कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ढुवानी भाडा महँगियो

ताप्लेजुङ/तेह्रथुम — दसैं नजिकिएसँगै झापाको बिर्तामोडदेखि ताप्लेजुङसम्मको ढुवानी भाडा वृद्धि भएको छ । ट्रक व्यवसायीले बिर्तामोडदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्मको भाडा ५० प्रतिशतले बढाएका छन् । यस्तै दोभान बजारको भाडा ६५ प्रतिशतले वृद्धि गरिएको छ ।

ढुवानी भाडा महँगियो

यसअघि बिर्तामोडदेखि फुङलिङको भाडा प्रतिकिलो ३ रुपैयाँ थियो । अहिले १ रुपैयाँ ५० पैसा बढाएर ४ रुपैयाँ ५० पैसा बनाइएको छ । दोभानको भाडा ३ बाट ५ रुपैयाँ पुर्‍याइएको छ । फुङलिङ नगरपालिका ७ दोखुको बहानन्देबाट फुङलिङ र दोभान जाने मार्ग छुटिन्छ ।

दोभान जिल्लाका ४ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र हो । मिक्वाखोला, मेरिङदेन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा सामान निर्यात हुने यो एक मात्र बजार हो । बहानन्देबाट दोभान पुग्न कच्ची ९ किलोमिटर छ । सदरमुकाम पुग्न ६ किलोमिटर पक्की सडक ।

भाडा अस्वाभाविक वृद्धिले उपभोक्तालाई समस्या बनाउने उद्योग वाणिज्य संघका महासचिव राम कार्की बताउँछन् । चिनी, चामलजस्ता वस्तुमा एक किलोमै डेढ रुपैयाँ वृद्धि अस्वाभाविक छ । वाणिज्य संघलाई आधिकारिक जानकारी नभए पनि सातायता यही दरमा ढुवानी भइरहेको जानकारी आफूले पाएको कार्कीले बताए ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष नारान थापा पहिलाको भाडा तुलनात्मक रूपमा केही कम भए पनि दसैंको मुखमा वृद्धि हुँदा नकारात्मक असर पर्ने बताउँछन् । सरकारले सिन्डिकेट हटाएको घोषणा गरिरहेका बेला ट्रक व्यवसायीको भेलाले बढाउने निर्णय गरेको हो । दोभानका एक व्यापारीका अनुसार ५ रुपैयाँ तिर्न नसक्ने भनेपछि पाँच दिनयता दोभानमा एउटा पनि ढुवानीका साधन गएका छैनन् ।

ट्रक व्यवसायी महासंघ बिर्तामोडका पूर्वमहासचिव शिव पौडेल हाल महासंघ अस्तित्वमा नरहेकाले भाडा वृद्धिका विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘मेरो एउटा ट्रक छ, त्यो भदौ पहिलो सातादेखि नै थन्क्याएको छु,’ उनले भने, ‘स्टाफ पाल्ने, गाडी मेन्टनेन्स गर्ने, कर तिर्ने नै नपुग्ने भएपछि दुईवटामध्ये एउटा बेचेंं, एउटा बिक्रीका लागि राखेको छु ।’ ३ रुपैयाँ भाडाले ताप्लेजुङमा ट्रक सञ्चालन गर्न नसक्ने उनको दाबी छ । मेची राजमार्गमा छ चक्के ढुवानी साधनले एकपटकमा साढे १० ट्रन सामान बोक्न पाउँछ ।


उपभोग्य सामान ढुवानीमा समस्या
सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने गाउँवासीको आशा सडक खन्न थालेको २६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । २६ वर्षअघि निर्माण सुरु भएको वसन्तपुर गुफा २८ किलोमिटर सडकमा अझै सहज रूपमा सवारी गुड्दैनन् । गाउँले खच्चड र पिठ्युँमा फोका उठाउँदै नजिकिएका पर्वका लागि उपभोग्य वस्तु बोक्न बाध्य छन् ।

सुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र संखुवासभाले यो सडक बनाइरहेका छन् ।

२८ किलोमिटर लामो यो सडक निर्माणमा हालसम्म कति बजेट खर्च भयो भन्ने हिसाबकिताब आयोजना, जिविस र सडक डिभिजन तीनवटै निकाय देखाउन आनाकानी गर्छन् । पहिलेको रेकर्ड हराएको, नभेटिएको जस्ता बहाना बनाउँदै कर्मचारी एकअर्कालाई दोष लगाउँदै आफू पन्छिन्छन् । यो सडक निर्माणमा देशको ठूलो धनराशि खर्च भएको तेह्रथुमका सांंसद भवानीप्रसाद खापुङ बताउँछन् । गत वर्षदेखि यो सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनमा समेटी मदन भण्डारी लोकमार्ग नाम दिएर बजेट विनियोजन गरेको छ ।

वसन्तपुरबाट पाँचपोखरी, चौकी, मंगलबारे, गुफा हुँदै निर्माण गरिएको यो सडकमा सवारी सञ्चालन हुन नसकेपछि तीन जिल्लाका माथिल्लो भेगका बासिन्दाले दसैंका लागि अहिल्यैदेखि चौंरी र खच्चडमार्फत सामान ढुवानी गरिरहेका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?