१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिलिचोकमा वर्षाले क्षति

संखुवासभा — एक सातासम्म लगातार परेको वर्षाले सिलिचोङ गाउँपालिकामा करोडभन्दा बढीको क्षति भएको छ । पहिरोले ८१ लाख ८६ हजारको धनमाल र ४० लाख रुपैयाँ बराबरको पुल बगाएको प्रारम्भिक मूल्यांकन गरिएको छ ।

सिलिचोकमा वर्षाले क्षति

सिलिचोङको २, ३ र ४ मा धेरै क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामकुमार सारुमगरले बताए । उनका अनुसार, स्थलगत अध्ययन गर्दा ५९ घरमा क्षति, कतिपय विस्थापित, खेतबारी र अलैंची बगानमा समेत क्षति भएको छ । वडा २ डाँडागाउँमा नबेन्द्र राईको घरमाथिबाट पहिरो खसेकाले परिवारै विस्थापित भएका छन । वडा ३ याचम्खामा ३५ घर उच्च जोखिममा परेका छन् । १५ घर विस्थापित भइसकेका छन् ।

जोखिममा रहेका ७ घरलाई स्थानीय विपद् व्यवस्थापन समितिबाट १२ थान त्रिपाल वितरण गरिएको उनले बताए । १२ घरले लगाएको ६ सय ९० रोपनी क्षेत्रको अलैंची खेतीसमेत पहिरो बगाउँदा क्षति भएको प्रहरीको भनाइ छ । वडा ३ का देवकुमारी राई, हर्कराज राई, गोकर्ण राई, राजबहादुर राई र तिलकबहादुर राईको जग्गा पनि पहिरोले बगाएको छ । घरमाथिबाट खसेको पहिरोका कारण पाँच घर उच्च जोखिममा परेका छन् ।

वडा ४ बालामा शुभ कुलुङ (राई), खेमराज राई, बहिबहादुर राई र लक्ष्मण राईको चार घर जोखिममा छन् । सिलिचोङका अध्यक्ष रामबहादुर कुलुङको नेतृत्वमा वडा २, ३ र ४ मा क्षतिको विवरण संकलन गर्न सुरु गरिएको छ । पानी पर्न रोकिएपछि गाउँ प्रमुख आफैं क्षतिको विवरण संकलन गर्न खटिएका छन् । उनले जोखिमपूर्ण क्षेत्र बाला, ताम्कु, माङतेवा र सिसुवाको सबै भागमा स्थलगत अध्ययन र अवलोकन गर्ने बताए ।

स्थलगत अध्ययनपछि गाउँपालिकाले राहत सुविधा उपलब्ध गराउने छौं, उनले भने, ‘अन्य सेवासुविधा र राहतका लागि जिल्ला विपद् व्यवस्थापनमा माग गरिने छ ।’ यातायातको सुविधा नपुगेको सिलिचोङमा प्राकृतिक विपद् परे उद्धार गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । समयमै नियन्त्रणको पहल गर्नुपर्ने उनले बताए ।


विस्थापित परिवारलाई पुन:स्थापनाका लागि सुरक्षित स्थानको खोजी गरेर छिट्टै व्यवस्थापन गर्ने पनि उनले बताए । पहिरोले ताम्कुका ७० घर परिवारको खानेपानीको ट्यांकी र पाइपलाइन बगाउँदा १५ लाखको क्षति भएको छ । गत २ मंसिरमा गएको सुक्खा पहिरोले तलबाट गाउँ नै तान्न थालेपछि साप्तेल र याचाम्खाको बस्ती जोखिममा परेका हुन् ।

पुल बगेपछि आउजाउ बन्द
सिलिचोङ गाउँपालिकाको २ र ३ वडा जोड्ने झोलुङे पुल पहिरोले बगाएपछि दुई गाउँबीच आवागमन बन्द भएको छ । प्रहरी चौकी ताम्कुका अनुसार भदौ २५ देखि ३० सम्म परेको अविरल वर्षाले गाउँ जोड्ने संखुवाखोलाको झोलुंगे पुल बगाएपछि समस्या भएको हो ।पुल बगेपछि स्थानीयलाई आउजाउमा समस्या भएको गाउँपालिका अध्यक्ष रामुबहादुर कुलबहादुर कुलुङले बताए । पुल नहुँदा दुई गाउँका ११ सय स्थानीयलाई समस्या छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?