदार शेर्पाले दिङ्लाका रमेश कटुवालको एक लाख ३० हजार खम्बा ओसार्दाको ट्रयाक्टर ढुवानी खर्च समेत नबुझाएको खुलेको छ । यसका साथै उनले त्यति बेला गाउँमा खम्बा गाड्ने प्राविधिक कर्मचारीले खाना खाएको ७२ हजार समेत बाँकी रहेको जनाइएको छ ।

ठेकेदार भागेपछि बीचबीचमा जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको वडा २ कुदाककाउलेका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । ‘काम छाडेर भागेका ठेकेदार शेर्पालाई विचविचमा सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेको थाहा पाइयो,’ उनले भने, ‘उनको अहिले अत्तोपत्तो नै छैन ।’

ठेकेदारले ०७२ सालमा दिङ्लादेखि साविकको नेपालेडाँडा गाविसको वडा ७ चिउरीबोटेसम्म तार टाँगेर सम्पर्कविहीन भएका थिए । बिजुली विस्तार भएपछि नेपालेडाँडाका ७ सय ८३ र कुदाककाउलेका करिब ५ सय घरधुरी लाभान्वित हुने आशा थियो ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?