कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि

शिक्षा नियमावली लागू गर्दै योजना बनाउने उद्देश्य
कक्षा कोठामै पुगेर विद्यार्थीसँग छलफल

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ मंगलबार दिउँसो वडा १ खेजेनिम पुगे । गाउँपालिकाका दुई जना साथीसँगै गएका उनले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीको कक्षागत हाजिरी खाता लिए र कक्षा कोठा प्रवेश गरे ।

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि

सबैभन्दा पहिला अन्तिम रोल नम्बर भएकालाई उठ्न भने । उनले हाजिरी खाता अनुसार बिद्यार्थी भए नभएको परीक्षण गरेका थिए । शिशुदेखि १० कक्षासम्मकै कक्षा कोठामा प्रवेश गरेका उनले प्रत्येक विद्यार्थीको हाजिरी मात्रै गरेनन् गणना समेत गरे ।


यही गाउँपालिकाको वडा ५ इखावुको रानी आधारभूत विद्यालयमा भने वडा ३ का अध्यक्ष आइतराम लिम्वू, स्रोत व्यक्ति भीम पौडेल र मनकुमार लिम्बू गएका थिए । १० बजे रानी आधारभूत पुगेका उनीहरूले लाममा राखेर विद्यार्थीलाई एक/दुई भनेर गन्न लगाए ।


त्यसपछि कक्षा कोठामा गएर हाजिर अनुसार विद्यार्थी गणना गरे । हाजिरी खातामा भएका तर विद्यालयमा अनुपस्थित विद्यार्थीका अभिभावकको नाम र भेटेसम्म फोन नम्बर लिए । यहाँ भने शिक्षकलाई बाहिर राखेर शिक्षकहरूको नियमितता, शारीरिक यातना दिने गरेको या फकाएर पढाउने गरेको जस्ता विषयमा कुराकानी गरे ।


कतिपय कुराकानी मोबाइलमा रेकर्ड पनि गरे । विद्यालयबाट शिक्षक र विद्यार्थी दुवैको एक हप्ताको हाजिरी विवरण लिए । शिक्षकको नियमितता नहुने, विद्यार्थी संख्या ढाट्ने जस्ता आरोप लाग्नेगरेको फक्तालुङ गाउँपालिकाका जनप्रतिनिधिले स्कुलस्कुलमा पुगेर आफैंले विवरण संकलनको काम थालेका छन् ।


अध्यक्ष एभेङका अनुसार शिक्षा नियमावली कडाइसाथ लागू गर्न र नयाँ योजना बनाउन विद्यार्थी संख्या यकिन गरिएको हो । २४ गतेदेखि सुरु भएको विवरण संकलनको काम २९ गते सक्ने उनले वताए । त्यही वडाको अध्यक्ष जाँदा सही विवरण आउन नसक्ने भएकाले एउटा वडाको अध्यक्षलाई अर्को वडामा परिचालन गरिएको छ । कार्यपालिका सदस्य समेत परिचालित जनप्रतिनिधिले भदौ ३० गतेसम्म आफूले भेटेका विद्यार्थी संख्या, विद्यालयको भौतिक पूर्वाधारको अवस्था, शिक्षकहरूको उपस्थिति बुझाउनुपर्नेछ । अनुगमनका क्रममा संकलन गरिएको वडाका सबै विद्यालयका विवरण बुझाउन टोली परिचालन गरिएको हो ।


यो गाउँपालिकामा ४३ वटा सामुदायिक विद्यालय रहेका छन् । ३१ गते बिहान बोलाइएको गाउँपालिका शिक्षा समितिको बैठकमा सबै विद्यालयको विवरण सार्वजनिक गर्ने र दिउँसो बस्ने कार्यपालिका बैठकले विद्यालय सुधारसम्बन्धी अवधारणा तय गर्ने एक सदस्यले बताए । कस्तो अवधारणा बनाउने भन्ने विषय भने खुलाइएको छैन ।


वडा ६ को फले, ग्याब्लालाई घुन्सा आधारभूत विद्यालयमा गाभ्ने निर्णय यसअघि नै गाउँपालिकाले गरिसकेको छ । शिक्षा मन्त्रालयले घुन्सामा आवासीय सुविधा दिने भएपछि विद्यार्थी संख्या न्यून भएका यी विद्यालय गाभ्ने निर्णय भएको हो ।


वडा ७ को याङमा आधारभूत विद्यालयलाई ओलाङचुङगोलामा गाभ्ने तयारी गाउँपालिकाको छ । विद्यार्थी संख्या नभएका विद्यालयका शिक्षकलाई अन्यत्र सार्ने र विद्यार्थीलाई सुविधा दिनेगरिको तयारी भएको अध्यक्ष एभेङले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?