२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जडिबुटी मासिंँदै

तेह्रथुम — उच्च पहाडी क्षेत्रमा पाइने पाँचऔंलेलगायत महुमूल्य जडिबुटी अवैध चोरी निकासीका कारण हराउन थालेको छ । तेह्रथुम, संखुवासभा, ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔंले हिजोआज उति भेटिन छाडेको छ ।

जडिबुटी मासिंँदै

चिसो हावापानी रहेका जंगलमा पाइने पाँचऔंले जंगलबाट मासिँदै गएको लालीगुराँस नगरपालिका ४ चित्रेका होम रायमाझीले बताए । यहाँका जंगलमा पाइने पाँचऔंले व्यापारीले लुकाइछिपाई तेह्रथुमको वसन्तपुर नाका भएर तराईका बजार हुँदै भारतीय बजारसम्म पुर्‍याउने स्थानीयले बताए ।

अघिल्ला वर्ष ठूलो परिमाणमा पाँचऔले बाहिरी जिल्लातर्फ निकासी हुने गरे पनि यो वर्ष यसको परिमाण घटेको जडिबुटी व्यापारी छिरिङ लामाले बताए । उनका अनुसार यही गतिमा पाँचऔंले मासिँदै जाने हो भने केही समयपछि यो देख्न पनि पाइने छैन ।

जंगलमा पाइने पाँचऔंले अवैध चोरी निकासी भएर ताप्लेजुङ र संखुवासभाको माथिल्लो क्षेत्रको नाका भएर चीन र तिव्बततर्फ समेत पुग्ने गरेको संखुवासभा नुनढाकी ९ का फुर्वा भोटेले बताए ।

जेठदेखि असारसम्म फूल फुल्ने यो वन पैदावरको असोजमा फल टिप्नुपर्छ । तर समय अगावै पाँचऔंले टिपेर बिक्री हुने गरेकाले जंगलमा बिउ समेत मासिन थालेको तीनजुरे हातिसार सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए । पाँचऔले संकलन र निकासी गरेबापत सरकारलाई प्रतिगोटा ५ सय राजस्व बुझाउनुपर्छ ।

तर अहिलेसम्म यी जिल्लाका वन कार्यालयले पाँचऔंलेको संकलन तथा निकासीबाट थोरै मात्र राजस्व संकलन गरेको जनाएका छन् । कतैकतै ‘पाँच पाते’ समेत भनिने हातको औंला आकारको यो एक लहरा प्रजातिको वनस्पति हो । विभिन्न प्रकारका रोगहरू निको पार्नका लागि यसको प्रयोग आयुर्वेदिक औषधिका रूपमा गरिन्छ ।

यो वन औषधिको फैलावट प्राकृतिक अवस्थामा एकदमै कम रहेको डिभिजन बन कार्यालयका प्रमुख वन अधिकृत देवीचन्द्र पोखरेलले बताए । सरकारले यसको संकलन, प्रयोग, बिक्री वितरण, ओसारपसार र निर्यातमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?