२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बारीमै तरकारी कुहिँदै

उदयपुर — दुर्गम क्षेत्रमा उत्पादित तरकारी बारीमै कुहिन थालेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएर ढुवानी हुन नसक्दा कुहिन थालेको हो ।गाउँमा बिक्री नहुने र बजार पुर्‍याउन समस्या भएको किसानले बताएका छन् ।

बारीमै तरकारी कुहिँदै

रौतामाई, लिम्चुबाङ र ताप्ली गाउँपालिका र कटारी नगरपालिकको पहाडी र लेकाली क्षेत्रमा वबमौसमी जैविक तरकारी खेती गरिन्छ । टमाटर, आलु, काउली, बन्दा, घिउसिंबी, करेला र हरियो रायोको साग यी स्थानीय तहको लेकाली क्षेत्रमा प्रशस्त खेती हुने गरेको छ ।

सडकको अवस्था राम्रो हुँदा गाईघाट र कटारी बजारका व्यापारीले बारीमै पुगेर गएर खरिद गर्ने गरेका छन् तर सडक अवरुद्ध भएपछि व्यापारीसमेत नआएको किसानले बताए । वर्षाबाट बचाएको तरकारी र फलफूलसमेत बिक्री नहुँदा समस्यामा परेको किसान विजय राईले बताए ।

‘टनेल बनाएर खेती गरिए पनि जमेको पानीले खतम पारिदियो,’ विजयले भने, ‘टनेलाले वर्षाको पानी मात्रै थेग्ने र बगेर आएको पानीलाई रोक्न नसक्दा तरकारी खेती नष्ट भएको छ ।’ वर्षाबाट जोगाएको तरकारी पनि बिक्री नहुँदा बारीमै कुहिएको उनले बताए ।

रौता/रानीबास, रानीबास/गाईघाट ४४ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध छ । रौता र आसपास क्षेत्रमा उत्पादन गरिएको तरकारी रौता/रानीबास, रानीबास/गाईघाट हुँदै गाईघाट बजारमा ल्याएर बिक्री गर्ने गरिन्छ तर सडक सवारीसाधन सञ्चालन गर्नै नसक्ने गरी बिग्रिएकाले तरकारी र फलफूल बजार पुर्‍याउन नसकेको कृषि अभियन्ता गंगा रानामगरले बताए । ‘किसानले उत्पादन गरेर मात्रै हुँदैन रहेछ, उत्पादित वस्तु बजार पुर्‍याउन सडक आवश्यक पर्छ,’ कृषि अभियन्ता रानामगरले भने, ‘सडक नहुँदा पछिल्लो समय रौता क्षेत्रमा मात्रै लाखौं रुपैयाँको तकारी खेर गइरहेको छ ।’

कृषिलाई प्राथामिकता दिएर काम गरिए पनि व्यवस्थित सडक नहुँदा तरकारी, फलफूल र दूध बजार लैजान समस्या भएको कटारी नगरपालिका ११ वडाध्यक्ष दीपक बुढाथोकीले बताए ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?