कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महानगरमै छैन व्यवस्थित वधशाला

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिका ८ स्थित पशु वधशाला पर्याप्त बजेट नहुँदा ९ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । वधशाला नहुँदा महानगरवासी अस्वस्थकर मासु खान बाध्य छन् ।

महानगरमै छैन व्यवस्थित वधशाला

विराटनगर १४ का अरबिन्द मण्डलले विराटनगरमा व्यवसायीले जथाभावी खसी, बोका, कुखुरा, बंगुर, राँगा काटेर बिक्री गर्दै आएकाले स्वास्थका लागि प्रतिकूल हुने बताए । ‘व्यवसायीले उपभोक्ताको हितभन्दा आम्दानीका लागि व्यवसाय गरेको देखिन्छ,’ उनले भने, ‘मासु व्यवसायीले धुलोमैलो, फोहोर ठाउँमै मासु काटेर बिक्री गर्दै आएको र महानगरबासी उपभोग गर्दै आएको छ ।’

अस्वस्थकर मासु बिक्री वितरण नियन्त्रण गरी नियमन गर्नका लागि जिम्मेबार निकाय हालसम्म अघि नसरेको उनले गुनासो पोखे । स्थानीय सुमित्रा खतिवडाले मासु व्यवसायीहरू सडक छेउ खुला रूपमा मासु झुन्ड्याएर बिक्री गर्दै आएको सुनाइन् । ‘मासु व्यवसायीले बिरामी खसीबोका, कुखुरा काटेर बिक्री गर्दै आएको तर त्यसको नियन्त्रणका लागि नियामक निकाय देखिएको छैन,’ उनले भनिन्, ‘महानगरमा भइरहेको विकास निर्माणले धुलाम्मे सडकको धूलो उडेर पसलमा झुन्डियाएको मासुमा परेर फोहोर हुन्छ र त्यही मासु उपभोक्ता खरिद गरेर खान बाध्य छन् ।’

०६६ सालमा तत्कालीन विराटनगर उपमहानगर र पशुपांी बजार प्रवद्र्धन निर्देशनालयको सहकार्यमा निर्माण थालिएको वधशालाको निर्माण हालसम्म हुन सकेको छैन । निर्देशनालयले सुरुमा ६० लाख रुपैयाँ अनुदान दिएर निर्माण सुरु गरेको थियो । बधशाला निर्माणका लागि हालसम्म १ करोड ९ लाख रुपैयाँ खर्च भइसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन । गत वर्ष बधशालाका लागि विनियोजन गरेको १ करोड २४ लाख बजेट महानगरले खर्च गर्न सकेनन् । महानगर चालु आर्थिक वर्षमा बधशाला निर्माणका लागि १ करो २० लाख बजेट विनियोजन गरेको छ ।

पशु वधशालाका लागि निर्माण भएको संरचनासमेत भत्किन थालेको हो । वधशालाको भुइँ तलाको छतमाथि अर्को तला थप गरेर जस्ताको छानासम्म हालेको छ भने चौतर्फी पर्खाल निर्माण गरिएको थियो । पर्खाल भत्किन थालेको छ । बधशाला निर्माण सुरु गरेको अवस्थामा वरिपरि बस्ती थिएन तर अहिले नजिकै घना बस्ती बसिसकेकाले पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका २०६४ अनुसार वधशाला स्थापनाका लागि स्थान छनौट नै मापदण्ड विपरीत भइसकेको छ ।
वधशाला निर्देशिकाको ३ को (ग) मा जङ्गल तथा मानिसको बसोबास वा घना बस्तीसँग नजोडिएको हुनुपर्ने उल्लेख छ । तर विराटनगर ८ स्थित निर्माणाधीन पशु वधशालासँगै सिंघिया खोला टोल जोडिएको छ ।

निर्देशिकामा अनुसूची २ मा उल्लेख भएको वधशालाको स्वरूप विपरीत संरचना निर्माण भइरहेको छ । वधशाला परिसरको प्रवेशद्वारामा कार्यालय, त्यसको छेउमा ग्यारेज, पशुको आराम कक्ष, मुख्य वधशाला कक्षलगायतको संरचनाको स्वरूप उल्लेख छ तर निर्माणाधीन उक्त वधशालाको स्वरूप निर्देशिका अनुसार नभएको पाइयो ।

महानगरबासीलाई स्वस्थकर माशु उपलब्ध गराउन स्वयंसेवक विज्ञका रूपमा अवकास प्राप्त डा. बोधप्रसाद पराजुलीले समेत सघाइरहेका छन् । उनले नै तत्कालीन समयमा विश्व खाद्य संगठनको सहयोगमा बधशालाको डिजाइन स्टिमेट गरेर निर्माण कार्य सुरु गराएका थिए । बोधप्रसादले तत्कालीन समयमा आफू भेटेनरी जनस्वास्थ्य कार्यालय काठमाडौंमा कार्यरत रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनका परामर्शदाता गुन्टर हेन्जसँग सहकार्य गरेर बधशालाको डिजाइन गरेर काम सुरु गराएको बताए ।

बोधप्रसादले तत्कालीन समयमा वधशालाका लागि स्थान छनौट गर्ने बेलामा वरिपरि सबै खेती भइरहेको तर अहिले बस्ती बसेको बताए । उनले बधशालाको संरचना डिजाइन मापदण्ड विपरीत नभएको दाबी गरे । उनले दुई तला नभई बधशाला जाने बाटोभन्दा होचो ठाउँमा भवन निर्माण गरिएकाले तला भागबाट नै एक तल्ला उठाएर माथि जस्ता हालेको बताए ।

महानगर प्रमुख भीम पराजुलीले महानगरबासीलाई स्वस्थकर मासु उपलब्ध गराउनका लागि पशु वधशाला निर्माणका लागि प्रदेश र संघीय सरकारलाई बजेट उपलब्ध गराइदिन आग्रह गरेको बताए । उनले दुबै सरकारले आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइदिने भन्दै आश्वासन समेत दिएको बताए ।

दुबै सरकारले बजेट नदिए पनि उपभोक्ता हितका लागि महानगर आफ्नै बजेटमा भए पनि दुई वर्षभित्र पशु वधशाला निर्माण गर्ने उनले प्रतिबद्धता जनाए । बधशाला निर्माण र सञ्चालनका लागि गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपाललेसमेत अग्रसरता देखाएको प्रमुख पराजुलीले बताए । हेफरले बधशाला निर्माणमा प्राविधिक सहयोग र त्यसको सञ्चालनका लागि जनचेतनामूलक लगायतको कार्यक्रम सञ्चालन गर्ने सहमति भएको उनले जनाए । हेफरले हालसम्ममा तीन वटा कार्यक्रमसमेत महानगरमा सञ्चालन गरिसकेको उनले सुनाए ।

महानगरका पशुपक्षी महाशाखा प्रमुख हिरालाल यादवका अनुसार महानगरमा २ सय ५० मासु पसल दर्ता भएको तर ३ सयसम्म मासु पसल नगर क्षेत्रमा हुने बताए । प्रमुख पराजुलीले वधशाला मापदण्ड विपरति नभएको तर बस्ती नजिक बसिसकेकोले यसबारेमा छलफल गरेर काम अघि बढाउने बताए ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?