कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आफन्त खोज्दै १०४ वर्षीया

७ वर्षको उमेरमा विवाह भएकी गंगामाया १४ वर्षको हुँदा विधवा भइन्
रमेशचन्द्र अधिकारी

धनकुटा — १०४ वर्षीया गंगामाया काफ्लेको दिन १८ वर्षदेखि एउटै ओछ्यानमा बितेको छ । २२ वर्षदेखि मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी उनी मृत्युपछि आफ्नो काजकिरिया कसले गरिदेला भन्ने चिन्तामा पिरोलिएकी छन् । यो उमेरमा उनी आफन्तको खोजीमा लागेकी हुन् ।

आफन्त खोज्दै १०४ वर्षीया

१९७८ सालमा ७ वर्षको उमेरमा चैनपुर खरांगाका ध्रुवप्रसाद काफ्लेसँग विवाह बन्धनमा बाँधिएकी उनी १४ वर्षमै विधवा भएपछि माइतीघर बस्दै आएकी थिइन् ।


संखुवासभाको चैनपुरस्थित फलाटे माइतीमा ६ दशक बसेर पछि वृद्धाश्रम आएकी हुन् । विवाहलगत्तै पति धु्रवप्रसाद भारतको आसाम गएका थिए । उतै उनको मृत्यु भएको खबर आएको गंगामायाले बताइन् ।


‘१४ वर्षकी थिएँ, पतिको स्वर्गे भएको खबर धागो बाँधिएको चिठीमा आयो,’ उनले भनिन्, ‘बिहे गरेको महिना दिन नबित्दै छाडेर गएका पति सधैंका लागि बिछोडिए ।’


विधवा उनलाई मृत्युपछि कसले अन्तिम संस्कार गरिदेला भन्ने एकमात्र चिन्ता छ । उनी आफन्तको खोजीमा बर्बराउने गरेको हेरचाहमा संलग्न हरिमाया विष्टले बताइन् । ‘आमाले आफन्त खोजी गर्दै आउनुभएको छ,’ उनले भनिन्, ‘निद्रामा समेत आफन्तकै नाम लिएर बर्बराउनुहुन्छ ।’ सय वर्ष पार गरिसक्दा पनि आफूलाई यमराजले लिन बाटो बिराएको भन्दै वृद्धा आमा ठट्यौलीसमेत गर्छिन् ।


उनको अर्को पनि चिन्ता छ, मृत्युपछि फेरि जन्मन नपरोस् भन्ने । ‘मलाई फेरि जन्मिएर कष्टसँग जिउने रहर छैन,’ उनले भनिन्, ‘यो मानव चोलामा नै पाउनु कष्ट पाइसकेँ ।’


वृद्धाश्रममा आउने मनकारीबाट पाएको पैसा संकलन गरेर उनले अघिल्लो वर्ष हरिवंश पुराण लगाएकी थिइन् । वृद्ध भत्तालगायत अन्य स्रोतबाट संकलन भएको रकम वृद्धाश्रमका महासचिव जनार्दन घिमिरेलाई जम्मा गर्न दिने गर्छिन् । उनले घिमिरेलाई भाइ सम्बोधन गर्छिन् ।


‘भाइले मेरो ख्याल गर्ने गरेकाले उसैले काजकिरिया गरिदेला भन्ने भरोसा छ,’ उनले भनिन्, ‘अरू आफन्त सम्झनामा मात्र छन्, ऊ नै मेरो भाइ हो ।’ संकलन भएको रकम महासचिव घिमिरेले वृद्धाश्रमकी व्यवस्थापक कमला दाहाललाई उपलब्ध गराउँदै आएको बताए ।


दाहालले पनि संकलित रकम जम्मा गरेर राखिदिएकी छन् । आफन्तको खोजी गर्दा घिमिरेले वृद्धाको भदाहा (दाजुको छोरा) गणेश भट्टराईसँग टेलिफोनमा कुरा गराइदिने गरेको बताए ।

सुनसरी बस्दै आएका भदाहा गणेशसँग भेट नभएको पनि महिनौं बितिसकेको छ । ‘जीवनमा कसैले कसैप्रति पाप र अन्याय नगरुन् भन्ने लाग्छ,’ वृद्धाले भनिन्, ‘तर कलियुग लागेकाले जताततै यस्तैमात्र सुन्नु परिरहेको छ ।’


प्रकाशित : आश्विन १, २०७५ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?