मेयरले समाते घुस लिने महानगरका दुई कर्मचारी

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकाका दुईजना कर्मचारी घुसको रकमसहित आइतबार पक्राउ परेका छन् ।वित्तीय व्यवस्थापन महाशाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल र घरजग्गा नक्सा फाँटका कार्यालय सहयोगी बुधलाल सरदार पक्राउ परेका हुन् । 

उनीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल र वडा ७ का अध्यक्ष मधुबाबु तिबारीको संयूक्त टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

पोखरेलले विराटनगर ७ की मिना शाक्यले सम्पति कर र घर बहाल कर तिर्न आउँदा ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय ७५ को मात्रै बील दिएको थियो । शाक्य निस्किने बित्तिकै प्रमुख पराजुली नेतृत्वको टोलीले पोखरेलको घरराबाट घुस रकम बरामद गरेको थियो ।

पोखरेलले कार्यालय सहयोगी सरदारमार्फत रकम लिएको थियो । प्रमुख पराजुलीले ११ हजार ४ सय २५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका दुबै जनालाई कानुनी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउने बताए ।

प्रकाशित : भाद्र २४, २०७५ १६:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

रासस/एएफपी

प्योङयाङ — उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिलेसमेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए।

दोस्रो विश्वयुद्ध समाप्त हुनै लाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए।

एक्काइस तोपको सलामी पश्चात् किम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौँ सैनिक टुकडीले मार्चपास गरेको थियो। सैनिकहरुमध्ये केहीले नाइट-भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए। यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता किमसहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए।

नेता किमसँगै चिनियाँ प्रतिनिधि एवं चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए। उनीहरु दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो।

मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो। आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए। अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो। त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो।

तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्तराज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन।

'उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ। उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ,' कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भने।

सैनिक मार्चपास सकिएलगत्तै हजारौँ नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्डसहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतिकरण गरेका थिए।

अप्रिलमा किमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गरेका थिए। उनले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिएका थिए।

प्रकाशित : भाद्र २४, २०७५ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT