झापामा एक व्यवसायीको हत्या 

अर्जुन राजवंशी

दमक — दमकका एक व्यवसायीको हत्या भएको छ । दमक नगरपालिका ६ मा रेडिमेट कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । 

कमल गाउँपालिका–६ मंगलबारे घर भएका पौडेलको शव मंगलबार बिहान गौरीगञ्ज–६ देवीगञ्जस्थित नेपाल–भारत सीमा नजिक भेटिएको थियो। बिहान ७ बजेतिर गाईवस्तु बाँध्न गएकाहरुले खेतको पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Yamaha

पौडेलको हत्यामा संलग्न रहेको आशंकामा गौरीगञ्ज–६ का कपडा व्यापारी २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

पौडेलको घाँटी, छाती, पाखुरा गरी शरीरको विभिन्न भागमा गहिरो चोट रहेको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रहरीका अनुसार व्यापारी पौडेल सोमबार बेलुकादेखि बेपत्ता थिए। सोमबार बेलुका ५ बजेतिर पसल बन्द गरेर श्रीमती दीपासँगै ग्राहकसँग पैसा उठाउन दमकबाट गौरीगञ्ज झरेका थिए।

घटनामा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ।

प्रकाशित : भाद्र २६, २०७५ १३:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

महिला हिंसामाथि ‘कथा काठमाडौं’

अर्जुन राजवंशी

दमक — सपना साकार गर्ने नाममा आफैंलाई समाप्त गर्नेहरूको कथा समेटेर ‘कथा काठमाडौं’ बनाएको सञ्चारकर्मी एवं फिल्म निर्देशक संगीता श्रेष्ठले बताएकी छन् । शीर्षक ‘कथा काठमाडौं’ भए पनि फिल्ममा काठमाडौं बाहिरका युवायुवतीको कथालाई प्रस्तुत गरेको बताइन् ।

असोज १२ देखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारप्रसारका लागि युनिट झापा आएको छ । दमकमा शनिबार पत्रकार सम्मेलनमा श्रेष्ठले फिल्मको दृश्यका बारेमा केहीले आलोचना गरे पनि त्यो अहिलेको काठमाडौंको वास्तविकता भएको तर्क गरिन् ।


‘यो फिल्मले वर्तमान नेपाली समाजमा बढेको महिला हिंसा रोक्न मद्दत गर्छ,’ उनले भनिन्, ‘आफ्नो सपना पूरा गर्ने नाममा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुराको ज्ञान बाँड्छ ।’ विभिन्न सपना र आकांक्षा बोकेर काठमाडौं छिरेका सबै युवायुवतीको सपना पूरा भएका छन् कि छैनन्, त्यो क्षमता काठमाडौंसँग छ कि छैन, विभिन्न जिल्लाबाट काठमाडौं छिरेका युवायुवतीलाई काठमाडौंका मान्छेले कसरी प्रयोग गर्न खोज्छन् भन्ने प्रश्नको जवाफ ‘कथा काठमाडौं’ ले दिने निर्देशक श्रेष्ठले बताइन् ।


कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठको ‘कथा काठमाडौं’ डेब्यु फिल्म हो । यसअघि उनले टेलिफिल्म ‘कथा प्रेमका’ निर्देशन गरेकी थिइन् ।


नायक प्रमोद अग्रहरीले उज्यालो खोज्ने नाममा अँध्यारोमा फसेकाहरूको कथा समेटिएकाले फिल्म सफल हुने विश्वास जनाए । उनले विगतमा यस खाले कथा फिल्महरूमा आए पनि उनीहरूलाई अब कसरी बचाउने, कसले बचाउने भन्ने विषय यो फिल्ममा मात्र खोजिएको दाबी गरे ।


आहाना फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा प्रियंका, प्रमोद, आयुष्मान देशराज जोशी, सन्जोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायतको अभिनय छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT