ठाडो आदेशमा कर्मचारी भर्ना

नियमविपरीत भन्दै दलहरूद्वारा नियुक्तिको विरोध
देवनारायण साह

मोरङ — प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो आदेशमा विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा १४ कर्मचारी भर्ना गरिएको छ ।

ठाडो आदेशमा कर्मचारी भर्ना

मन्त्री घिमिरेले नियुक्तिका लागि कर्मचारीको सूचीसहितको पत्र पठाएपछि अस्पताल प्रशासनले बिना कुनै प्रक्रिया शुक्रबार नियुक्ति गरेको हो । मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले मन्त्रालयको लेटर प्याडमा हस्ताक्षर गरी अस्पतालमा पत्र पठाएका थिए ।


मन्त्रालयको ०७५ भदौ २९ गतेको चलानी नम्बर ०२ भएको पत्रमा ‘मन्त्रीज्यूसमक्ष कोसी अञ्चल अस्पतालमा कार्यालय सहयोगी र डाइटेसियन भई काम गर्ने अवसर पाऊँ भनी तपसीलका व्यक्तिले निवेदन दिनुभएकाले त्यस अस्पतालमा रिक्त कार्यालय सहयोगी र डाइटेसियन पदमा करार नियक्ति गरी काममा लगाउनु हुन निजहरूको सम्पूर्ण विवरण यसै पत्रसाथ पठाएको व्यहोरा अनुरोध छ,’ भनिएको छ ।


मन्त्रालयको पत्रको सूचीमा कार्यालय सहयोगीका लागि सुवास निरौला, सीतादेवी कामत, अनिरुद्र राजवंशी, दिनेश कामत, जावेद आलम, मैयादेवी मैनाली, जयनारायण श्रीदेव, हरिप्रिया नेपाल, रामकृष्ण राजवंशी, कविता कार्की र अमित कामत तथा डाइटेसियनमा समीक्षा दुलालको नाम उल्लेख छ ।


अस्पताल प्रशासनले कार्यालय सहयोगीका रूपमा उनीहरूसँगै भीम ताजपुरिया र दीपा भुजेललाई पनि नियुक्त गरेको छ । मन्त्रालयको पत्र आएकै दिन अस्पताल प्रमुख डा. रोशन पोखरेलले असोज १ देखि लागू हुने गरी नियुक्त गरेका हुन् ।


पोखरेलले अस्पताल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आइसकेकाले उसको आदेशअनुसार नियुक्त गरेको बताए । उनीहरूलाई असोज मसान्तसम्मका लागि मात्रै नियुक्त गरेको उनले जनाए । असोजपछि कार्यविधिअनुसार प्रक्रियामा जाने प्रमुखको भनाइ छ ।


अस्पतालमा ५३ कार्यालय सहयोगी दरबन्दीमा १३ पद केही दिनदेखि रिक्त थियो । रिक्त दरबन्दीमा उनीहरूको नियुक्ति गरिएको पोखरेलले बताए । उनले मन्त्रीको आदेश आइसकेकाले १ महिनाका लागि करारमा नियुक्त गर्न कुनै प्रक्रिया अपनाउनु नपर्ने दाबी गरे ।


उनीहरूको नियुक्तिपछि विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले अस्पताल प्रमुख पोखरेललाई नियुक्ति गैरकानुनी भएको भन्दै खारेज गर्न दबाब दिँदै आएका छन् । उनीहरूले यसअघि आ-आफ्नो मान्छेलाई समेत नियुक्ति गर्न आग्रह गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य मोरङका निमित्त प्रमुख रामनन्दन यादवले कुनै पनि नियुक्ति गर्नका लागि सार्वजनिक सूचना निकालेर सबै प्रक्रिया पूरा गरेर मात्रै गर्नुपर्ने प्रावधान रहेको बताए ।


प्रदेश १ का संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले सर्वसाधारणलाई सूचना पाउने अधिकारबाट वञ्चित गरी मन्त्रीको ठाडो आदेशबाट निर्णय गर्नु उचित नभएको बताए ।

उनले संघीय सरकारले अस्पतालहरूमा गुणस्तरीय सेवा पूर्तिका लागि विकास समिति खारेज गरेर नयाँ व्यवस्थामा लगेको तर यहाँ कर्मचारी भर्ती केन्द्रमात्रै हुने भएकाले संसद्मा आवाज उठाउने जनाए ।

प्रकाशित : आश्विन ४, २०७५ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?