कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

८ विद्यालय ‘नमुना’

अर्जुन राजवंशी

दमक — झापाका आठ विद्यालय ‘नमुना विद्यालय’ बनाउने गृहकार्यमा जुटेका छन् । विश्व बैंकको सहयोगमा नेपाल सरकारले नमुना विद्यालय निर्माण गर्ने योजनाअन्तर्गत छनोट भएका विद्यालय हाल कार्ययोजना बनाउन व्यस्त छन् ।

८ विद्यालय ‘नमुना’

जिल्लामा ३ सय ६५ सामुदायिक विद्यालय छन् । तीमध्ये दमकको हिमालय, गौरादहको प्रगति, कनकाईको कनकाई, बिर्तामोडको महेन्द्र रत्न, मेचीनगरको धुलाबारी, हल्दिबारीको हल्दिबारी, कचनकवलको लक्ष्मीप्रसाद देवकोटा र झापाको डिल्लीराज मावि नमुना विद्यालयका रूपमा छनोट भएका हुन् ।

यी विद्यालयले हाल नमुना विद्यालयको कार्ययोजनालाई अन्तिम रूप दिदै छन् । नमुना विद्यालय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयबाट प्रत्येक विद्यालयलाई डेढ करोड रुपैयाँका दरले बजेटसमेत निकासा भइसकेको छ । शिक्षा विभागले जारी गरेको ‘नमुना विद्यालय व्यवस्थापन निर्देशिका’ बारे राम्ररी ज्ञान नहुँदा जिल्लाका विद्यालयहरूले यसअघि निकै ठूलो बजेटको कार्ययोजना पेस गरेका थिए । विभागले उक्त कार्ययोजनालाई अस्वीकृत गरी संशोधन गर्न निर्देशन दिएको छ ।

‘विभागको निर्देशनअनुसार अहिले हामी कार्ययोजना संशोधनमा जुटेका छौं,’ हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले भने । उनले नमुना विद्यालयको काम छिट्टै सुरु गर्ने गरी कार्ययोजना चाँडै विभागमा पठाएर स्वीकृत गराउने तयारीमा रहेको बताए । कक्षा १२ सम्म पढाइ हुने हल्दिबारी माविमा ९ सय १५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भौतिक पूर्वाधार राम्रो नहुँदा ४० वर्षअघि निर्माण भएका टिनका छाना भएका पुराना कक्षा कोठामा विद्यार्थी पठनपाठन गर्न बाध्य छन् ।

छनोट भएका विद्यालयहरूमा भौतिक पूर्वाधारको कमी छ । विद्यार्थीको चापअनुसार कक्षा कोठा नहुँदा लक्ष्मीप्रसाद देवकोटा माविका एउटै कक्षामा ७२ जनासम्म विद्यार्थी अटेर बस्न बाध्य छन् । उक्त विद्यालयमा हाल सञ्चालमा रहेका २६ मध्ये १८ वटा कोठा मात्रै राम्रा छन् । ९ सय ३८ विद्यार्थी रहेको विद्यालयमा थप ४० कोठाको भवन आवश्यक रहेको प्रधानाध्यापक हेमलाल आचार्यले बताए ।

दुई हजार एक सय विद्यार्थी रहेको महेन्द्र रत्न माविमा कक्षा कोठाको अभावमा भूकम्पले चर्किएको भवनमा पठनपाठन गराइरहेको प्रधानाध्यापक मनबहादुर पाहिमले बताए । १३ कोठाको भवन भूकम्पमा चर्किएकाले तत्काल भत्काउनुपर्ने अवस्थामा छ । प्रअ पाहिमले बजार क्षेत्रको विद्यालय भएकाले नमुना विद्यालयका रूपमा विकास गराउँदा अब कम्तीमा २० कोठाको भवन जरुरी रहेको बताए ।

जिल्लाका अधिकांश विद्यालयमा भौतिक पूर्वाधारको कमीले पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरूले बताएका छन् । विद्यालयहरूमा पर्याप्त कक्षा कोठा, शौचालय, पार्किङस्थल, प्रशासनिक भवनको अभाव छ । तर, नमुना विद्यालयमा छनोट भएकाले सरकारले ६५ प्रतिशत भौतिक पूर्वाधार, २५ प्रतिशत शिक्षण र १० प्रतिशत व्यवस्थापनमा खर्च गर्न मिल्ने गरी बजेटको व्यवस्था गरेको धुलाबारी माविका सहप्रधानाध्यापक तेजप्रसाद चौलागाईंले बताए ।

यस्तै छात्र र छात्राको छुट्टाछुट्टै होस्टेल, ल्याव, लाइबेरी, विद्यार्थी संख्याको आधारमा कक्षा कोठा, पर्याप्त शिक्षक, पठनपाठनमा आवश्यक प्रोजेक्टर, स्मार्ट बोर्ड, ल्यापटप, समेनार हल, गार्डेन, चिल्ड्रेन पार्कलगायतका भौतिक एवं शैक्षिक सामग्रीहरू उपलब्ध हुने हिमालयका प्रअ विष्णुकान्त झाले बताए । विद्यालयहरूले यसअघि अर्बभन्दा माथिको स्टिमेट बनाएकाले कार्ययोजना स्वीकृत गर्न ढिलाइ भएको हो । महेन्द्र रत्न माविले ६ महिनाअघि एक अर्ब ३७ करोडको कार्ययोजना पेश गरेको थियो ।

धुलाबारीले १ अर्ब ३६ करोड, हिमालयले १ अर्ब २२ करोड, डिल्लीराजले १ अर्ब १८ करोड, हल्दिबारीले १ अर्ब ११ करोड, प्रगतिले ९६ करोड तथा लक्ष्मीप्रसाद देवकोटा माविले ८० करोड रुपैयाँको महत्त्वाकांक्षी कार्ययोजना पेस गरेको थियो । तर, विभागले त्यति ठूलो कार्ययोजना कार्यान्वयन गर्न नसकिने बताएपछि हाल विद्यालय कार्ययोजना संशोधनमा जुटेका हुन् ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?