१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

६ जिल्लामा ‘नमुना सडक’

विप्लव भट्टराई

इलाम — जिल्लामा नमुना ट्राफिक व्यवस्थापनको पहल थालिएको छ । गत असारदेखि नमुना ट्राफिक व्यवस्थापनको काम सुरु भए पनि यसलाई थप प्रभाकारी बनाउन पहल सुरु भएको हो ।

६ जिल्लामा ‘नमुना सडक’

इलाम, मोरङ, सुनसरी, झापा, धनकुटा र उदयपुर जिल्लामा १०/१० किलोमिटर राजमार्गलाई छानेर नमुना सडक सुशासन अभियानमा समेटिसकिएको छ । मेची राजमार्गको हर्कटेदेखि कलशसम्मको १० किलोमिटर र इलाम बजारमा नमुना टाफ्रिक व्यवस्थापन कार्यक्रम लागू हुने प्रस्ताव छ ।

ट्राफिक प्रहरीले सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै काम अघि बढाएको छ । यसलाई प्रस्तावअनुसार कार्यान्वयनमा ल्याइए देशभरका राजमार्गका लागि गतिलो उदाहरण बन्ने ट्राफिकको दाबी छ । सरोकारवालासँगको सहकार्यमा कन्केभ लेन्स जडान गर्ने काम सुरु भइसकेको छ । हर्कटेदेखि कलशसम्ममा ३ वटा र इलाम नगरपालिका क्षेत्रमा ३ लेन्स राखिसकिएको छ ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक नियमको सूचना सहज ढंगले दिनेदेखि ट्रनिङमा लेन्स राख्ने, फुटपाथ बनाउने, सौर्य बत्तीको जडान गर्ने बस बिसौनी बनाउनेलगायतका काम गर्नुपर्नेछ । दैनिक १ हजार ५ सयभन्दा धेरै साधन चल्ने मेची राजमार्ग क्षेत्रमा दुर्घटनाको सम्भावना पनि उत्तिकै रहेकाले योजना कार्यान्वयन भए प्रत्यक्ष फाइदा पुग्ने सरोकारवालाको भनाइ छ ।

प्रदेश सरकारले सुरु गरेको सडक सुशासन अभियानअन्तर्गत नमुना सडकका रूपमा विकास गर्न लागिएको हो । ‘यो क्षेत्रलाई नमुना सडक बनाउन प्रदेश सरकारले चासो दिएकाले कार्यान्वयन हुनेमा आशावादी छौं,’ प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले भने, ‘भर्खरै सरोकारवालाबीच प्रदेश सरकारले चलाएको छलफलमा विष्तृत प्रस्ताव गरेका छौं,’ मुख्यमन्त्री पनि यो विषयमा गम्भीर भएकाले कार्यान्वयन हुन्छ ।’

प्रस्ताव अनुसार कार्यान्वयनका लागि सञ्चालक समिति बन्नेछ । समिति बनेपछि विष्तृत परियोजना प्रतिवेदन तयार हुनेछ र १ वर्षमा कार्यान्वयन हुनेछ । यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसमेतको सहभागिता हुने उपरीक्षक पौडेलले जानकारी दिए ।

बिहीबार विराटनगरमा कानुन मन्त्रालयले आयोजना गरेको ‘सडक सुशासन तथा सुरक्षा’ विषयक कार्यक्रममा सम्बन्धित क्षेत्रका स्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारले यो अभियान सञ्चालन गर्ने जानकारी दिइएको थियो । अभियानअन्तर्गत पहिलो चरणमा प्रदेश १ का इलामसहित ६ वटा जिल्लामा नुमना सडक निर्माण गरिने भएको छ ।

इलामको रोङ गाउँपालिकामा पर्ने किटेनी जोरकलसदेखि हर्कटेसम्म, मोरङ विराटनगरको मेनरोड, सुन्दरहरैचा र गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजारसम्म नमुना सडक बनाउन लागिएको हो ।

त्यस्तै झापाको बिर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गा कन्काई माईको पुलसम्म, धनकुटाको पात्लेखोलादेखि कागते चोकसम्म र उदयपुरको गाईघाट बजारदेखि जलजले ढाटसम्मको सडक खण्डलाई नमुना बनाउने योजना छ । परियोजना लागू हुने क्षेत्रको नक्सासमेत तयार गरेर प्रस्ताव गरिएको छ । यो प्रस्ताव स्वीकृत भएपछि नमुना सडक अभियानको काम थालिनेछ । विगत तीन वर्षको अवधिमा सवारी दुर्घटनावाट यस क्षेत्रमा एक हजार ७९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

प्रकाशित : आश्विन ३, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?