दूध किसानलाई अतिरिक्त रकम

सहकारीले स्थानीयलाई राहत दिने उद्देश्यले नियमित दूध ल्याउने कृषकलाई प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त रकम दिँदै
गाईको दूध प्रतिलिटर ४२ देखि ४५ रुपैयाँ र भैंसीको दूध ५० देखि ७० रुपैयाँ
कान्तिपुर संवाददाता

सुनसरी — सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरस्थित दुग्ध उत्पादक सहकारी संस्थाले प्रतिलिटर ३ रुपैयाँ रकम थपिदिन थालेको छ । स्थानीयलाई राहत दिने उद्देश्यले सहकारीले साउनदेखि लागू हुने गरी नियमित दूध ल्याउने कृषकलाई अतिरिक्त रकम थपिदिन थालेको हो ।

कृषि विभागले भने किसानलाई राहत दिने भनेर गत वर्षदेखि प्रतिलिटर १ रुपैयाँ अनुदान दिँदै आएको छ । सहकारीका अध्यक्ष हुमरजंग बस्नेतले भने, ‘पछिल्लो समयमा गाई–भैंसीलाई खुवाउने दाना र चोकरको मूल्य बढेकाले दूध उत्पादन लागत बढी भएकाले किसानलाई थोरै भए पनि राहत दिन अतिरिक्त रकम दिन थालिएको हो ।’


सहकारीको सोमबार बसेको सञ्चालक समितिको बैठकले वर्ष दिनसम्म नियमित रूपमा दूध उपलव्ध गराउने सेयर सदस्य कृषकलाई प्रतिलिटर ३ रुपैयाँ थप गरी दिने निर्णय गरेको हो । थपिएको अतिरिक्त रकमले दूध उत्पादन लागत घटाउन मदत पुग्ने बस्नेतले बताए ।

Yamaha


सहकारीले गाई–भैंसीको दूधमा रहेको फ्याट र सोलिड नटफ्याट एसएनएफको आधारमा गाइको दूध प्रतिलिटर ४२ रुपैयाँदेखि ४५ रुपैयाँ र भैंसीको दूध ५० रुपैयाँदेखि ७० रुपैयाँ लिँदै आएको छ ।


सरकारले थपिदिएको प्रतिलिटर एक रुपैयाँ अनुदान र सहकारीले दिने ३ रुपैयाँ अतिरिक्त रकम गरी चार रुपैयाँले थोरै भए पनि दूध उत्पादन लागत घटाउने स्थानीय कृषकहरू जयप्रसाद आचार्य र कृष्णप्रसाद भट्टराईले बताए । उनीहरूले खुसी व्यक्त गर्दै भने, ‘सरकारले अनुदान दिएको भन्दा बढी सहकारीले पो दियो । सरकारले कृषकलाई प्रोत्साहित गर्न अझै थपेर अनुदान दिनु जरुरी छ ।’


सहकारीमा बराहक्षेत्र नगरपालिकाको वडा –८ पर्ने प्रकासपुर, वडा ९ पर्ने राजबास र वडा १० पर्ने सालबन्दीका २ सय ६१ कृषकहरू सेयर सदस्यका रूपमा रहेका छन् । ०४० सालमा विराटनगरको दुग्ध वितरण आयोजनाले दूध संकलन केन्द्रका रूपमा सुनसरीको प्रकासपुरमा स्थापना गरेको दुग्ध संकलन केन्द्रलाई आयोजनाले छाडेपछि ०५० सालमा सहकारीमा दर्ता गरेर स्थानीय कृषकहरूबाट दूध संकलन गर्दै आएको छ ।


बस्नेतका अनुसार ३२ जनाबाट संस्था सुरु भएको संस्थाको २३ हजार रुपैयाँ कारोबाबाट बढेर हाल वार्षिक ३ करोड ९७ हजार ५ सय रुपैयाँको कारोबार हुने गरेको छ । चल अचल पुँजी १ करोड ५० लाख रुपैयाँको छ । उनले भने, ‘सहकारीले यति धेरैको कारोवार गर्छ भनेर त्यस बेला सोचिएको पनि थिएन ।’


सहकारीको हाल दुई तले भवन छ । गाडी छ । चिलिम भ्याट , डेढ कठ्ठा घडेरी, कम्प्युटर डिजिटल प्रविधिबाट दूध नाप्ने उपकरण, दूधमा भएको फ्याट, एसएनएफ हेर्ने प्रविधि समेत छ ।


सहकारीले किसानलाई दूध उत्पादन लगानी घटाउन अतिरिक्त रकम दिए पनि निर्वाध रूपमा दूध बिक्री गर्न सक्ने अवस्था भने अझै वातावरण नभएको बस्नेतले बताए । उनले भने, ‘कतिपय अवस्थामा किसानले जति दु:ख गरेर दूध उत्पादन गरेका छन् ती सवै सहकारीले लिन सकिरहेका छैनौं । सबै दूध लिन नसकेपछि किसानलाई घरैमा घिउ, दही बनाएर प्रयोग गर्न अनुरोध गर्ने गरेका छौं ।’


उनका अनुसार सहकारीले कामधेनु र गोरस डेरी (प्रशोधन कारखाना) सँग दैनिक निश्चित परिमाण दिने भनेर सम्झौता गरेकाले बढी दूध लिन नसकेको हो । उनले भने, ‘एक नम्बर प्रदेशमा पाउडर प्लान्ट स्थापना गरिदिए किसानले आफ्ना गाईभैंसीबाट उत्पादित दूध निर्वाध रूपमा बिक्री हुने र पूर्वमा मिल्क होलिडेको अन्त्य हुने थियो ।’


सहकारीमा दैनिक रूपमा ६ सय लिटर दूध संकलन हुने गरेको लेखापाल जगत कार्कीले बताए । उनका अनुसार आर्थिक वर्ष ०७४/७५ मा सहकारीले किसानबाट २ लाख २३ हजार ७ सय लिटर दूध खरिद गरिसकेको छ । सहकारीले दूध संकलनसँगै घिउ, मही, दही उत्पादन गर्दै आएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिचान फर्काउँदै ‘सगरमाथा प्रवेशद्वार’

डिल्लीराम खतिवडा

उदयपुर — ‘सगरमाथाको प्रवेशद्वार’ को पहिचान बनाएको कटारी बजार सशस्त्र द्वन्द्वताका गुमनाम हुन पुगेको थियो । व्यापार व्यवसायसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ पदमार्ग हँुदै आवजावत गर्ने पर्यटकको चहलपहल नहुँदा सुनसान बनेको थियो ।

त्यस बेला कतिपय व्यापारी पनि पलायन भए । करोडौंको व्यापार गर्ने थोक बिक्रेता कटारी छाडेर हिँडिसकेका थिए । सर्वसाधारणको चहलपहल समेत घटेको थियो । मुख्य सडकका रूपमा रहेको सिद्धिचरण लोकमार्गको पक्की सडक उक्किएर सवारी आवागमनमा समस्या थियो । खोटाङ, सोलु र ओखलढुंगाबाट आउने सर्वसाधारणले बाटो फेरिसकेका थिए ।


अचेल अवस्था फेरिएको छ । आफनो अस्तित्व नै गुमाउने अवस्थामा पुगेको कटारी बजारले विस्तारै गति लिन थालेको छ । सुनकोसी र दुधकोसीमा पक्की पुल बनेपछि ओखलढुंगा, सोलु र खोटाङ आवतजावत गर्नेहरूको एक रातको बसाइ कटारी हुने गरेको छ ।


कटारी बजार क्षेत्रको सरसफाइसँगै खानेपानीको व्यवस्थित हुँदै गएको छ । बजारको भित्री सडक स्तरोन्नति गरिएको छ । बसर्पाकलाई व्यवस्थित गरिएकाले सवारी आवगमन सहज हँुदै गएको छ ।


स्थानीय तहको गठनसँगै कटारी बजार पुन: पुरानो पहिचामा फर्कर्ने जर्मको गरिरहेको छ । ‘पुरानो र नयाँ कटारीलाई फयुजन गरेर आधुनिक कटारी बन्दै छ,’ कटारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘कटारीले चाँडै गुमेको छवि पुन: प्राप्त गर्दैछ ।’ बजारक्षेत्र वर्षदिन भित्रै धुवाँ धुलो रहित सहरका रूपमा विकास गर्ने गरी काम भइरहेको उनले बताए ।


कटारी बजारमा बढेको व्यापारिक चहलपहलले सर्वसाधारणको दैनिक जीवन सहज र सरल बनेको छ । कटारी केन्द्रबाट उदयपुरबासीलाई मात्र होइन, माथिल्लो सगरमाथा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सर्वसाधारणलाई समेत दैनिक उपभोग्य बस्तुको खरिद बिक्री तथा आवतजावतमा सहज हँुदै गएको त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अरुण साहले बताए ।


‘द्वन्द्वको समयमा असुरक्षाका कारण सुनसान बनेको कटारी बजार पुन: व्यापारिक केन्द्रका रूपमा परिवर्तन हुँदै जादैछ,’ बरिष्ठ उपाध्यक्ष साहले भने, ‘नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकाले कटारी बजार आधुनिक व्यापारी केन्द्र हुनेमा स्थानीयले विश्वास लिएका छन् ।’


द्वन्द्व व्यवस्थापनपछि तत्कालीन समयमा सरकारले ग्रामीण सडक निर्माण कार्यलाई उच्च प्राथमिकता दिएका थिए । कच्ची सडक निर्माण भएपछि नगरपालिकको ग्रामीण क्षेत्रका सर्वसाधारणलाई बजारसम्म आवतजावत गर्न सहज भएको छ । उनीहरूका उत्पादनले बजार पाउन थालेका छन् ।


कटारी बजारमा बढेको आर्थिक गतिविधिसँगै यस क्षेत्रका सर्वसाधारणको आर्थिक जीवन स्तरमा सकारात्मक परिवर्तन आइरहेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खडकाले वताए । ‘द्वन्द्वको समयमा असुरक्षालाई प्रमुख कारण देखाउँदै यहाँका व्यापारी पलायन भएका थिए,’ अध्यक्ष खडकाले भने, ‘तर द्वन्द्व व्यवस्थापन भएपछि उनीहरू पुन: यहाँ फर्किएका छन् ।’ जसले गर्दा आफ्नो उत्पादन बजारमा बेचेर जीवनयापन गर्ने किसानलाई समेत धेरै फाइदा पुगेको उनले बताए ।


कटारी बजार र कटारी नगरपालिका क्षेत्रमा अझ आर्थिक गतिविधि बढाउन नगरपालिकाले बृहत् गुरुयोजना तयार गरेको मेयर श्रेष्ठले बताए । ‘गुरुयोजना तयार पारेर काम गरिएकाले बजारको विस्तारसँगै नगरपालिकाको केन्द्र कटारी बजारसँग गाउँलाई जोडिसकिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘वडाका केन्द्रसँग जोडिसकिएको छ, अब गाउँगाउँलाई केन्द्रसँग जोडने गरी चाँडै कामको सुरुवात गरिन्छ ।’


हिमाल, पहाड र तराईसँग जोडिएको कटारी बजार पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवसँग केवुलकारले जोडने गरी काम भइरहेकाले कटारी गुमेको अस्तित्व पुन: प्राप्त गर्ने विश्वस्त रहेको उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT