हत्या गरी फालिएको शव फेला

कान्तिपुर संवाददाता

सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित काेशी किनारमा विभत्स ढंगले हत्या गरी कोशी नदीमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

महेन्द्रनगर इलाका प्रहरी कार्यालयका अनुसार वराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी ठाकुरवाडी बस्ने २२ वर्षीय सुरेन्द्र माझीको शव फेला परेकाे हाे।

Yamaha

आइतबार साँझ घरफर्कने बेलामा गोठालाहरुले कोशी किनारको ३ नम्बर स्परमा पानीमा शव देखेपछि प्रहरीलाईखबर गरेकाथिए।

माझीको छाती, मुटु, टाउको, कोखा र पेटमा १७/१८ स्थानमा भालाले हानेको गहिरो घाउ भेटिएको प्रहरीले जनाएको छ। हत्याको कारण अझै खुल्न सकेको छैन। पोस्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ। घटनाको छानबिनका लागि चक्रघट्टीका एक युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आगम्छे बनाउन विदेशीलाई नदिइने

दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्ने आगम्छे निर्माण गर्न अब विदेशीलाई नदिइने भएको छ । पुरातत्त्व विभागले जापानलाई दिने तयार पारेको आगम्छेको सम्पदा अभियन्ता, जनप्रतिनिधि लगायतको विरोध भएपछि विभाग पछि हटेको हो ।

शाहवंशभरि बन्द भएको आगम्छे मन्दिर । तस्बिर : दामोदर

जापानले यसका लागि अनुदानसमेत दिइसकेको थियो । अनुदान दिए पनि आफूले चाहेको एक एनजीओलाई निर्माण गर्न दिने विषयमा कुरा नमिलेपछि जाइकालाई दिने प्रक्रिया अघि बढेको थिएन ।


मल्ल राजाको कुलदेवताका रूपमा पुजिंदै आएको आगम्छे शाहवंश सुरु भएपछि बन्द गरिएको थियो । अरूको धार्मिक भावनाको कदर गर्दै शाहहरूले यो मन्दिर टेकेनन् । यस्तो सम्मानका साथ राखिएको मन्दिर बनाउन विदेशीलाई दिने तयारी भएको थियो । विरोध भएपछि सम्पदा अभियन्ता, स्थानीयवासीलगायतलाई मनाउने उद्देश्यले पुरातत्त्व विभागमा बैठक राखिएको थियो ।

बैठकका सहभागीलाई मनाउने कोसिस महानिर्देशक भेषनारायण दाहालले गरेका थिए । ‘विदेशीलाई छिर्न दिने होइन,’ दाहालले भने, ‘बनाउने हाम्रै मान्छेले हो । अनुसन्धान गर्ने क्रममा जापानी प्राविधिक मन्दिरभित्र जान्छौं भनेका थिए । तर हामीले दिएनौं । चाँगुनारायण र शान्तिपुर पनि यस्तै गोप्य मन्दिर हुन् । ती मन्दिरमा पनि हामीले त्यहींका पुजारी परिवारलाई बनाउने जिम्मा दियौं । यहाँ पनि गर्ने त्यही हो ।’


दाहालको आश्वासनमा सम्पदाप्रेमी सहमत भएनन् । ‘नौतले दरबारमा पनि हाम्रै प्राविधिकले बनाउने भनिएको थियो,’ सम्पदा बचाउ अभियान संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘सुरुमा त्यसो भन्ने मात्रै हो । अहिले जुद्ध सालिकदेखि चीनको झन्डा गाडिएको छ । गद्दी बैठक अमेरिकाले रेट्रोफिटिङ गर्‍यो । त्यहाँ पनि अमेरिकाकै झन्डा फहरायो । अब हामी आगम्छेमा जापानको झन्डा फहराउन दिंदैनौं ।’


प्रदेश सांसद राजेश शाक्यले पनि गोप्य मन्दिर विदेशीलाई दिने पुरातत्त्वको योजनामा असहमति जनाए । ‘हामीले जनताको कुरा सुन्नुपर्छ,’ उनले भने, ‘जनताले आफ्नो सम्पदा बनाउन विदेशी गुहार्नु हुँदैन भनेका छन् । आगम्छेको धेरै महत्त्व छ । छोरीको बिहे गरेको छ भने आगम्छेमा पस्न पाइँदैन । त्यति कडा नियम हुन्छ । म ४५ वर्षको भएँ । तर अझै म आगम्छेमा छिरेको छैन । किनभने म दीक्षित भएको छैन ।’


विदेशीलाई बनाउन नदिने प्रक्रिया अगाडि बढाउन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गर्ने जानकारी दिएको छ । ‘हामीले रद्द गर्न सक्दैनौं,’ महानिर्देशक दाहालले भने, ‘यहाँ भएको निर्णय मन्त्रालय पठाइदिन्छौं ।’


यसको जीर्णाेद्धार हनुमानढोका दरबारबार हेरचाह अड्डा र काठमाडौं महानगरपालिकाको आर्थिक लगानीमा गरिने निर्णय पनि बैठकले गरेको छ । दाहालका अनुसार जापानले दुई मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । आगम्छेको लागि १३ करोड रुपैयाँ र पाटनको देगु तलेजुका लागि २० करोड छुट्याइएको छ । हनुमानढोका दरबारको पछाडि पर्छ आगम्छे । लामो बार्दली भएको घर छ । त्यसको माथिल्लो तलामा छ आगम्छे । पुरातत्त्वविद् विष्णुबहादुर कार्कीका अनुसार तलको दुई तला चन्द्रशमशेरले निओ क्लासिकल शैलीको बनाए । माथिल्लो तला आगम्छे भने मल्लकालीन शैलीमै छ ।


इतिहासकार गौतमवज्र वज्राचार्यका अनुसार यस मन्दिरभित्र मल्ल राजाहरूले गुप्त तरिकाले पूजा गरिने आगम देवता स्थापना गरिएका छन् । आगम्छेमा आफ्ना वंशबाहेक अरू छिर्न नमिल्ने कडा नियम बनाइएको हुन्छ ।


आफ्नो वंशका बाहेक अरू छिर्न नपाउने नियम भएकै कारण शाहवंश सुरु हुनासाथ यो मन्दिर बन्द भएको वज्राचार्य बताउँछन् । पृथ्वीनारायण शाहले वि.सं. १९२६ मा कान्तिपुर विजय गरेका थिए । कान्तिपुर विजय गरेपछि मसानचोक छेउमा बसेका थिए । पछि नौतले दरबार बनाएर सरेका थिए । नेपाल एकीकरण गरेपछि यहाँ प्रचलित सबै परम्परालाई पृथ्वीनारायण शाहले अंगीकार गरेका थिए । आगम्छेमा नछिर्ने, कुमारी रथयात्रालाई निरन्तरता दिनेलगायत सांस्कृतिक क्रियाकलापमा कुनै बाधा गरेका थिएनन् । आफ्ना कुनै संस्कृतिमा हस्तक्षेत्र नगरेकै कारण यहाँका नेवार समुदायले शासन सत्ता परिवर्तनलाई सजिलै स्वीकारेको इतिहासकार बताउँछन् ।


यसको निर्माण प्रताप मल्लले गरेका थिए । शाहकालमा भित्र नछिरे पनि बाहिर भागमा भने शाहवंशमा पनि केही काम भएका थिए । यस मन्दिरको बुइँगलको सानो घण्टामा अभिलेख पनि छ । अभिलेखअनुसार यसमा घण्टा गीर्वाणयुद्धविक्रम शाह र सुवर्णप्रभावदेवीले वि.सं. १८५७ मा चढाएका थिए ।


मन्दिरका टुँडाल पनि कलाकृतिले भरिएका छन् । यहाँ शैव सम्प्रदायका देवीदेवताको चित्र अंकित छन् । मन्दिरका केही थप विशेषता छन्, जुन धेरै मन्दिरमा छैनन् । छानाको कुनाकुनामा कुँपा बनाइएका छन् । कुँपाको स्वरूप मयूरको जस्तो छ । छानाको मुनि चार सुरमा दुई–दुईवटा कुँसल जोडिएका छन् । मन्दिरको टुप्पाको गजुर पनि विशेष किसिमको छ । गजुर कलशको आकारको छ । धातुको सानो देवल जस्तो पनि देखिन्छ गजुर । यस्तो गजुर पनि मन्दिरमा बिरलै भेटिन्छ । पाटनको कृष्ण मन्दिरमा यस्तै गजुर प्रयोग भएको छ । सम्भवत: यस्तो गजुर कृष्ण मन्दिर र आगम्छे मात्रै छ ।


गोप्य मन्दिरलाई बनाउन विदेशीलाई दिन नहुने स्थानीयको मागलाई सरकारले सुनेको छैन । हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार आगम्छे, जगन्नाथ र शिव मन्दिर गोप्य मन्दिर हुन् । यहाँ तान्त्रिक विधिबाट पूजा गरिन्छ । यो मन्दिरमा मल्ल राजाका सबैभन्दा पुरानो अभिलेख छ । यहाँ महेन्द्र मल्लको वि.सं १६१९ को अभिलेख छ । वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्र गरी चार देवताको संयुक्त मूर्ति छ यहाँ । यी चारै देवताको संयुक्त रूपलाई चतुर्मूर्ति विष्णु भनेर चिनिएका छन् । मूर्ति प्रस्तरको हो ।


मन्दिरको भित्रको भित्तामा जगन्नाथ, शुभद्रा र बलरामको मूर्ति छ । दुईतले यो मन्दिरमा तल्लो तलामा चारैतिर लहरै ३/३ ढोका छन् । ती तीनमुखेमध्ये बीचको ढोका काठको खापा हालेर खोल्न नमिल्ने बनाइएको छ । अरू दुई ढोका वज्र लगाएर टालिएका छन् । बीचको ढोकाको खापामा महादेवको चिह्न राखिएका छन् । त्रिशूल र तीन आँखा बनाएर महादेवको चित्र अंकित गरिएका छन् । टालिएका ढोकामा तीनकुने विवर राखिएका छन् ।


विवरलाई शाक्त समुदायको देवीको प्रतीक मानिन्छ । यो मन्दिर स्त्री र पुरुषको रतिलीला भएको मन्दिरका रूपमा पनि प्रख्यात छ । वैष्णव र शैव सम्प्रदायका देवता र तान्त्रिक विधिबाट पूजा गरिने मन्दिरमा यस्ता रतिलीलाका काष्ठकला देखाइएका हुन्छन् । मन्दिरमा वज्र नपरोस् र भूतप्रेतलगायतले दु:ख नदिऊन् भनेर यस्ता चित्र बनाउने गरिएको हो ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT