कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

काठका ठेकी बिक्नै छाडे

तेह्रथुम — परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानले समेत प्लास्टिक र धातुका सामान प्रयोग गर्न थालेपछि काठबाट कुँदेर बनाइएका ठेकीलाई बजार पाउन समस्या भएको छ । बजारमा ठेकी बिक्री नै हुन छाडेपछि चुँदाराको व्यवसाय समेत संकटमा परेको छ ।

काठका ठेकी बिक्नै छाडे

दुुहुना गाई भैंसी पालेका किसानले दूध जमाएर दही बनाउन र मोही पार्नका लागि प्रयोग गर्ने ठेकीको स्थान पछिल्लो समय प्लास्टिक र धातुबाट बनेका सामानले लिएको छ । ठेकीसँगै काठबाट बनाइएका अन्य सामान बजारमा बिक्री हुन छाडेपछि चुँदाराको पुख्र्यौली पेसा समेत संकटमा परेको काठका सामान बनाउँदै आएका धनकुटा नगपालिका १ हिलेका राजकुमार लुवागुनले बताए ।


उनको परिवार लामो समयदेखि काठका सामान बनाएर धनकुटासहित तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा लगेर बिक्री गर्दै आइरहेको छ । यी जिल्लाका ग्रामीण बजारमा समेत ठेकी बिक्रीमा कमी आएको उनले बताए । केही वर्ष अघिसम्म विभिन्न जातका काठबाट बनाएका ठेकी, दुधेरा, डाड, हर्पे, तोङवालगायतका सामानको माग निकै आउने गथ्र्यो । गाउँगाउँमा लाग्ने हाट बजारमा काठका ठेकी सहितका सामानले निकै राम्रो मूल्य पनि पाउथ्यो । गाई भैंसी पाल्ने किसानले दूध दुहेर दही जमाउने र मोही पार्नका लागि काठकै ठेकी प्रयोग गर्थे ।


किसानका घरमा दुई चार वटा काठका ठेकी राखिएका हुन्थे । तर अहिले अवस्था त्यस्तो छैन । तिनै किसानका घरमा दूध दुहुने र दही जमाएर मोही पार्ने सबै समान प्लास्टिक र सिल्भरका छन् । हलुका, लामो समय टिकाउ हुने, सस्तो र सफा गर्दा पनि चाँडै सफा हुने यस्ता सामानले काठका ठेकी लगायत सामानलाई बिस्थापित गरेको छ ।


ठेकीसँगै घिउ राख्ने हर्पे, तोङवा, चौउठा लगायत सामग्रीको पनि किनबेच धेरै घटेको यसको व्यवसायमा लाग्नेहरूले बताएका छन् । पानीको बेग तीव्र भएको खोला किनारमा मेसिन राखेर चुँदाराले काठ कुदेर यस्ता सामान बनाउने गरेका थिए । तर अहिले यी स्थानमा पनि चुँदारा देखिँदैनन् ।


गाई भैंसीको दूध जमाएर दही बनाउनका लागि काठका ठेकी धेरै राम्रो भए पनि जहाँसुकै नपाउँदा प्लास्टिक र सिल्भरका सामानबाट काम चलाउनु परेको छथर गाउँपालिका २ फयाकका किसान भुपाल कार्कीले बताए । चुँदाराले दार, कटहर, खिर्रो, सिरीस, खमारी, ओखर, कागभलायो, तिल्केनी लगायतका रूखका काठबाट ठेकी लगायतक सामान बनाउने गरेका थिए ।


सरकारी र सामुदायिक वनमा यस्ता रूख काट्न नपाइने र गाउँघरका किसानले गोलीयाका रूपमा व्यापारीलाई रूख बिक्री गरिसकेकाले राम्रा र ठूला ठेकी बनाउन यी प्रजातिका काठसमेत नपाइने गरेको ताप्लेजुङबाट तेह्रथुमको खोरुङगा चुँदारा शंकर विश्वकर्माले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?