थोक बजार अन्तिम चरणमा

देवनारायण साह

माेरङ — विराटनगर महानगरसँग जोडिएको कटहरी गाउँपालिका १ मा एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण अन्तिम चरणमा पुगेको छ । सबै काम सकेर निर्माण कम्पनीले असोज पहिलो साता हस्तान्तरण गर्ने भएको छ ।

थोक बजार अन्तिम चरणमा

व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार बनाएको हो । यसको ठेक्का रमन र लामा जेभी कन्स्ट्रक्सनले पाएको थियो ।

ठेकेदार प्रतिनिधि शुभम बोहराले कन्स्ट्रक्सनको माम पूरा भइसकेको बताए । ‘प्रशासनिक र अतिथि भवनको काम सकेर रंगरोगन अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘तरकारी बजारको सेडलगायत काम पूरा भएको र विद्युतका लागि वाइरिङ्ग गर्ने काम अन्तिम चरणमा छ ।’ उनले असोज पहिलो साता हस्तान्तरण गर्ने बताए ।

प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले तरकारी तथा फलफूल थोक बजारमा वर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल बिक्री हुने लक्ष्य रहेको बताए । उक्त तरकारी बजारले यहाँ २ दशमलव ५ प्रतिशत वर्षेनी आर्थिक बृद्धि हुने लक्ष्य रहेको उनले सुनाए । ‘१७ हजार ८ सय ८१ वर्गमिटरमा रहेको सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बजार हुनेछ,’ उनले भने, ‘थोक बिक्रेताका लागि गोदामसहितको १४ सय ८८ वर्ग मिटरमा १७ वटा सटर रहनेछ ।’ खुद्रा बिक्रेताका लागि ३ सय ५१ दशमलव २ वर्ग मिटर सटर, कृषकले आफ्नो उत्पादन आफै बिक्री गर्न १ सय ३८ दशमलव ५ वर्ग मिटरको सेड निर्माण भएको छ ।

बजारभित्र निर्माण भइरहेको तीन तल्ले प्राशनिक भवनमा प्रशासन, म्यानेजर आबास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने भौतिक संरचना तयार भएको प्रवक्ता यादवले बताए ।

तरकारी बजारले महानगरबासीले अब बिषाक्त तरकारी तथा फलफूल खानु नपर्ने सुविधा प्राप्त हुने भएको छ । तरकारी बजारमा बिषादीको अवशेष र हानिकारक रसायन परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले गत आर्थिक बर्षमा नै उपकरण खरिद गरेर ल्याएको प्रवक्ता यादवले बताए । उनले अब चाँडै प्रयोगशालामा उपकरण जडान गर्न विराटनगर महानगरसँग सम्झौता भइसकेको सुनाए ।

प्रयोगशालामा महानगरले दुई जना प्राविधिक उपलब्ध गराउने सहमति भएको उनले बताए । विराटनगरका मूल सडकमा लाग्दै आएको साप्ताहिक हटियालाई उक्त बजारमा व्यवस्थापन गर्ने महानगरको योजना छ । सडकमा लाग्दै आएको हटियाको कर असुलीका लागि माहनगरले चालु आर्थिक वर्षमा ठेक्कासमेत लगाएको छैन । विराटनगर महानगरले गुदरी, शनिहाट लगायत केही हटियालाई उक्त थोक बजारमा व्यवस्थापन गरेर ट्राफिकजाम हटाउने योजनामा छ ।

महानगर प्रमुख भीम पराजुलीले गुदरी, महानगरको अगाडि मूल सडकमा लाग्ने शनी हटियालगायत केही हटियालाई उक्त थोक बजारमा यस वर्ष व्यवस्थापन गर्ने योजना रहेको बताए । ‘महानगरस्थित प्रत्येक तरकारी हटिया सडकमा नै लाग्ने गरेकोले समस्या भएको छ,’ उनले भने, ‘सडकमा लाग्दै अएको हटियाले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ र अब प्रदेशको राजधानीसमेत भइसकेकाले हटिया व्यवस्थापन नगरी नहुने अवस्था छ ।’ सडकको हटिया व्यवस्थापनको जिम्मेबारी वडाहरूलाई समेत दिएको उनले सुनाए ।

प्रकाशित : आश्विन २, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?