सिंगो बस्तीमा १ शौचालय, २ चापाकल

विनोद भण्डारी

विराटनगर — महानगरका बासिन्दा भएर पनि वडा १६ दरैयाको ऋषिदेव बस्तीमा उज्यालो भुइँमा नखस्दै दिसा गरिसक्नुपर्ने बाध्यता छ । झिसमिसमै लोटी बोकेर झाडीतिर दौडने यहाँका ४५ परिवारको दैनिकी हो ।

सिंगो बस्तीमा १ शौचालय, २ चापाकल

त्यसका अलवा पिउने पानीका लागि चापाकलमा समेत लाइनमा बस्नुपर्छ । उनीहरूका लागि बिजुली बत्ती ‘आकासको फल आँखातरी मर’ भने जस्तै छ ।

बस्तीभरि एक घरमा मात्र शौचालय छ । उनीहरू बिहान झिसमिसमै नजिकको उखु बारीमा शौचालय गर्न पुग्छन् । स्थानीय सोमीलाल ऋषिदेव भन्छन्, ‘उज्यालो भएपछि बस्तीका सवैलाई शौच गर्न समस्या पर्छ । पुरुषलाई शौचालय नभए पनि खासै समस्या पर्दैन । तर महिलालाई भने धेरै असहज हुन्छ ।’

बस्तीमा शौचालय नभएकै चाहिँ होइन । गत वर्षको बाढीले सवै घरका शौचालय बगायो । बाढीपछि एउटा संस्थाले शौचालय बनाइदिने भन्दै प्रत्येक घरबाट दुई हजार उठायो । बस्तीकी अगुवा जालसी ऋषिदेवले भनिन्, ‘त्यो संस्थाले तीनवटा रिङमात्र गाडेर छोड्यो ।’ बस्तीमा बाहिरबाट पुग्ने जोकोहीलाई शौच लागे उनीहरू पनि झाडी पुग्नुको विकल्प छैन ।

दुई साता पहिला बस्तीमा स्वास्थ्य शिविर गरिएको थियो । अभियानकर्ता पारस थापाले भने, ‘स्वास्थ्य शिविरमा गएका चिकित्सक टोली पनि शौच गर्न नजिकको झाडी पुग्नुपर्‍यो ।’ महानगरपालिकाभित्रको उक्त बस्ती झट्ट हेर्दा विकट गाउँभन्दा फरक छैन । कच्ची सडक छ । पानी पर्दा नजिकको धावी तरेर बस्तीमा पुग्न सक्ने स्थिति रहदैन । बस्तीका प्राय: सवै महिला पुरुषको मुख्य आय दैनिक मजदुर गरेबापत पाउने ज्याला हो ।

बस्तीभरि खानेपानीका लागि २ वटा चापाकल छन् । ती कलबाट पानी ल्याउन बिहानैदेखि लाइन लाग्छ । एक बाल्टी पानी ल्याउन कम्तीमा १० मिनेट पालो पर्खनुपर्छ । रधियादेवी ऋषिदेवले भनिन्, ‘भाँडा मोल्न, नुहाउन र कपडा धुन त झन बढी समय कुर्नुपर्छ ।’ बस्तीमा झन्डै दुई सयको बसोबास छ ।चुनावको समयमा सवै उम्मेदवारले शौचालय बनाइदिने, खानेपानीको व्यवस्था गरिदिने अनि बाटो ग्राभेल गरिदिने आश्वासन दिएका थिए । स्थानीय लिलादेवी ऋषिदेवले भनिन्, ‘तर चुनाव जितेपछि उनीहरू एकपटक पनि फर्किएर आएका छैनन् ।’

उक्त बस्तीमा स्थानीय निर्वाचनअघि लोमन्ती भन्ने सस्ंथाले शौचालय बनाउने जिम्मेवारी लिएको थियो । वडा अध्यक्ष मनोज सुब्बाले संस्थाले बीचमै काम छाडेपछि त्यहाँ शौचालय निर्माण अलपत्र परेको हो । उनले भने, ‘वडा कार्यालयले उक्त बस्तीको समस्या समाधानका लागि विकल्पको खोजी गरिरहेको छ ।’ बस्ती नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?