कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भाटी चलाउने पेसा

इलाम — जातिका आधारमा भन्दा दक्षता र रुचिका आधारमा पेसाकर्म गर्ने बढदै गए पनि परम्परागत शैलीमा गाउँमा फलामको काम गर्ने बिरलै भेटिन्छन् । तर पाँचथर फालेलुङ ६ दवाइपानीका धनबहादुर राईको दैनिकी फलाम पिट्नमै बित्छ ।

भाटी चलाउने पेसा

झिसमिसेदेखि साँझले नछोपिन्जेल भाटी तानेर फलाम तताउने उनको रुचि र बाध्यता दुबै हो । विकट र लेकाली गाउँ भएकाले आलु, मकैलगायतका परम्परागत खेती नै यो क्षेत्रका कृषकको मुखमा माड हाल्ने प्रमुख माध्यम हो ।

यो भएपछि खेती र पशुपालनका लागि अत्यावश्यक फलामे औजार नचाहिने त कुरै भएन । तर फलामका हतियार बनाउने र अर्जाप्ने मान्छेको हर्जाले सिंगो गाउँमा समस्या थियो । गाउँबासीको दु:ख देखेर धनबहादुरले आफैं आरन खोले अनि थाले फलामका हतियार बनाउन ।

१ वर्षजति भयो उनले यो काम गरेको । कोदालो, खुकुरी, हँसियालगायत फलामका सामग्री बनाउनेदेखि अर्जाप्ने काम बाक्लो गरी आउन थालेकाले उनले घरको अरू काम गर्नै भ्याउदैनन् । ‘पहिला गाउँमा आरन हुँदा नै धेरै कुरा सिकेको थिएँ,’ धनवहादुरले भने, ‘पहिला गर्नेले पेसा नै छाडै गएपछि आफैं गर्न थाले ।’ यस्तो पेसा गर्नेहरू कोही बसाइ गए भने कतिपयले छाडे । तर गाउँको आवश्यकता भने हटेको थिएन ।

‘दैनिक उपभोग्य वस्तु जस्तै यो काम पनि अत्यावश्यक थियो,’ छिमेकी सुनिल वान्तवाले भने, ‘धनबहादुर दाइले गर्ने चासो देखाएपछि हामीले पनि सहयोग गर्‍यौं ।’ यो काम लागि उनलाई १० जना गाउँलले आर्थिकरूपमा सघाएका छन् । उनले यो काम गरेसँगै चाप पनि बढदो छ ।

दैनिक ३०/४० जना विभिन्न हतियार बनाउनेदेखि अर्जाप्न आउने गरेको धनबहादुरले वताए । अन्य गाउँमा पनि यस्तो काम गर्न कमै भएकाले टाढाबाट धाएर पनि उनीकहाँ पुग्छन् । चलन चल्तीअनुसार उनले नयाँ बनाएको र अर्जापेको रकम लिन्छन् ।

यसले गर्दा ५४ वर्षे राईलाई ५ जनाको परिवार पाल्न पनि सहज छ भने गाउँबासीलाई त्यति कामका लागि टाढाको गाउँ जानुपर्ने बाध्यता पनि हटेको छ । ‘आफूले सीप सिकेर काम गर्दा परिवारदेखि सबैलाई फाइदा हुने भएकाले काम गर्न जाँगर आउछ,’ उनले भने, ‘अरुवेला घरमा गफ गर्ने साथीसमेत भेटिदैन थिए । तर अहिले इष्टमित्र बाक्लै आउने भएकाले झन रमाइलो भएको छ ।’

प्रकाशित : आश्विन ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?