गाउँमै दूध अभाव
तेह्रथुम — गाउँमा दूध उत्पादन बढेको छ । स्थानीय बजारका उपभोक्ता भने पैसा तिरेर पनि चाहिए जति दूध किन्न पाइरहेका छैनन् ।
किसानले सीधै सहकारीमार्फत तराईमा रहेका डेरी उद्योगलाई बिक्री गर्ने भएकाले स्थानीय बजारमा अभाव भएको हो ।
पैसा तिरेर पनि बजारमा दूध नपाइएको म्याङलुङ बजारका तेजबहादुर खडकाले बताए । सडक पहँुंच भएका बसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङलुङ, शुक्रबारेलगायत बजारका उपभोक्ताले तीजको दरखाने दिन समेत पर्याप्त दूध पाएनन् । किसान गाउँघरमै खुलेका सहकारी संस्थामार्फत पूर्वी तराईका डेरी उद्योगका व्यापारीलाई दूध बेच्छन् । बजारमा बेच्नुभन्दा सहकारी संस्थामार्फत दूध बिक्री गर्दा किसानलाई बढी फाइदा हुने गरेको दुग्ध उत्पादक जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष बुद्धिमान खुलालले बताए ।
गाउँमा संकलन भएको दूध टयाक्टरमार्फत धनकुटाको सिंधुवा, जोरपाटी र हिले बजार हँुदै पूर्वका धरान, इटहरी र विराटनगरसम्म पुग्ने गरेको छ । दूध उत्पादन, बजारीकरण, गुणस्तर सुधारलगायत तालिम दूध उत्पादक किसानले गाउँमै पाएको छथर २ हमजरजुङका किसान धनवहादुर कटुवालले बताए । जिल्लामा करिब ७ हजारको संख्यामा उन्नत जातका दुधालु गाईभैंसी रहेको अनुमान । दूधको आम्दानीले किसानले गाउँमा बाटो खनेका छन् ।
छोराछोरी बोडिङ स्कुलमा पढाएका छन् । घरजग्गा किनेका छन् । ‘दूध र दूधजन्य पदार्थको बिक्रीबाट किसानको जीवनस्तर फेरिएको छ’ व्यावसायिक गाईपालन कार्यान्वयन समिति फुलेकका अध्यक्ष कमल खडकाले भने ।
लालीगुराँस नगरपालिका ४ चित्रेमा ०४५ सालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूध संकलन गरी चिस्याउने केन्द्र संचालनमा ल्याएपछि जिल्लामा दूध उत्पादक कृषकको संख्या बढेको हो । यहाँ दैनिक जम्मा हुने ३ हजार लिटरभन्दा बढी दूध विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले लैजाने गरेको पशुसेवा कार्यालयका प्रमुख डा. शिवजीप्रसाद दासले बताए ।
पशुपालनलाई व्यावसायिक बनाउन आठ बस्तीमा गाई र भैंसी पालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख दासले बताए । यी बस्तीमा १ हजार ९ सय ७८ गाई र २ हजार ४ सय २२ दुधालु भैंसी किसानले पालेको कार्यालयले जनाएको छ ।