१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फक्तालुङ तीर्थयात्रा सुरु

आनन्द गौतम

ताप्लेजुङ — इलाम लारुम्वाका लाखमान खजुङ बुधबार ताप्लेजुङको फक्तालुङ गाउँपालिका ५ तापेथोक पुगे । डोकामा चामल, चिउरा, सातु, नुन, भुटुनलगायत सामान बोकेर उकालो ओरालो गरिरहेका उनी एक्लो भने होइनन् । उनको टोलीमा ४५ जना छन् ।

फक्तालुङ तीर्थयात्रा सुरु

सदरमुकाम फुङलिङ पुगेपछि लिंखिमको थिवासम्म गाडीमा जाने योजना भए पनि चालकको हडतालका कारण यहाँबाट पनि पैदल यात्रै गर्नुपर्‍यो । उनको टोलीमा इलामलगायत, पाँचथर, तेह्रथुम र ताप्लेजुङका सहभागी छन् । थाप्लामा नाम्लो, पिठ्यँुमा भारी र एक हातमा लौरो भएका उनीहरू ७ हजारभन्दा बढी मिटर उचाइको कुम्भकर्ण हिमालको आधारशिविर हिंडेका हुन् । जहाँ किरात धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल फक्तालुङ छ ।

पानीले नभिज्ने गरी बाहिरबाट प्लास्टिकले बेरिएको डोकामा बासका लागि चाहिने सामान पनि बोकेका तीर्थयात्रीलाई त्यहाँ पुगेर फर्कन १५ दिन लाग्छ । फक्तालुङ पुगेपछि धुप, बातीसहित आराधना गरेर फर्कने लाखमान बताउँछन् ।

फक्तालुङ गाउँपालिका ६ लेलेपको कुम्भकर्ण हिमाल किरातीहरूको प्रमुख धार्मिक गन्तव्यस्थल हो । यसलाई पारुम्फुकु, मारुम्फुकु अर्थात पितृ मातृदेवआश्रमका रुपमा लिइन्छ । किरातीहरूको धार्मिकस्थल भएकै कारण संघीय संरचनाअनुसार गाउँपालिकाको नाम फक्तालुङ राखिएको छ ।

सामान्यतया यहाँ जानुपूर्व इलामको माङसेबुङ लारुम्वामा रहेका गुरु आत्मानन्द लिंङदेनबाट आशीर्वाद लिने किरात धर्मका अनुयायी ज्ञानु फुरुम्वु चरपे बताउँछन् । पैदल त्यहीँबाट सुरु हुन्छ । महागुरु फाल्गुनन्दले तपस्या गरेको स्थलमा एकपटक पुग्नैपर्ने मान्यता रहेको र जीवनमा एकपटक दर्शन नगरिए अर्को जुनीमा मानव भएर जन्म नहनुे किरात वेदशास्त्रमा उल्लेख भएको ज्ञानुको स्पष्टोक्ति छ । यो सिजन दर्शनका लागि उपयुक्त र शुभसाइतको हुने गुरुको प्रवचनमा पनि उल्लेख भएको उनको कथन छ । घुन्सा भन्ने स्थानबाट एक दिनको पैदलमा पुगिन्छ । लामो पैदलयात्रा भएकाले समूह बनाएर जाने गरिएको फुङलिङ नगरपालिका ७ किरातटोलका लेखबहादुर पालुङवा बताउँछन् ।

किरात धर्मावलम्बी पालुङवाका अनुसार वर्षमा सात, आठ सयको संख्यामा जाने गरेका छन् । नेपालबाहेक भारत, हङकङ, बर्मा, बेलायत, अमेरिकालगायत स्थानमा रहेका किरातीहरू पनि पुग्ने गरेका छन् । धेरैले पैदल यात्रा तय गर्छन् । व्यस्त समय भएकाले हेलिकप्टरबाट गएर पनि दर्शन गरेर फर्कने गरेका छन् । सामान्यतया लारुम्वाबाट पाँचथरको सिलौटी, लुव्रेकुटी, कावेली, शिवलायको दर्शन गर्दै जाने गरिन्छ । श्रीङोक, हाँडी पोखरी, तिम्बुङ पोखरी, दुधपोखरी, नागपोखरी, मयूर पोखरीजस्ता पोखरीको दर्शन गर्दै जाने पनि हुन्छन् । तर यो मार्गबाट भने २२ दिनसम्मको हुन्छ । घर नभएको ठाउँमा गोठ, ओढार र खुला चउरमा पाल टाँगेर पनि बस्ने गरेका छन् ।

फक्तालुङ पुगेर भने महाअष्टम यज्ञ सेवा गरिन्छ । सक्नेहरू हिंडेदेखि नै व्रत बस्ने गर्छन् । पूजामा बलिहत्या हुँदैन, मासुमंस पनि कसैले खाँदैनन् । फूल, फलेदो, नैवेद, सुपारी, अबिरजस्ता पूजा सामग्री प्रयोग गरिन्छ । ढोल, झयाम्टा, डमरु, घण्टी, शङ्ख र तुङ्गे बजाएर बाटामा नृत्यसमेत गर्ने पालुङवा बताउँछन् । यात्राको क्रममा बिहान, बेलुका पूजापाठ र साँझमा भजनकीर्तन गर्ने चलन छ ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?