कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पानी आउँदैन बिलमात्रै

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्ला प्रहरी कार्यालयमा पानीको बिल ४० देखि ५० हजार रुपैयाँसम्मको आउन थालेपछि मिटर बिग्रिएको आशंकामा फेरियो । तर, बिल भने घटेन । जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामकुमार सारुमगर पानीभन्दा बढी बिल आउन थालेको बताउँछन् ।

पानी आउँदैन बिलमात्रै

‘पाइपमा पानीको सट्टा हावा आउँदा पनि मिटर घुम्छ, बिल तिर्नु परिरहेको छ,’ उनले भने, ‘हावाको पैसा कसरी तिर्ने ।’ यो महिना ४८ हजारको बिल आएको छ । जिल्ला कारागारमा पनि ४९ हजारको पानीको बिल आयो ।

धारामा पर्याप्त पानी आएपछि हामीले गाडी र ट्याङरबाट पानी बोकेर काम चलाइरहेको उनले बताए । ‘बजेट हुँदैन, यत्रो रकम तिर्न पनि सकिँदैन,’ उनले भने । बिल बढी आएपछि धाराको लाइन काट्ने तयारीमा रहेको उनले बताए ।

एक महिना पानी प्रयोग गरेको बिल ४८ हजारसम्म उठ्नु चानचुने कुरा होइन । तर, सदरमुकाम खाँदबारीमा यो सामान्य भइसकेको छ । पानी वितरणको जिम्मा लिएको खाँदबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानीको मूल्य वृद्धि गरेको छ ।

साउनदेखि लागू हुने गरी उपभोक्ता संस्थाले ५३ प्रतिशत महसुल वृद्धि गरेको उपभोक्ता रामकुमार खत्रीले बताए । उनका अनुसार न्यूनतम ५ युनिटसम्मको प्रतिमहिना १ सय ५० तिर्दै आएका उपभोक्ताले अब २ सय ३० तिर्नुपर्ने छ ।

६ देखि १० युनिटसम्म प्रतियुनिट ४५ रुपैयाँ तिर्दै आएकाले अब ७० रुपैयाँ महसुल बुझाउनुपर्छ । ११ देखि २० युनिटसम्मको प्रतियुनिट १ सय ५ पुर्‍याएको छ । यसअघि प्रतियुनिट ७२ लिइँदै आएको थियो । पानीको मूल्य बढेपछि उपभोक्ता रुष्ट बनेका छन् ।

होटल व्यवसायी र संघसंस्था मूल्य बृद्धिको मारमा परेका छन् । २० युनिटभन्दा माथिका लागि प्रतियुनिट १ सय ५५ प्रतिशत शुल्क वृद्धि गरेको उनले बताए । मासिक ७ सय तिर्दै आएका खत्रीको यो महिना २ हजार ५ सय उठ्यो ।

‘जति बढी युनिट पानी चलाउँदै गयो त्यति नै महँगो छ,’ उनले भने, ‘उपभोक्तालाई मार पर्ने गरी मूल्य वृद्धि भएको छ ।’ अब उपभोक्तासँग हस्ताक्षर अभियान चलाउने र मूल्य वृद्धि रोक्न आन्दोलन गर्ने बताए । पटकपटक मूल्य घटाउन माग गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

उपभोक्ता भने शुल्क वृद्धि गर्नुपर्ने भए पानीको न्यूनतम युनिट बढाउनुपर्ने पक्षमा छन् । प्रतिमहिना २ सय ३० रुपैयाँमा १० युनिटसम्म पानी दिनुपर्ने उपभोक्ता सन्तोष चापागाई बताउँछन् । पानीको महसुल न्यून आय भएका उपभोक्ताले समेत तिर्न सक्ने बनाउनु पर्ने उनले बताए ।

‘न्युनतम ५ युनिटले एक परिवारको आवश्यकता पूरा हुन सक्दैन, उनले भने, युनिट बढाउनुपर्छ, यसरी शुल्क बढाएर कहाँ हुन्छ । एक युनिटमा हजार लिटर पानी गणना गर्ने गरिएको छ ।’

संस्थाले ३ हजार ५ सय ९९ उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य राखेको छ । तर अहिलेसम्म २ हजारमात्र धारा जडान गरिएको छ । ‘जसका कारण उपभोक्ताको ढाड सेकिएको छ, उनले भने, लक्षित उपभोक्तालाई पानी वितरण गरे मूल्य बढाई राख्नुपर्ने थिएन ।’

आधा उपभोक्तालाई मात्र पानी वितरण गर्दा यस्तो हालत भएको उनले बताए । ‘संस्थाले धेरै स्थानमा धारा वितरण गरे पनि मिटर जडान नगर्दा पानी त्यसै खेर गइरहेको पाएका छौं, उनले भने, ‘पहिला त्यो नियन्त्रण गर्नुपर्छ, अनि शुल्क बढाउनु पर्छ ।’ संस्थाले १५ वर्षसम्म २४ सै घन्टा उपभोक्तालाई पानी उपलव्ध गराउने आश्वासन दिए पनि दैनिक पानी नआएको उनले बताए ।

आयोजना निर्माणको चरणमा पटकपटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमति गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राईले बताए । शुल्क वृद्धि नगरिए थप ऋण नदिने भएपछि शुल्क बढाइएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?