कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पर्यटकलक्षित होटल खुल्दै

विदेशबाट फर्केर होटल सञ्चालन गर्दै युवा
करोडौं लगानीमा पर्यटकीय ठाउँहरूमा व्यवस्थित होटल
विप्लव भट्टराई

इलाम — कोरियाको ३ वर्षे रोजगारीबाट फर्किएपछि कोरिया भाषा पढाउँदै देउमाई नगरपालिका १ चमैताका प्रकाश बस्नेतले केही वर्ष सदरमुकाममा बिताए ।

पर्यटकलक्षित होटल खुल्दै

थुप्रैलाई कोरिया जान योग्य बनाएका बस्नेत अहिले आफ्नै जन्मथलो पुगेका छन् । उनको गाउँ फिर्तीमा परम्परागत खेती कर्ममा लाग्न भनेर उनी फर्केका होइनन् ।

गाउँको सिरान भएर मेचीराजमार्ग गएको राँके बजारमा होटल खोलेपछि उनको व्यस्तता त्यतै चुलिएको हो । पर्यटकलाई लक्षित गरी उनले उनले खोलेको ‘चमु होटल’ को चहलपहल पनि बढ्दै गएको छ ।

३ करोड १५ लाखको लगानीमा खुलेको होटलले इलाम, पाँचथर र ताप्लेजुङतर्फ आउजाउ गर्ने पर्यटकलाई फाइदा पुगेको छ । ‘आफ्नै ठाउँमा केही गराैं भन्ने भावनाले लगानी गरेको हुँ,’ उनले भने, ‘व्यवसाय फस्टाए आफूलाई पनि फाइदा हुनेसँगै रोजगारीको अवसर र गाउँमा उत्पादित सामग्री बजार पनि प्रवद्र्धन हुनेछ ।’

करिव डेढ सय जना अटाउने गरी व्यवस्थित मिटिङ हल पनि निर्माण गरेका छन् । राँके बजारमा नै सुविधायुक्त होटल खोलेका भवानी अधिकारी पनि व्यवसायबाट सन्तुष्ट छन् । ‘एस डि ग्रान्ज’ होटलका लागि उनले २ करोडभन्दा बढी लगानी गरेका छन् । मध्यवर्खा कारोबार कम भए पनि अरू बेला सन्तोषजनक रहेको उनको भनाइ छ ।

गायनमा समेत पोख्त बस्नेतजस्तै करोडौं खर्चेर होटल खोल्ने तन्नेरी पुस्ताको जमात बढ्दै गएको छ । यस्ता युवामा कोही वैदेशिक रोजगारीबाट फर्केका छन् भने कोही उता जाने लगानी र मेहनतलाई आफ्नै भूमिमा लगाउने छन् ।

देउमाई नगरपालिका ४ स्थित मंगलबारेमा ३ जना युवाहरू मिलेर होटलमा लगानी गरेका छन् । ९ रोपनीमा फैलिएको भिन्तुना रेस्ट्रो हाल निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा भए पनि रहेको यो होटलमा सवै खानाका परिकारहरू बन्ने सञ्चालक विक्रम श्रेष्ठले बताए । रिसोर्टको अवधारणामा सञ्चालित रेस्ट्रोमा स्थानिय विक्रम श्रेष्ठ, पवन श्रेष्ठ र किरण राईले लगानी गरेका छन् । पूरै रेस्ट्रो सम्पन्न गर्न करिव एक वर्ष लाग्ने र लगानी समेत दुई करोडसम्म पुग्ने उनीहरूको भनाइ छ ।

होटललाई प्रवद्र्धन गर्न नगरपालिकाले पनि सकारात्मक सोच बनाएको छ । ‘हलसहितका होटलमा ठूलासाना कार्यक्रम आयोजना गरेर सघाउने वातावरण बनाउँदै छौं,’ नगर प्रमुख सूर्य पोख्रेलले भने । श्रीअन्तु, माइमझुवा, सुलुवुङको माइपातल, कन्यामलगायतमा आकर्षक होटल खोलिएका हुन् ।

सम्भावना भएर पनि उचित विकास हुन नसकेका पर्यटकीय क्षेत्रमा खुलेका यस्ता होटल खुलेपछि पर्यटक आउने क्रम पनि बढेको स्थानीयको भनाइ छ । गाउँगाउँमा होटलमा लगानी बढ्ने क्रमसँगै सदरमुकाममा पनि होटलमा खुलेर लगानी हुन थालेको छ ।

सदरमुकामको ग्रिनभ्यु र समिट होटलले करोडौं खर्चेर होटल निर्माण गरेका छन् । होटल सञ्चालनको परम्परागत ढाँचा तोडिँदै गएपछि पर्यटक लक्षित होटलमा व्यवसायी आकर्षित भएका हुन् । घुमघामका लागि अनेकौं राम्रा ठाउँ भए पनि पर्यटक मैत्री होटल नबन्दा उल्लेख्य प्रगति नभएको अवस्थामा पछिल्लो पटक होटल सञ्चालनमा बढेको उत्साहले सघाउ पुग्ने पर्यटनकर्मीहरूको बुझाइ छ ।

माइमझुवाका पुरन गुरुङले ५५ लाखको लगानीमा माइमझुवामा होमस्टे बनाएका छन् । वरिपरिको किवी बगानसहित अर्गानिक खेतीसँगै होमस्टेको आनन्दमा पर्यटक भुलाउने उनको सोच छ, छिन्टापुबाट देखिने मनोरम हिमशृंखलाको अवलोकनसहित लेकाली जनजीवन बुझ्न आउने बंगाली पर्यटकलाई पनि उनले लक्षित गरेका छन् । स्थानीयस्तरमा पाइने सल्लाको काठ प्रयोग गरेर छ वटा आकर्षक कोठाहरू तयार गरेका गुरुङले एक पटकमा ३५ जनासम्मलाई अटाउन सकिने बताए ।

सूर्योदय दृश्यावलोकन, पोखरी, लेप्चा संस्कृतिलगायतले पर्यटकीय पहिचान बटुल्दै गएको अन्तुपोखरी नजिकै खुलेको कटेजले अहिले स्थानीय र बाहय पर्यटकलाई लोभ्याउँदै छ । पोखरीभन्दा केही माथि भर्खरै बनाइएको बाँसका ससाना र चटक्क परेको कटेजले प्राकृतिक सुन्दरतामा थप सौन्दर्य थपेको छ ।

‘अन्तुको रमाइलोमा रम्न हिउँद बर्खै पर्यटक आउन थालेकाले होमस्टेसहित यो कर्टेज पनि भरिभराउ हुने गरेको छ,’ सञ्चालक रुद्र घिमिरेले भने । पछिल्लो सयम म्युजिक भिडियो र चलचित्र छायांकन गर्न समेत अन्तुमा थुप्रै समूह आउन थालेकाले होटेलको चाप थप बढेको हो ।

पोखरीमाथि डाँडाको आठ रोपनी जग्गा १५ वर्षका लागि लिजमा लिएर ५ युवाहरू कुमार श्रेष्ठ, राजन ताम्राकार, हेमप्रसाद पौडेल, कमलप्रसाद घिमिरे र रुद्र घिमिरेको संयुक्त लगानीमा कटेज बनाइएको हो । पाँच जनाको साझेदारीमा ३५ लाख लगानी गरेर कटेज निर्माण गरिएको हो । एकपटकमा ६० जनालाई अटाउन मिल्ने गरी कटेज बनाइएको छ । यस आसपास अरू पनि होटल र होमस्टे खुलिरहेका छन् ।

जिल्लामा नै सबैभन्दा धेरै पर्यटकको चहलपहल हुने गरे पनि कन्याममा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढ्दो छ । कन्यामको प्रवेशद्वारमा नै केही वर्षअघि झापाका टिका ओडारीले ‘कन्न्याम इन’ सञ्चालनमा ल्याएपछि देशविदेशका पर्यटकले सहजता पाएका छन् ।

यो सँगै अन्य व्यवस्थित होटल खुल्ने क्रम बढ्दो छ । सूर्योदय नगरपालिका ११ को पाल्टागीमा होटल ‘स्टर्न ब्ल्यु’ लगायत अरू पनि होटल खुलेका छन् । सदरमुकाम उत्तरको माइपातालमा इको र एग्रो टुरिजम प्रवद्र्धनका लागि भन्दै होमस्टे निर्माण सुरु भएको छ । २० लाखको लागतमा देउकुमार राईले होमस्टे बनाउन थालेका हुन् । स्थानीय स्तरमा उपलब्ध बाँसकाठबाटै होमस्टे बनाउने योजना राईको छ ।

जिल्लाकै अग्लो सन्दकपुरमा पनि व्यवस्थित होटल निर्माण भएका छन् । पश्चिमा र भारतीय पर्यटकको ताँती लाग्ने सन्दकपुरको ‘शेर्पा शेले’ चल्तीको होटल हो । असोजदेखि बैशाखभर नै यो होटल भरिभराउ हुने होटलमा दसैं, तिहार आसपास कोठा पाउनै मुस्किल हुने गरेको छ ।

खानेपानी, विद्युतलगायतको अभाव भए पनि पाहुनाको सहजताका लागि कष्ट झेलेरै होटल चलाउँदै आएको सञ्चालक डेन्डु शेर्पाले जनाए । सन्दकपुर ५ मावुमा पनि व्यवस्थित होटल खुल्ने क्रम बढ्दो छ । हरेक होटलमा लगानीकर्ताका परिवारले त स्वरोजगार हुने मौका पाएका छन् नै अरूलाई पनि रोजगारी दिएका छन् ।

प्रकाशित : आश्विन ५, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?