कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अंग्रेजी माध्यमको शिक्षामा आकर्षण

खाेटाङ — जिल्लामा अंग्रेजी माध्यममा शिक्षा लिने क्रम बढेको छ । वैदेशिक रोजगारीमा जानेका बालबालिका अंग्रेजी माध्यमको शिक्षा लिइरहेका छन् । 

अंग्रेजी माध्यमको शिक्षामा आकर्षण

खाडी, मलेसियालगायत मुलुकमा गएकाले दिक्तेलबजार र अरू बजारमा सञ्चालित अंग्रेजी माध्यमका शिक्षालयमा बालबालिका पढाइरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित पाँचवटा अंग्रेजी माध्यमका निजी विद्यालयमा २७ प्रतिशत बालबालिका वैदेशिक रोजगारीमा गएकाको छोराछोरी छन् । यसमध्ये दिक्तेल बाहिरबाट आएर कोठा भाडामा लिई बसेका अभिभावकका बालबालिका बोर्डिङ स्कुलमा अध्ययन गरिरहेको तथ्यांक छ ।


वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजना (सामी), बालसेवा समाज नेपाल, नेर्पा र नवकिरण सेवा समाज दुर्छिमले गरेको सर्वेक्षणअनुसार त्यस्तो देखिएको हो । परियोजनाअन्तर्गत बालसेवा समाजका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनबाबु आचार्यका अनुसार दिक्तेलबजारमा सञ्चालित दिक्तेल इङलिस बोर्डिङ स्कुल, माउन्ट एभरेस्ट इङलिस बोर्डिङ स्कुल, हिलसाइड स्याम्पल एकेडेमी बोर्डिङ स्कुल, आदर्श शिक्षा सदन र समता स्कुलमा गरिएको अध्ययनमा कुल २ हजार ७ सय १९ विद्यार्थीमध्ये ७ सय ३८ विद्यार्थी वैदेशिक रोजगारीमा जानेको छोराछोरी भएको पाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटा वडाका वैदेशिक रोजगारीमा जानेको ५ सय ४३ बालबच्चा बोर्डिङ स्कुलमा अध्ययनरत छन् । अभिभावक आफैंसमेत दिक्तेलबजारमा बालबच्चा पढाउन बसेका छन् । यसबाहेक केपीलासगढी गाउँपालिकाबाट ४३, हलेसी तुवाचुङ नगरपालिकाबाट ३४, साकेला गाउँपालिकाबाट ३७ जना, रावाबेंसी गाउँपालिकाबाट सात, दिपु्रङ चुइचुम्मा गाउँपालिकाका २५, ऐसेलुखर्क गाउँपालिकाका पाँच र खोटेहाङ गाउँपालिकाबाट दुई जना बालबालिका अंग्रेजी माध्यममा पढ्न दिक्तेल बजार आएका छन् ।

वैदेशिक रोजगारीमा जाने परिवारका दिक्तेलबजारमा अध्ययन गर्ने विद्यार्थीमध्ये सबैभन्दा बढी जनजाति रहेको तथ्यांकले देखाएको छ । यसअनुसार ४ सय १९ जना जनजाति, ब्राम्हण, क्षेत्री, सन्यासी २ सय ७५ र दलित ४४ जना छन् । तथ्यांकले देखाए अनुसार वैदेशिक रोजगारीमा जानेको बालबालिकामध्ये ३ सय १७ छात्रा र ४ सय २१ छात्र छन् ।

जिल्लामा भित्रने मासिक करोडौं रेमिट्यान्स जग्गा खरिद, घर निर्माणलगायतमा खर्च हुने गरेको तथ्यांकले देखाएको छ । यसबाहेक घर खर्च, शिक्षा, स्वास्थ्य, र ऋण तिर्नमा खर्च हुने गरेको छ । उत्पादनमुलक काममा भने खर्च भएको देखिदैन । यसका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको जिल्ला परियोजना संयोजक भक्त राईले बताए । यसअन्तरगत दोर्पा, नेर्पा, लफ्याङ, खाल्ले, सोल्मा र दिक्तेलमा कक्षा सञ्चालन गरिएको हो । वित्तीय लक्ष्य योजना बनाइएको छ । यसका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गरेको संयोजक राईले सुनाए ।

यसबाहेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगार सुरक्षित बनाउन र उत्पादनमुखी काममा रेमिट्यान्स् खर्च गर्न आवधिक योजना बनाएको छ । समग्र विकासका लागि निर्माण गरिएको आवधिक योजनामा सुरक्षित वैदेशिक रोजगार र रेमिट्यान्सलाई उत्पादनमुखी काममा लगानी गर्ने योजनामा उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?