१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

शिक्षणमा प्रयोगात्मक विधि

शैक्षिक सामग्रीको प्रयोगबाट पठनपाठन गराउँदा सक्रिय भएर लाग्ने र प्रस्ट बुझ्ने
पुरानो शैलीले एकाहोरो पढाइ राख्दा बालबालिका दिक्क हुने, अल्छी मान्ने र बिर्सिइहाल्ने
आनन्द गौतम

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका ५ इखावुको सुनदेवी माध्यमिक विद्यालयका शिक्षक राजु लिम्बूले कक्षा ७ का २८ विद्यार्थीलाई चार समूहमा विभाजन गरे । उनीहरूलाई चिउरा हालेको प्लास्टिकका खोल, गिटीजस्तो डल्ला डल्ला ढुंगा, गोठे मल, पतझर र बालुवा ल्याउन अघिल्लै दिन भनिएको थियो ।

शिक्षणमा प्रयोगात्मक विधि

विद्यार्थीले गर्नुपर्ने काम थियो ‘फूल खेती’ । सेतोपाटीमा फूल खेतीका प्रकारका विषयमा लेखेका उनले प्रत्येक विद्यार्थीलाई डेस्कको पछिल्तिर उभिन भने र आफू अगाडिको डेस्कमा प्लास्टिकको खोल राख्न लगाए । गोलो बनाएर राखिएको खाली प्लास्टिकलाई पञ्चिङ मेसिनले प्वाल पार्न लगाए ।


कतिपयले झिरको प्रयोगबाट प्लास्टिक दुलो पारे । प्लास्टिकमा सबैभन्दा पहिला गिटी हाल्न लगाए । त्यसको माथिबाट जंगलमा संकलन गरिएको पतझर हालियो । पतझरको माथिबाट मात्रा मिलाएर माटो हाल्न लगाइयो । त्यसपछि गोठेमल । अब फूलका बिरुवा रोपेपछि सबैभन्दा माथि बालुवा छरियो ।


यसलाई दह्रो बनाइराख्नका लागि कडा धागोले प्लास्टिकको बीचमा बाँध्न लगाए । बीच भागमा नबाँधे फुट्ने सम्भावना हुने भएकाले ठीक बीच भागमा बाँधेर राख्नुपर्ने उनले विद्यार्थीलाई सुझाए । त्यसपछि यसको उपयोगिताबारे व्याख्या गरे । राजुका अनुसार प्वालको विशेष महत्त्व छ ।


प्वाल पारिएन भने फूलका लागि हालिएको पानी हानिकारक भएर बस्छ । बिरुवाले जति पानी सोस्छ त्यो बाहेकको पानी फेदमा गएर बस्छ र त्यसले जरा र काण्डको भाग कुहाउँछ । प्वाल पनि भयो र गिटी पनि हालियो भने गिटीले पानीलाई फिल्टर गरेर बाहिर पठाउँछ ।


माथिल्लो भागमा हालिएको बालुवाले पानी सोस्न सहयोग गर्छ ।


माटोमाथि पानी हाल्दा हिलो माटो बाहिर उफ्रन्छ र फोहोर बनाउँछ । बालुवाले त्यो फोहोर नियन्त्रणमा पनि सहयोग पुर्‍याउँछ । त्यसपछि मौसमअनुसार प्रत्येक दिन वा बिराएर पानी हालेमा फूल राम्ररी सप्रने उनले विद्यार्थीलाई सिकाए । प्रयोगात्मक विधिबाट बनाइएको फूललाई कक्षा कोठाको बाहिर सजाउन लगाइयो । जुन विद्यार्थीको समूहअनुसार आफूले चिन्नेगरी राखियो । कक्षा २ का विवेक लिम्बू पनि यसरी नै कक्षा चलाइरहेका थिए ।


१३ जना भएको कक्षा ३ मा उनले विद्यार्थीलाई जनही नौ गोटी बोक्न लगाए । कक्षाको सुरुमा उनले लय हाल्दै गाउन लगाए । ‘हाम्रो बाजेको गोठमा पाँचवटा गाई पालेका छन् । तल्लो घरको बाजेबाट दुईवटा गाई किनेर ल्याउनुभयो । जम्मा कति भयो ?’ लय हालेपछि सुरु भयो प्रयोगात्मक विधि ।


पाँचवटा गाईभन्दा त्यत्तिकै संख्यामा गोटी छुट्याएर राख्नुपथ्र्यो । त्यसपछि दुईवटा किनेकोमा दुईवटा छुट्याउनुपयो । अन्तिममा कपीमा पाँच जोड दुई गराए र सात बनाए । गाउँकै बाजे, उनीहरूले नै पालेको गाई र आफ्नै वरिपरि पाइने ढुंगाको उदाहरण दिँदा विद्यार्थीले सजिलै बुझ्ने भएकाले यो विधि प्रयोग गरिएको विवेकले बताए ।


‘थपेको एकै ठाउँमा भेला हुनु जोड र हटाउनु, निकाल्नु घटाउ हो भनेर बुझाउन सजिलो हुन्छ,’ उनले भने, ‘यस्तो विधिबाट विद्यार्थी पनि सक्रिय भएर लाग्छन् ।’ राजु र विवेक मात्रै नभएर लिला लिम्बूको कक्षा पनि उस्तै थियो । तराईमा हुने गर्मी र पंखाको विषयमा पढाउन उनले बाँसका मसिना चोया बनाएर ल्याएकी थिइन् ।


ती चोयालाई हम्कने पंखा बनाउनुपर्ने थियो । पाँच कक्षाका विद्यार्थीलाई दुई समूहमा विभाजन गरेकी उनले सुरुमा आफूले गरेर देखाइन् अनि बालबालिकालाई बनाउन लगाइन् ।


सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको यो विद्यालयमा अधिकांश शिक्षकले शैक्षिक सामग्रीको प्रयोगबाट पठनपाठन गराउँछन् । बनाएर देखाउँदा र उनीहरू स्वयंलाई बनाउन लगाउँदा सक्रिय भएर लाग्ने र पाठ सकिदा प्रस्ट भएर बुझ्ने भएकाले यो विधि अपनाइएको प्रधानाध्यापक बिशाल राई बताउँछन् । शैक्षिक सामग्री भने दिउँसो एक बजेको समय र बिहान बेलुका पनि बनाउने गरेको शिक्षकको भनाइ छ ।


‘कतिपय शैक्षिक सामग्री बनाउन बालबालिकालाई पनि प्रयोग गछौं, उनीहरूले नै तयार पार्छन्,’ प्रधानाध्यापक राइले भने, ‘सामग्री पनि आफैंले बनाएर प्रयोग पनि आफैंले गरेपछि त पर्फेक्ट नै भइहाल्छन् ।’ आफ्नो स्कुलका विद्यार्थीले हाई काढेर लपनछपन गरेर बस्नु नपर्ने उनको दाबी छ ।


शैक्षिक सामग्री निर्माण र नया अवधारणा बनाउनका लागि ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले पनि सहयोग पुर्‍याउदै आएको छ । पहिलो कञ्चनजंघा हिमालका आरोही बेलायती नागरिक जर्जबेन्डले स्थापना गरेको हिमालयन ट्रस्ट युकेले यसलाई सहयोग पुर्‍याएको छ ।


पुरानो शैलीले एकाहोरो पढाइ राख्दा बालबालिकामा दिक्क हुने, अल्छी लाग्ने र बिर्सिइहाल्ने भएकाले यस्तो विधि उपयुक्त हुने रिड नेपालका प्रबन्धक राजेन्द्र पन्त बताउँछन् । ५६ वटा माध्यमिक विद्यालय रहेको जिल्लाका अधिकांश स्कुलमा यस्तो विधिको प्रयोग हुँदैन । शिक्षकले प्रशिक्षण विधि अपनाउने र त्यो बालबालिकालाई बुझ्न कठिन हुने बालसुबोधिनी माविका पूर्वप्रधानाध्यापक डिल्लीरमण बराल बताउँछन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?