कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सगरमाथा लोकमार्ग निर्माणमा लापरबाही

डिल्लीराम खतिवडा

उदयपुर — निर्माण कार्यमा भएको लापर्बाही र ढिलासुस्तीका कारण सगरमाथा लोकमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । निर्माण सुरु भएको दुई दशक बितिसक्दा पनि सडक अवस्था सुधार नहुँदा सास्ती खेप्नुपरेको हो ।

सगरमाथा लोकमार्ग निर्माणमा लापरबाही

लोकमार्गको गाईघाट–दिक्तेल सडक ०५१ साल यता सुरु भएको हो । तर २४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । त्यसमध्ये पनि उदयपुरको त्रियुगा नगरपालिकाको १४ बाघखोरदेखि सुनकोसीसम्मको अवस्था झनै दयनीय छ । मोड सुधारसँगै स्तर उन्नति गर्ने भन्दै काम गरिए पनि उल्टै सडकमा सवारी साधन सञ्चालनमै कठिनाइ भएको छ ।

स्तर उन्नति सुरु गर्नु अघिसम्म सहज रुपमा सञ्चालन भइरहेको सडक अहिले हिंड्नै सक्ने अवस्था छैन । निर्माण जिम्मा लिएका ठेकदार कम्पनीको लापर्बाही र गाईघाट दिक्तेल सडक आयोजनको प्रभावकारी अनुगमन नहँुदा सडक गोरेटोमा परिणत भएको छ । ट्रयाक खुलेको वर्षौं भइसक्दा पनि स्तर उन्नति हुन नसक्दा सर्वसाधारणले समस्या भोग्नुपरेको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कदमाह र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडक दुवैतर्फ (उदयपुर र खोटाङ) पूर्ण रूपमा ट्रयाक खुलेको झन्डै ५ वर्ष बितिसकेको छ । स्तर उन्नतिका नाममा वर्षेनी करोडौं खर्चे पनि सडकको अवस्था सुधारिएको छैन । ‘वर्षेनी करोडौं खर्चेर सडक सुधार गर्ने भनिएको छ,’ रौतामाई गाउँपािलका ६ रौताका देवेन्द्र रायमाझीले भने, ‘सडक भने पहिलेभन्दा बिग्रंदै गएको छ ।’ गाईघाटबाट १३ किलोमिटरसम्म सजिलो भए पनि त्यहाँबाट माथि उदयपुरतर्फ सडकमा समस्यै समस्या रहेको उनले बताए ।

उदयपुरतर्फ गाईघाटदेखि सुनकोसीसम्म ५३ किलोमिटरमध्ये १३ किमि मात्रै सजिलो यात्रा गर्न सकिन्छ । बाँकी ४० किलोमिटर सडक गुणस्तरीय नहुँदा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् । ‘गाईघाट दिक्तेल सडक गुणस्तरीय नहुँदा व्यवसाय धराशायी भयो,’ हिमाली यातायात व्यवसायी केन्द्रका कोषाध्यक्ष विष्णु श्रेष्ठले भने, ‘वर्षमा दुई तीन महिना पनि यातायात सहज रुपमा सञ्चालन गर्न सकिंदैन ।’ पहिरो, हिलो, खाल्डो र सडक भत्कँदा समस्या हुने गरेको उनले बताए ।

पछिल्लो समय त्रियुगा नगरपालिका १५ रातमाटेदेखि १३ किलोमिटर सडक पहिरोको जोखिममा छ । सडक स्तर उन्नतिका लागि काम गरिएयता पहिरो जाने क्रमम सुरु भएकोमा अहिलेसम्म रोकिएको छैन ।

‘रातमाटेदेखि करिब १३ किलोमिटर सडक पुरै पहिरोको जोखिममा छ,’ आयोजनाका साइड हेर्ने इन्जिनियर नारायण थापाले भने, ‘वैशाखदेखि गएको पहिरो अहिलेसम्म रोकिएको छैन ।’ पहिरो गएको स्थानमा कमजोर माटो भएकोले यो स्थान पहिरो रोकथाम मानवीय काबुबाहिर गएको उनले बताए । दुई वर्षयता गाईघाटदेखि खोटाङको महुरेसम्म सडक स्तर उन्नतिको काम भइरहेको छ ।

स्तर उन्नतिका लागि सरकारले लोकर्मागमा गत आर्थिक वर्ष सुनकोसीमा बेलीब्रिज लगाउनेसहित ४५ करोड रुपैयाँ खर्चेको छ । तर सडकको पहिलेको भन्दा ज्यादै दुरवस्थामा गुज्रिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

‘गत आर्थिक वर्ष ४५ करोड रुपैयाँ खर्च गरेर सुनकोसीमा बेलिब्रिज लगाउने समेत गरेर सडकको स्तर उन्नतिको काम गरियो,’ आयोजनाका सूचना अधिकृत इन्जिनियर निर्जल श्रेष्ठले भने, ‘फ्रस कटिङ, पहिरो रोकथाम, पिचिङलगायतमा खर्च गरिएको छ ।’ साउने गाईघाट खण्डमा ४ किलोमिटर सडक पिच गरिएको उनले बताए ।

तर मध्य वर्षातको समय साउनमा गरिएको पिच भदौ लागेपछि उक्किएको छ । ठेकदार कम्पनीले आफ्नो काम पूरा गर्ने बहानामा साउनमा पिच गरेको आयोजनाले जनाएको छ । सुनौलो/ खिम्ती/विकास जेभी कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्ने काम गरेको हो । करिब डेढ करोड लागतमा गरिएको काम अहिले उक्किएर धुले सडकमा परिणत भइसकेको छ । ‘साउनमा पिच नगर्न सुझाउँदा सुझाउँदै ठेकदार कम्पनीले जबरजस्ती काम गरेको हो,’ सूचना अधिकृत इन्जिनियर श्रेष्ठले भने, ‘अहिले गर्ने, उक्किएपछि पुन: गर्ने भन्दै काम गरियो त्यसैले भुक्तानी समेत रोकिएको छ ।’

प्रकाशित : आश्विन ४, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?