बजार अनुगमन तीव्र

सुनसरी — चाडपर्वलाई लक्षित गरेर स्थानीय व्यापारी व्यवसायीहरूले बिक्रीकालागि राखेका खाद्य पदार्थ उपभोक्ताले खान अयोग्य भएको पाइएको धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले जनाएको छ ।

बजार अनुगमन तीव्र

समितिले चाडपर्वको पूर्वसन्ध्यामा खाद्य पदार्थमा मिसावट र स्वस्थता, मूल्य वृद्धिलाई लक्षित गरेर अनुगमन तीव्र बनाउँदै पसलहरूमा निरीक्षण गर्दा खान अयोग्य खाद्य बस्तु भेटिएको हो । अस्वाभाविक मूल्य राखेर कपडा जुत्ताचपल बिक्री गर्ने व्यापारीहरू पनि धरानमा रहेकाले उनीहरूलाई पनि सचेत गराइएको छ । अनुगमन गर्नुअघि नै समितिले माइकिङ गरेर स्वच्छ सफा ताजा खाद्य बस्तु बिक्री गर्न र अस्वाभाविक मूल्य नराख्न अनुरोध गरेको थियो ।

उपमहानगरका अनुगमन टोली संयोजक दिवस अधिकारीका अनुसार चाडपर्वमा खाद्य पदार्थ र कपडा जुत्ता चपल बढी बिक्री हुने भएकाले समितिले अनुगमनलाई तीव्र पारिएको बताए । उनले भने, ‘समितिले तत्कालका लागि उपभोक्ताले किनेर खाने खाद्य बस्तुहरू मिठाई, माछा मासु, तेललगायतको अवस्था र कपडामा ध्यान दिएका छौं ।’

उनले कुनै पनि बिक्रीका लागि राखिएका बस्तुको २० प्रतिशतभन्दा बढी नाफा खान खोजेको भेटिए कारवाही गर्न सकिने बताए । सोमबारदेखि धरानको छाताचोकदेखि बरगाछी चोकसम्म सुरु भएको अनुगमनमा केही खाद्य पसलहरूले म्याद गुज्रेका खाद्य पदार्थ बिक्री गरिरहेको पाइएको अधिकारीले बताए ।

कतिपयले अखाद्य बस्तु मिसाएर बिक्री गरेको पाइएको बताए । केहीले दर्ताबिना सडकमा टेन्ट टाँगेर खुला रूपमा खाद्य पदार्थ बिक्री गरेको भेटिएको पनि उनले बताए । उनले भने, ‘ती सवै व्यापारी व्यवसायीलाई चेतावनी दिएका छौं । म्याद गुज्रेका खाद्य बस्तु बरामद गरेर नष्ट गर्नका लागि जफत गरेका छौं ।’

समितिले बरगाछीमा मनोज शाहलगायतको मिठाई पसलमा म्याद गुज्रेका खाद्यबस्तु बरामद गरेपछि सबै सामान जफत गरेको थियो । समितिका खाद्यविज्ञ तथा केन्दीय प्रविधि क्याम्पस हात्तिसारकी उपप्राध्यापक बविता अधिकारीले बजारमा अखाद्य पदार्थ मिसाइएका सामग्री भेटिएका बताइन् । उनले भनिन्, ‘खाद्य पदार्थ फुलाउनका लागि कतिपयले हाइड्रो प्रयोग गरेका पाइए । पहिले सोडा प्रयोग गर्थे अहिले सोडाको विकल्प हाइड्रो जस्ता अखाद्य रासायनिक पदार्थ मिसाउन थालेका देखिए ।’

रसवरी, लड्डुजस्ता गुलिया मिठाइहरू बनाउने स्थल फोहोर र प्रदुषित भएको पाइएको खाद्य विज्ञ अधिकारीले बताइन् । उनले माछा मासुका पसल अत्यत्तै अव्यवस्थित रहेको बताइन् । धरानमा व्यवस्थित पशु बधशाला नभएकाले मासु व्यवसायीहरूले खुला रूपमा राँगा, संगुर, कुखुरा, खसी मारेर भुइँमै काट्ने र पसलमा लैजान ठेला प्रयोग गर्ने, पसल पनि खुला राख्ने गरेको बताइन् ।

उनले भनिन्, ‘खाद्यमा माछा मासु अति संक्रमणशील मानिन्छ । चाँडै सडिने र यसैबाट अनेक रोग सर्ने भएकाले व्यवसायी र उपभोक्ता सचेत बन्न जरुरी छ ।’

प्रकाशित : आश्विन २, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?