कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

इस्कुसको मुन्टाबाट बढी कमाइ

विप्लव भट्टराई

इलाम — कोल्बुङका कमल गुरुङ दिनहुँ कुटो कोदालो लिएर घरबारी नचाहरेको धेरै भयो । घरबारीभरि स्कुसको खेती थालेपछि अब उनको परिवारले नियमित खनिखोस्री गरेर मकै आलुजस्ता बालीको स्याहार गर्नु परेको छैन ।

इस्कुसको मुन्टाबाट बढी कमाइ

बरु ती बालीभन्दा स्कुसको टुप्पाबाट नै धेरै आम्दानी लिन सकेका छन् उनले । छिमकी प्रेमराज गुरुङ पनि स्कुसले सुखका दिन आएको स्विकारछन् । जरा खनेपछि एकपटक मल लगाउने र गोड्ने गरेपछि वर्षभरिलाई नियमित आम्दानीको स्रोत हुने उनले बताए । ‘जरा र फलको आम्दानी त छँदैछ,’ उनले भने, ‘नियमित टिप्दा मात्रै पनि घर खर्च मत्र हैन अन्य काम गर्न पनि पुग्दो रहेछ ।’

उनले १५ रोपनी जमिनमा स्कुस लगाएका छन् । हरेक साता उनी ३ हजार रुपैयाँसम्मको टुप्पा बिक्री गर्छन् । मेची राजमार्गले छोएको यो गाउँका अधिकांशले परम्परागत तरकारी बाली भए पनि व्यावसायिक ढंगले उत्पादन गरेर श्रमको वचत त गरेकै छन् मनग्ये कमाई पनि गर्दै आएका छन् ।

फल, जरा मात्र नभएर बोनसमा स्कुसको मुन्टाले नै प्रशस्तै आम्दानी दिन थालेपछि मेची राजमार्ग आसपास र सडक यातायात पुगेका अधिकांश स्थानमा स्कुसको खेती बर्सेनि थपिंदै गएको छ । पशुपालनमा समेत अग्रणी यो स्थानमा स्कुसको पात पनि उत्तिकै उपयोगी बनेको छ । खोलेका लागि स्कुसको पात पोसिलोसमेत हुने भएकाले कृषकले खेर फाल्दैनन् ।

५० रोपनीभन्दा धेरै जमिनमा स्कुस लगाउने कृषक उल्लेख्य छन् । स्कुसकै कमाइले जग्गा जोड्ने, घर बनाउने र आधुनिक शैलीको जीवनयापन गर्ने उल्लेख्य छन् । व्यावसायिक ढंगले स्कुस लगाउनेमा रोङ गाउँपालिका र सूर्योदय नगरपालिका अगाडि छ । यी गाउँमा एक सिजनको करोडभन्दा धेरै आम्दानी हुने अनुमान छ । स्कुसको मुन्टा स्थानीय बजारमा पनि राम्ररी खपत हुन्छ भने तराईका बजारमा हारालुछ हुन्छ ।

विषादीको मात्रा नहुने र खाँदा मीठो भएकाले बर्खे यो तरकारीको बजार पनि ह्वात्तै बढेको हो । स्कुसको कमाइबाट सफल बन्नेमा सूर्योदय नगरपालिका १४ की हेमकुमारी सुवेदीको परिवार पनि हो । उनले स्कुस र सागसब्जी बिक्रीबाटै घडेरी किनेर २ तले पक्का घरसमेत बनाएकी छन् । यो गाउँबाट एकै सिजनमा १ करोड रुपैयाँभन्दा धेरै मुन्टा बिक्री हुन्छ ।

यो गाउँका १ सय जना जति कृषकले स्कुसको मुन्टा व्यावसायिक ढंगले उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । मुन्टाको चैतदेखि नै उत्पादन सुरु हुन्छ । मुख्य गरी जेठदेखि भदौसम्म यसको उत्पादन धेरै हुन्छ । दुई दिनमा नै टिप्न लायक हुने भएकाले कृषकको नियमित काम नै मुन्टा टिप्ने हुने गरेको छ । लक्ष्मीपुरको पोखरी आसपासबाट मात्रै दैनिक तीन वटा पिक अप भ्यानमा मुन्टा गाडीमा जान्छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?