३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विद्यालयका शौचालय प्रयोगविहीन

उदयपुर/दमक — कटारी नगरपालिकाको लेखानीदेखि बेलकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय बनेका हुन् । ती शौचालय पानी नहुँदा प्रयोगविहीन भएका छन् ।

विद्यालयका शौचालय प्रयोगविहीन

विद्यालय गएका विद्यार्थी शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर शौच गर्न बाध्य छन् । उदयपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै विद्यालयमा शौचालय निर्माण गरिएको हो । स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरेर झन्डै चार वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।


पानीको व्यवस्था नगरी हचुवाका भरमा खुला दिसामुक्त अभियान चलाइँदा विद्यार्थीसँगै सर्वसाधारणले समस्या भोग्नुपरेको छ । शौचालय प्रयोग नहुँदा सरसफाइका क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ । महाभारत पहाडमा रहेका अधिकांश विद्यालयमा शौचालय पनि छन् । तर त्यस क्षेत्रमा पानी अभावमा अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन छन् । वर्षौंदेखि विद्यालयमा पानीको समस्या उस्तै छ । बर्रेको छिन्दरङखोलामा रहेको एक मात्र उच्चमाविमा पानी अभावमा तिर्खा मेटन समेत समस्या छ ।


‘शौचालय जान त कुरै छोडाैं,’ स्थानीय नरेन्द्र कार्कीले भने, ‘विद्यायलमा पिउने पानीकै समस्या, शौचालय प्रयोगका लागि त पानी व्यवस्थै भएको छैन ।’ विद्यालयका सहयोगीलाई पानी बोकेर शिक्षक–विद्यार्थीलाई खुवाउनकै लागि राखिएको उनले बताए ।


विद्यायका सहयोगी वर्षौंदेखि पानी बोकिरहेका छन् । उनले दैनिक ६ गाग्री पानी बोकेर विद्यालयका शिक्षक विद्यार्थीलाई खुवाइरहेका छ । विद्यालय नजिकै पानीको स्रोत नहुँदा एक घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ । पिउने पानीको व्यवस्था भए पनि शौच गर्न पानी नहुँदा शिक्षक विद्यार्थी जंगल जानुपर्ने बाध्यता छ । झन्डै डेढ दशकदेखि विद्यालयमा पानीको समस्या रहेको स्थानीयले वताए ।


‘शौचालय त बनाइए पनि पानी अभावमा प्रयोग गर्न समस्या छ,’ दुर्गम ताप्ली गाउँपालिकका शिक्षक रोहित मण्डलले भने, ‘पिउने पानी नहुँदा समस्या भोग्नु परेको अवस्थामा शौचालय प्रयोगका लागि पानी कसरी व्यवस्था गर्न सकिन्छ र ।’


पश्चिम उत्तरका दर्जनौं विद्यालयमा पनि शौचालय बनाइएको छ । बर्रे, सोरूङछबिसे, हर्देनी, लिम्पाटार, बराहा, जाते, नामेटारा, ओख्ले, साउने, पन्चावती, रिस्कु लगायतका विद्यालयमा झन्डै ५ वर्षयता शौचालय बनिसेका छन् । तर ती क्षेत्रमा पनि पानी नहुँदा प्रयोगबिहीन बनेको शिक्षकले बताएका छन् ।


विद्यार्थीलाई समस्या
झापाको दमक नगरपालिका ७ स्थित पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीलाई सुख्खा याम र हावा चलेको समयमा पढ्न निकै गाह्रो हुन्छ । पूर्वपट्टिका स्थानीयको शौचालयको गन्धले विद्यालयलाई प्रत्यक्ष असर पुर्‍याउँदै आएको छ । स्थानीय बासिन्दाले नजिकैको रातेहोली पैनीमा शौचालयको ढल मिसाएका छन् । शौचालयको सबै फोहोरमैला पैंनीमा मिसिने गरेकाले पैंनीसँगैको विद्यालय प्रभावित बनेको हो ।


‘सुख्खा याम र पूर्वको हावा चल्दा शौचालयको गन्धले कक्षा कोठामा बसिनसक्नु हुन्छ,’ शिक्षक बलबहादुर कार्कीले भने, ‘त्यो गन्ध सहेर न विद्यार्थीले पढ्ने अवस्था हुन्छ । न हामीलाई पढाउने ।’ उनले समस्या समाधानका लागि स्थानीयसँग पटकपटक छलफल गरे पनि समाधान हुन नसकेको बताए ।


विद्यालयमा ९ सय २५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा छात्रका लागि ५ कोठाको र छात्राका लागि ३ कोठाको शौचालय छ । तर, सरसफाइको अभावमा छात्रको ५ मध्ये तीन वटा कोठा प्रयोग गर्न सकिने अवस्थामा छैन । छात्रहरू दिसा लागे जेनतेन चालु अवस्थामा रहेको एउटा कोठा र पिसाब संयुक्त कोठामा गर्दै आएका छन् ।


छात्रले प्रयोग गर्ने शौचालय १० वर्षअघि स्थानीय एक दातृ निकायले निर्माण गरिदिएको हो । त्यसयता आर्थिक अभावमा मर्मत सम्भार गर्न नसकिएको प्रधानाध्यापक विष्णुबहादुर राईले बताए । गौरादह नगरपालिका ६ स्थित जनज्योति माध्यमिक विद्यालयका छात्रका लागि छुट्टै शौचालय छैन । उनीहरूका लागि निर्माण थालिएको दुई कोठे पक्की शौचालय अधुरै छाडिएको छ ।


विद्यालयमा चार कोठाको शौचालय छ । दुई कोठा छात्राले प्रयोग गर्छन् । एक कोठा महिला शिक्षिकाका लागि व्यवस्था गरिएको छ । विद्यालयमा कुल ३ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १५ शिक्षकशिक्षिका छन् । विद्यालयका प्रधानाध्यापक गोपीनाथ नेपालले आर्थिक अभावका कारण छात्र शौचालय बनाउन नसकिएको बताए । उनले आवश्यक बजेटको व्यवस्था गरेर चाडै छात्र शौचालय बनाउने योजना रहेको सुनाए ।


वडाध्यक्ष खड्गप्रसाद पराजुलीले विद्यालयमा छात्र शौचालय नभएको विषयले निकै गम्भीर बनाएको बताए । उनले चालु वर्ष वडा कार्यालयबाट निकासा हुने १ लाख ३४ हजार रुपैयाँले शौचालय निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।


जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रुद्रबहादुर न्यौपानेले समग्र जिल्लाका विद्यालयहरूमा शौचालय र खानेपानीको अवस्था दयनीय रहेको बताए । ‘केही विद्यालयबाहेक समग्र जिल्लाका विद्यालयहरूमा शौचालय र खानेपानीको अवस्था एकदमै दयनीय छ । अहिलेसम्म काम चलाउकै भरमा चलिरहेको छ,’ उनले भने, ‘विद्यालयमा दैनिक जमघट हुने हजारौं विद्यार्थीका लागि शौचालय र स्वच्छ खानेपानी आवश्यक छ भन्ने कुराको तयारी शून्यजस्तै छ ।’

प्रकाशित : भाद्र २७, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?