हराउँदै तीजको मौलिकपन
तेह्रथुम — नेपाली महिलाले धूमधामकासाथ मनाउने हरितालिका तीज पर्वको मौलिकपन अचेल हराउँदै गएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दु:खसुख मिसिएर तीजका भाका गुञ्जन्थे । अचेल यस्तो छैन । आधुनिक गीतले ठाउँ लिएका छन् ।
‘तीज आयो भन्छन्, सबै माइत जान्छन्, मै चेली अभागिनी कसको माइत जाम..’ पुरानो यो गीत अचेल सुनिँदैन । ‘उहिले दर खाने र व्रत बस्ने दिनमात्र तीज मनाइन्थ्यो । घरमा चेलीबेटी बोलाइन्थ्यो, एक माना घिउ खन्याएर भात पकाइन्थ्यो,’ लालीगुराँस नगरपालिका सुङनामकी ७६ वर्षीया शोभादेवी बरालले भनिन्, ‘आधा रात उठेर पेटभरि खाने अनि झिसमिसेमै खिर खाने चलन थियो ।’
सासूबुहारीका बुहार्तन तथा थिचोमिचो अनि विरह, वेदनाहरू मिसिएका गीतले हरितालिका तीजमा पहिले बेग्लै रौनक थप्ने गरेको उनी बताउँछिन । तीजको भाकामा चेली माइत जान नपाएका कुरा, सासूससुरा, लोग्ने तथा आफ्नै बुबाआमासँगको गुनासो प्रशस्तै हुन्थ्यो । चेलीहरू आपसमा भेला भएर आफूले वर्षभरि भोगेका दु:ख पोख्ने माध्यम तीजलाई बनाउँथे ।
अधिकारकर्मी गीता सिवा तीज दु:खसुख साट्ने माध्यम मात्रै नभएर विभेदको विरोध गर्ने माध्यम पनि भएको बताउँछिन् । उनका अनुसार पहिले गीतबाट सामाजिक असमानताको चिरफार गर्ने र विभेद खोतल्ने काम हुन्थ्यो । घरमा भेला भएर तीजको दर खानुको सट्टा सामूहिक रूपमा होटलहरूमा भेला भएर मनाउने चलन बढेको छ । म्याङलुङ नगरपालिकाकी उपप्रमुख पार्वतीसानु डाँगी तीज पर्वलाई आफ्नै बुबाआमाले हेला गरे भने महिलाका लागि मनको बह फुकाउने अवसरका रूपमा समेत लिन्छिन् ।