लाखौंका उपकरण उपयोगविहीन

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल उपकरण आपूर्तिकर्ता बायोमेड इन्टरनेसनल काठमाडौंबीचको विवादले एक वर्षअघि खरिद गरेको ७४ लाख रुपैयाँभन्दा बढी पर्ने उपकरण उपयोगविहीन बनेको छ ।

लाखौंका उपकरण उपयोगविहीन

विवादले सर्जिकल माइक्रोस्कोप नामको उपकरण प्रतिष्ठानको भण्डारमा थन्क्याइएको छ ।

उक्त सर्जिकल माइक्रोस्कोप एचएस एलेग्रा ५०० हो । सिंगल हेडेड सर्जिकल माइक्रोस्कोपलाई बढीमा ५५ लाख मात्र पर्ने जनाइएको छ । तर आपूर्तिकर्ता बायोमेडले सोही उपकरणलाई ‘डबल हेडेड’ भनेर दाबी गरेको छ । बायोमेड चेतन अग्रवाल र उनका दाजुभाइको कम्पनी हो ।

उनीहरूका दर्जन बढी कम्पनी छन् । प्रतिष्ठानभित्र १२ वर्षसम्म औषधि बिक्री कक्ष खोलेर बसेका अग्रवालका कम्पनीमध्ये गर्गले यसअघि आपूर्ति गरेको ३ लाख प्रतिगोटा पर्ने आठ डेन्टल चियर काम नलाग्ने अवस्था पुगेका थिए ।

स्पाइनल र स्नायुसँग जोडिएको हाडजोर्नीको सर्जरी गर्दा प्रयोग हुने उक्त आधुनिक उपकरण माइक्रोस्कोप डबल हेडेड हो कि सिंगल हेडेड हो भन्नेमा प्रस्ट नहुँदा उपयोगविहीन हुन पुगेको छ । प्रतिष्ठानको हाडजोर्नी विभागले सर्जिकल माइक्रोस्कोप माग गरेपछि टेन्डर आहवान गरी प्रतिष्ठानले ०७४ असार २७ मा बायोमेडसँग उपकरण आपूर्तिका लागि सम्झौता गरेको थियो ।

प्रतिष्ठानको बायोमेडिकल इन्जिनियर, हाडजोर्नी विभागका प्रमुख, इन्चार्ज र अन्य प्राविधिकले बायोमेडले आपूर्ति गरेको उक्त उपकरण डबल हेडेड नभएर सिंगल हेडेड भएको उल्लेख गर्दै अस्पताल निर्देशकलाई पटकपटक पत्राचार गरे । अस्पताल निर्देशक डा.गौरिशंकर साहले बायोमेडलाई पत्र लेख्दै टेन्डर आहवान गर्दा उल्लेख गरिएको स्पेसिफिकेसन अनुसारको डबल हेडेड माइक्रोस्कोप आपूर्ति गर्नुपर्ने, त्यसो नभएर हाल स्टोरमा उपयोगविहीन भएर थन्काइएको सिंगल हेडेड उपकरण फिर्ता लैजान अनुरोध समेत गरेका थिए । प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक साहले बायोमेडलाई ०७५ साउन १६ को मितिमा पत्र लेखेर सचेत गराएका छन् ।

बायोमेडले ०७५ साउन २९ मा लेखेको जवाफमा भनेको छ, ‘प्रतिष्ठानले माग गरेबमोजिमको सम्पूर्ण स्पेसिफिकेसन यस कम्पनीले पेस गरेको प्रस्तावमा दुरुस्त मिल्छ । सर्जिकल माइक्रोस्कोपका सम्बन्धमा स्पस्ट हुनका लागि स्पेसिफिकेसनको कागजात समेत विगतमा पेस गरेका थियौं ।’ प्रतिष्ठानका बायोमेडिकल इन्जिनियरदेखि मूल्यांकन समिति र हाडजोर्नी विभागका चिकित्सक, दुई जना रुटिङ ओटिले समेत उक्त माइक्रोस्कोप सिंगल हेडेड भएको बताएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले भने, ‘प्रतिष्ठानको मूल्यांकन समिति, बायोमेडिकल इन्जिनियर र चिकित्सकलाई नै झुक्याउने प्रयास भएको देखियो ।’

प्रकाशित : भाद्र २३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?