कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भण्डारका लागि ‘वेयर हाउस’

अलैंची भण्डारण पहिलो प्राथमिकता
वेयर हाउसमा भण्डारण गरिएको वस्तु बैंकमा धितो राखी ऋण लिन सकिने
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका १ हिलेको टिमुरेमा कृषिजन्य वस्तु भण्डारण गर्न ‘वेयर हाउस’ निर्माण गरिएको छ । वेयर हाउसमा आगामी एक महिनाभित्र अलैंचीलगायत कृषिजन्य वस्तु भण्डार गर्न सकिनेछ ।

भण्डारका लागि ‘वेयर हाउस’

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम, उद्योग वाणिज्य संघ, प्रदेश १ सरकार र नेपाल अलैंची व्यवसायी महासंघको संयुक्त पहलमा ३ करोड १४ लाख रुपैयाँको लागतमा वेयर हाउस निर्माण गरिएको हो ।

वेयर हाउस निर्माणका लागि उन्नति नेपाल कार्यक्रम र वाणिज्य संघ तथा अलैंची व्यवसायी महासंघको ५०/५० प्रतिशतको लगानी रहेको छ भने प्रदेश सरकारको ३० लाख रुपैयाँ सहयोग रहेको निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जनाए ।

आगामी महिनादेखि औपचारिक रूपमा सञ्चालन हुने वेयर हाउसमा अलैंची भण्डारणलाई पहिलो प्राथमिकतामा राखिने भए पनि मासुबाहेकका सम्पूर्ण कृषिजन्य वस्तु समेत भण्डारण गर्न सकिने घिमिरेको भनाइ छ । निजी क्षेत्रसँग पनि सहकार्य गर्न सेयरमार्फत बाटो खुला गरिने लक्ष्य रहेको जनाइएको छ ।

नगदे बाली तथा फलफूल उत्पादनको उर्वर भूमि भए पनि भण्डारण गर्ने उपयुक्त स्थानको अभाव रहेकाले त्यसको अभाव टर्ने निर्माण समितिका सदस्य गौरव कार्कीले बताए । धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित वस्तु भण्डारण स्थलको अभाव भएकाले निर्माण गरिएको वेयर हाउसले त्यसको खाँचो पूर्ति गर्ने कार्कीको ठम्याइ छ ।

वेयर हाउसमा जेनेरेटर, डी हिमिनिटी फायर, हिमिनिटी फायर लगायतका प्रविधि जडान सकिएको जनाइएको छ । असोज दोस्रो साताभित्र ‘अप्रेसन’ थालिने निर्माण समितिका संयोजक घिमिरेले बताए । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष इन्द्र तितुङले उच्च परिमाणमा कारोबार हुने अलैंचीको व्यापार वेयर हाउस निर्माणपछि अझ फस्टाउने बताए । वेयर हाउसमा भण्डारण गरिएको वस्तु बैंकमा धितो राखेर व्यवसायीले ऋण समेत लिन सक्ने छन् ।

भण्डारण गरिएको वस्तु सुरक्षित हुने र ऋण लिएर व्यवसायमा लगानी गर्न सकिने भएकाले व्यवसायी उत्साहित छन् । ‘वेयर हाउस निर्माणबाट हामी निकै हौसिएका छौं’, अलैंची व्यवसायी महासंघ अध्यक्ष तितुङले भने, ‘यो पहिलै हुनु पथ्र्यो, ढिलै भए पनि उत्साहित छौं ।’

वेयर हाउस व्यवस्थापकले वार्षिक रूपमा कम्तीमा ४८ लाख रुपैयाँ मुनाफा गर्न सक्ने अनुमान गरेको दाबी गरेको छ । कृषि क्षेत्रका लागि ठूलो लगानीमा थालिएको कार्य सकारात्मक रहेकाले स्थानीय स्तरबाट समेत आवश्यक सहयोग गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । सुरक्षा आवास, कार्यालय लगायत वेयर हाउसको क्षेत्रफल पाँच रोपनी छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?