कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचान फर्काउँदै ‘सगरमाथा प्रवेशद्वार’

डिल्लीराम खतिवडा

उदयपुर — ‘सगरमाथाको प्रवेशद्वार’ को पहिचान बनाएको कटारी बजार सशस्त्र द्वन्द्वताका गुमनाम हुन पुगेको थियो । व्यापार व्यवसायसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ पदमार्ग हँुदै आवजावत गर्ने पर्यटकको चहलपहल नहुँदा सुनसान बनेको थियो ।

पहिचान फर्काउँदै ‘सगरमाथा प्रवेशद्वार’

त्यस बेला कतिपय व्यापारी पनि पलायन भए । करोडौंको व्यापार गर्ने थोक बिक्रेता कटारी छाडेर हिँडिसकेका थिए । सर्वसाधारणको चहलपहल समेत घटेको थियो । मुख्य सडकका रूपमा रहेको सिद्धिचरण लोकमार्गको पक्की सडक उक्किएर सवारी आवागमनमा समस्या थियो । खोटाङ, सोलु र ओखलढुंगाबाट आउने सर्वसाधारणले बाटो फेरिसकेका थिए ।


अचेल अवस्था फेरिएको छ । आफनो अस्तित्व नै गुमाउने अवस्थामा पुगेको कटारी बजारले विस्तारै गति लिन थालेको छ । सुनकोसी र दुधकोसीमा पक्की पुल बनेपछि ओखलढुंगा, सोलु र खोटाङ आवतजावत गर्नेहरूको एक रातको बसाइ कटारी हुने गरेको छ ।


कटारी बजार क्षेत्रको सरसफाइसँगै खानेपानीको व्यवस्थित हुँदै गएको छ । बजारको भित्री सडक स्तरोन्नति गरिएको छ । बसर्पाकलाई व्यवस्थित गरिएकाले सवारी आवगमन सहज हँुदै गएको छ ।


स्थानीय तहको गठनसँगै कटारी बजार पुन: पुरानो पहिचामा फर्कर्ने जर्मको गरिरहेको छ । ‘पुरानो र नयाँ कटारीलाई फयुजन गरेर आधुनिक कटारी बन्दै छ,’ कटारी नगरपालिकका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘कटारीले चाँडै गुमेको छवि पुन: प्राप्त गर्दैछ ।’ बजारक्षेत्र वर्षदिन भित्रै धुवाँ धुलो रहित सहरका रूपमा विकास गर्ने गरी काम भइरहेको उनले बताए ।


कटारी बजारमा बढेको व्यापारिक चहलपहलले सर्वसाधारणको दैनिक जीवन सहज र सरल बनेको छ । कटारी केन्द्रबाट उदयपुरबासीलाई मात्र होइन, माथिल्लो सगरमाथा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सर्वसाधारणलाई समेत दैनिक उपभोग्य बस्तुको खरिद बिक्री तथा आवतजावतमा सहज हँुदै गएको त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अरुण साहले बताए ।


‘द्वन्द्वको समयमा असुरक्षाका कारण सुनसान बनेको कटारी बजार पुन: व्यापारिक केन्द्रका रूपमा परिवर्तन हुँदै जादैछ,’ बरिष्ठ उपाध्यक्ष साहले भने, ‘नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकाले कटारी बजार आधुनिक व्यापारी केन्द्र हुनेमा स्थानीयले विश्वास लिएका छन् ।’


द्वन्द्व व्यवस्थापनपछि तत्कालीन समयमा सरकारले ग्रामीण सडक निर्माण कार्यलाई उच्च प्राथमिकता दिएका थिए । कच्ची सडक निर्माण भएपछि नगरपालिकको ग्रामीण क्षेत्रका सर्वसाधारणलाई बजारसम्म आवतजावत गर्न सहज भएको छ । उनीहरूका उत्पादनले बजार पाउन थालेका छन् ।


कटारी बजारमा बढेको आर्थिक गतिविधिसँगै यस क्षेत्रका सर्वसाधारणको आर्थिक जीवन स्तरमा सकारात्मक परिवर्तन आइरहेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खडकाले वताए । ‘द्वन्द्वको समयमा असुरक्षालाई प्रमुख कारण देखाउँदै यहाँका व्यापारी पलायन भएका थिए,’ अध्यक्ष खडकाले भने, ‘तर द्वन्द्व व्यवस्थापन भएपछि उनीहरू पुन: यहाँ फर्किएका छन् ।’ जसले गर्दा आफ्नो उत्पादन बजारमा बेचेर जीवनयापन गर्ने किसानलाई समेत धेरै फाइदा पुगेको उनले बताए ।


कटारी बजार र कटारी नगरपालिका क्षेत्रमा अझ आर्थिक गतिविधि बढाउन नगरपालिकाले बृहत् गुरुयोजना तयार गरेको मेयर श्रेष्ठले बताए । ‘गुरुयोजना तयार पारेर काम गरिएकाले बजारको विस्तारसँगै नगरपालिकाको केन्द्र कटारी बजारसँग गाउँलाई जोडिसकिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘वडाका केन्द्रसँग जोडिसकिएको छ, अब गाउँगाउँलाई केन्द्रसँग जोडने गरी चाँडै कामको सुरुवात गरिन्छ ।’


हिमाल, पहाड र तराईसँग जोडिएको कटारी बजार पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवसँग केवुलकारले जोडने गरी काम भइरहेकाले कटारी गुमेको अस्तित्व पुन: प्राप्त गर्ने विश्वस्त रहेको उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?