बसपार्कमा शौचालय छैन

भोजपुर — सदरमुकाम रहेको बसपार्कमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूलाई समस्या हुँदै आएको छ । ‘यात्राभर शौचालय बस्न पाइन्न न त सौच गर्ने कुनै समय र अवस्था नै हुन्छ,’ यात्रु पर्शुराम ओझाले भने, ‘बसपार्क ओर्लनसाथ नजिकका होटलमा लाइन लागेर बस्नुपर्छ । कतिपय होटल व्यवसायीले त जानै दिँदैनन् ।’

बसपार्कमा शौचालय छैन

यो समस्या यहाँको मात्र हैन । जिल्लाका अधिकांश क्षेत्रमा रहेका बसपार्कमा शौचालय छैनन् ।

जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयले पूर्ण सरसफाइ अभियानअन्तर्गत स्थानीय तहसँगको साझेदारीमा ४० प्रतिशत लगानी र खानेपानी तथा ढल निकास विभागको ६० प्रतिशत लगानीमा सार्वजनिक शौचालय बनाउने प्रावधान उल्लेख गरे पनि पौवादुङ्मा गाउँपालिका ३, तिवारीभञ्ज्याङ बस पार्क बाहेक अन्य बसपार्कमा एउटा पनि सार्वजनिक शौचालय बनेको छैन ।

धनकुटाबाट भोजपुर हुँदै खोटाङ जोड्ने मध्य पहाडी लोकमार्गअन्तर्गत प्याउली, तिवारीभञ्ज्याङ, पानीट्याङकी, देउराली, हटियालाइन, बलौटे र अन्नपूर्णमा बस स्टेसनमध्ये तिवारीभञ्ज्याङ र निर्माण हुने प्याउली बस स्टेसन बाहेक अन्यमा सार्वजनिक शौचालयको व्यवस्था छैन ।

सदरमुकामका ३ वटै बस स्टेसनमा जग्गा नपाएपछि सार्वजनिक चर्पी निर्माण गर्न नसकिएको जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय भोजपुरका सूचना अधिकारी खड्गबहादुर पौडेल बताए । उनका अनुसार ती बस स्टेसनमा नगरपालिकाले नै साझेदारी लिन नमानेपछि सार्वजनिक शौचालयका लागि जग्गा खरिद हुन नसकेको हो ।

शैचालयका लागि नगरपालिकाबाटै पहल नभएको र तत्कालका लागि बस पार्क नजिकै दुइटा होटलमा सार्वजनिक चर्पीको प्रबन्ध मिलाइएको भोजपुर बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले बताए । तत्कालका लागि हटियालाइनको बसपार्क ईश्वर जोशीको जग्गामा भाडा तिरेर राखिएको छ ।

तत्कालीन समयमा भोजपुर गाविसले बस व्यवसायी संघसँग सहमति नै नगरी बसपार्कका लागि कोदारस्थित जग्गा लिइएको अध्यक्ष मोक्तानले सुनाए । उनले तत्कालीन समयमा बसपार्कलाई गाविससँग जग्गा माग गर्दा गाविसले नै समन्वय नगरी बसपार्क त्यहाा पुर्‍याइदिएको बताए । नगरपालिकाका मेयर कैलाशकुमार आलेले पटकपटक शौचालय बनाउन अनुरोध गर्दा पनि व्यवसायीले अटेर गरेको बताउँछन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?